काठमाडौं, २९ कात्तिक । छठ पर्वको अवसरमा सार्वजनिक बिदा भए पनि नबिल बैंक लिमिटेडले आफ्ना २१ शाखाबाट बैंकिङ सेवा उपलब्ध गराउने भएको छ ।
बैंकले सूचना जारी गर्दै आगामी कात्तिक ३० गते सोमबार ग्राहकको आवश्यक बैंकिङ सेवा निरन्तरता दिन विभिन्न प्रदेशका शाखामा ‘होलिडे बैंकिङ काउन्टर’ सञ्चालन गर्ने जनाएको हो ।
बैंकका अनुसार कोशी प्रदेशका विराटनगर, इटहरी, धरान, दमक र बिर्तामोड तथा मधेश प्रदेशका वीरगञ्ज र जनकपुरको पिडारी चोक शाखाबाट बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा उपलब्ध हुनेछ ।
त्यस्तै, बागमती प्रदेशको तीनधारा शाखाबाट दिउँसो १ बजेदेखि ४ बजेसम्म सेवा सञ्चालन हुनेछ । बागमती प्रदेशकै ललितपुर, महाराजगञ्ज, न्युरोड, नयाँ बानेश्वर, कौशलटार, नारायणगढ र हेटौँडा शाखाबाट भने बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा लिन सकिने बैंकले जनाएको छ ।
यसैगरी गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशका बुटवल, भैरहवा, नेपालगञ्जको धम्बोजी चोक र घोराही, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको धनगढी शाखाबाट बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंकिङ सेवा उपलब्ध हुनेछ ।
बैंकका अनुसार होलिडे बैंकिङ काउन्टरमार्फत अधिकतम रु. १० लाखसम्म रकम जम्मा गर्न र रु. २ लाखसम्म रकम निकाल्न सकिने सुविधा उपलब्ध हुनेछ ।
नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनअनुसार उक्त दिन राष्ट्र ऋण व्यवस्थापन, आरटीजीएस तथा रेमिट्यान्स सेवा पनि सञ्चालनमा रहने बैंकले जनाएको छ ।





.gif)





