काठमाडौँ, १७ कात्तिक । कमजोर वित्तीय अवस्था, प्रिमियम मूल्य निर्धारणमा चलखेल, लकइन अवधि समाप्त भएपछि प्रवर्द्धकले सेयर बिक्री गर्ने प्रवृत्ति तथा संस्थागत सुशासनको अभावजस्ता समस्या देखिएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक सेयर (आइपिओ) निष्कासनमा कडाइ गरेको छ।
आइपिओमार्फत पुँजी जुटाउने कम्पनीहरूको वित्तीय पारदर्शिता र संस्थागत सुशासनमाथि प्रश्न उठ्न थालेपछि बोर्डले निष्कासनसम्बन्धी मापदण्ड थप कडा बनाएको हो। सेबोनका अनुसार हाल ११७ कम्पनीका कुल ७१ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीका आइपिओ आवेदन प्रक्रियामा रहेका छन्।
सेबोनका सूचना अधिकारी तोलाकान्त न्यौपानेका अनुसार विगतको तुलनामा आइपिओ निष्कासनको मापदण्ड सुधार गरिएको छ। आवश्यक योग्यता र मापदण्ड पूरा नगरेसम्म कुनै पनि कम्पनीले आइपिओ निष्कासनको अनुमति नपाउने उनले बताएका छन्।
बोर्डले आइपिओ निष्कासनका लागि प्राप्त आवेदनलाई प्रक्रियागत अवस्थाका आधारमा पहिलोपटक ६ चरणमा वर्गीकरण गरेको छ। पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै ७६ कम्पनी पहिलो चरणमा रहेका छन् भने दुई कम्पनी अन्तिम समीक्षा चरणमा पुगेका छन्।
अन्तिम समीक्षामा दुई कम्पनी
आइपिओ निष्कासन प्रक्रियाको छैटौँ तथा अन्तिम समीक्षा चरणमा आशुतोष इनर्जी लिमिटेड र कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड रहेका छन्। यी दुई कम्पनीले कुल २९ लाख कित्ता सेयर निष्कासनका लागि अनुमति मागेका छन्।
आशुतोष इनर्जीले १२ लाख कित्ता र कान्तिपुर फर्मास्युटिकल्स ल्याबले १७ लाख कित्ता सेयर निष्कासन गर्न आवेदन दिएका हुन्। आशुतोष इनर्जीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल र कान्तिपुर फर्मास्युटिकल्स ल्याबको मुक्तिनाथ क्यापिटल रहेको छ।
यद्यपि अन्तिम समीक्षा चरणमा पुग्दैमा आइपिओ निष्कासनको अनुमति सुनिश्चित भने हुँदैन। आवश्यक कागजात, वित्तीय विवरण र नियामकीय मापदण्डको परीक्षण पूरा भएपछि मात्रै बोर्डले स्वीकृतिसम्बन्धी निर्णय गर्छ।
पाँचौँ चरणमा १० कम्पनी
आइपिओ निष्कासन प्रक्रियाको पाँचौँ चरणमा १० कम्पनी रहेका छन्। यी कम्पनीले बोर्डले औँल्याएका कैफियतको जवाफ तथा परिमार्जित कागजात बुझाइसकेका छन्। हाल ती विवरणको समीक्षा भइरहेको छ।
यस चरणमा एनसी एग्रोटेक इन्डस्ट्रिज, सानीमा हाइड्रोपावर, आइएमई लिमिटेड र सिउरी न्यादी पावरलगायत कम्पनी छन्। यी कम्पनीले कुल पाँच करोड १९ लाख चार हजार ७०१ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्।
त्यसैगरी चौथो चरणमा १९ कम्पनी रहेका छन्। बोर्डले पठाएको कैफियतको जवाफ बुझाइसकेका यी कम्पनीले कुल ११ करोड ९८ लाख ७८ हजार ५९५ कित्ता सेयर निष्कासनको अनुमति मागेका छन्। यस चरणमा डिस मिडिया नेटवर्क, जगदम्बा स्टिल्स, सौर्य सिमेन्ट र ह्यास हस्पिटललगायत कम्पनी छन्।
तेस्रो चरणमा भने बोर्डले आवश्यक सुधार गर्न वा थप विवरण उपलब्ध गराउन कैफियत पठाएका चार कम्पनी छन्। यस चरणमा महाशक्ति सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, ज्यास्मिन पेन्ट्स र लक्ष्मी टेक्नोप्लास्ट रहेका छन्।
प्रारम्भिक चरणमै ८२ कम्पनी
आइपिओ निष्कासनका लागि आवेदन दिएका कम्पनीमध्ये ठूलो संख्या प्रारम्भिक प्रक्रियामै रहेको छ। पहिलो चरणमा मात्रै ७६ कम्पनी छन्। यस चरणमा मारुती सिमेन्ट, अम्बे स्टिल्स र रिद्धिसिद्धि सिमेन्टलगायत कम्पनी रहेका छन्। उनीहरूले कुल २८ करोड आठ लाख २२ हजार ३१३ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्।
दोस्रो चरणमा ६ कम्पनीका आवेदनको प्रारम्भिक समीक्षा भइरहेको छ। यस सूचीमा आकामा होटल र अपेक्स मकालु हाइड्रोपावरलगायत कम्पनी रहेका छन्।
यसरी पहिलो र दोस्रो चरणमा मात्रै ८२ कम्पनीका आवेदन प्रक्रियामा छन्।
पछिल्लो समय आइपिओ निष्कासन गर्ने कम्पनीहरूको वित्तीय पारदर्शिता, संस्थागत सुशासन र प्रवर्द्धकहरूको भूमिकामाथि प्रश्न उठ्दै आएको छ। निष्कासनअघि आकर्षक नाफा र उच्च प्रतिफलको सम्भावना देखाउने तर सेयर बजारमा सूचीकृत भएपछि वित्तीय अवस्था कमजोर हुने प्रवृत्तिले लगानीकर्ताको विश्वासमा समेत असर पारेको छ।
यस्ता समस्या नियन्त्रण गर्दै सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्न सेबोनले आइपिओ निष्कासन प्रक्रियामा थप निगरानी र मापदण्डको व्यवस्था गरेको जनाएको छ।




.gif)





