काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार पनि सामान्य अंकले बढेको बजारले यस दिनसमेत सोही क्रमलाई निरन्तरता दिएको हो।
बुधबार नेप्से परिसूचक १.४० अंकले बढेर २ हजार ६६५.५३ विन्दुमा पुगेको छ। यद्यपि, यस दिन सेन्सेटिभ इण्डेक्स २.६९ अंक, फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९९ अंकले घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा बुधबार ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
यस दिन ३५८ वटा स्टकको ५९ हजार १८५ पटकको कारोबारमा २ करोड १२ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
बुधबार नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयर मूल्य १२० रुपैयाँ २० पैसा बढेर प्रतिकित्ता ९२१ रुपैयाँ ७० पैसा पुगेको हो। मन्त्रिपरिषद् बैठकले कम्पनीमा नेपाल सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णय गरेसँगै सेयर मूल्यमा उच्च वृद्धि देखिएको हो।
त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य साढे ११ प्रतिशत र श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयर मूल्य साढे ८ प्रतिशत बढेको छ। यस दिन सिभिल बैंक डिबेञ्चर २०८८ को मूल्य भने सर्वाधिक ६.३४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन शीर्ष स्थानमा रहेको छ। कम्पनीको ८५ करोड ८४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, घोराही सिमेन्ट इण्डष्ट्रीको ५१ करोड रुपैयाँभन्दा बढी र हिमालयन रि इन्स्योरेन्सको ३६ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ६.१८ प्रतिशत बढेको छ। व्यापार उपसमूहको परिसूचक पनि एक प्रतिशतभन्दा बढीले बढेको छ भने जीवन बीमा र म्युचुअल फण्ड उपसमूह सामान्य अंकले उकालो लागेका छन्।




.gif)





