काठमाडौं, २७ कात्तिक । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको लामो सार्वजनिक बिदापछि आज शुक्रबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नियमित सेयर कारोबार पुनः सञ्चालनमा आउने भएको छ।
तिहारका अवसरमा सरकारले कात्तिक २२ गतेदेखि २६ गतेसम्म सार्वजनिक बिदा दिएका कारण कात्तिक २१ गतेको शनिबारसहित लगातार छ दिन बन्द रहेको सेयर बजार आज बिहान ११ बजेदेखि खुल्न लागेको हो।
तिहारअघिको अन्तिम कारोबार दिन कात्तिक २० गते शुक्रबार नेप्से परिसूचक सामान्य वृद्धि हुँदै २ हजार ६५५.२२ विन्दुमा पुगेर बन्द भएको थियो। लामो बिदापछि बजार खुल्न लागेकाले आजको कारोबार र बजारको सम्भावित दिशालाई लिएर लगानीकर्ता माझ चासो बढेको छ।
तिहारपछि सूचीकृत कम्पनीहरूको वार्षिक साधारणसभा तथा लाभांश वितरणको गतिविधि तीव्र हुने भएकाले बजारमा खरिद चाप बढ्न सक्ने विश्लेषण गरिएको छ। लाभांश सुरक्षित गर्ने समय नजिकिँदै जाँदा लगानीकर्ताको सक्रियता बढ्ने अपेक्षा गरिएको छ।
त्यस्तै, चाडपर्वका क्रममा बैंकिङ प्रणालीबाट बाहिरिएको रकम पुनः प्रणालीमा फर्किने क्रम सुरु हुने र तरलता सहज बन्ने अपेक्षाले पनि बजारमा सकारात्मक मनोविज्ञान सिर्जना गर्न सक्ने देखिन्छ।
यद्यपि, आज शुक्रबार कारोबार खुले पनि भोलि शनिबार र पर्सि आइतबार साप्ताहिक बिदा परेकाले यस साता आज एक दिन मात्रै सेयर कारोबार हुनेछ। त्यसपछि सोमबार, कात्तिक ३० गतेदेखि नेप्सेको नियमित कारोबार पुनः सञ्चालन हुनेछ।




.gif)





