images

२०८३ कार्तिक १६ गते

images
images
images

कांग्रेस ललितपुर–१३ द्वारा रक्तदान कार्यक्रम आयोजना,

कांग्रेस ललितपुर–१३ द्वारा रक्तदान कार्यक्रम आयोजना,

images
images
सोमवार, कार्तिक १६ २०८३
सोमवार, कार्तिक १६ २०८३
  • ललितपुर । देशभर रगत अभाव भइरहेका बेला नेपाली कांग्रेस ललितपुर महानगरपालिका–१३ वडा कार्यसमितिले रक्तदान कार्यक्रम आयोजना गरेको छ। स्थानीयस्तरमा सामाजिक तथा मानवीय सेवाका गतिविधि अघि बढाउने उद्देश्यले वडा कार्यसमितिले रक्तदान तथा भेला आयोजना गरेको हो।

    images
    images

    कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टीको निर्देशनअनुसार उपत्यकामा वडा कार्यसमिति मार्फत पहिलोपटक रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।

    उनले कार्यक्रम आयोजना गर्ने वडा सभापति सुमन गजुरेललाई धन्यवाद दिँदै सबै वडा कार्यसमितिले स्थानीय जनताको भावना र आवश्यकतालाई बुझेर सामाजिक गतिविधि सञ्चालन गर्नुपर्ने बताए। पार्टी सभापतिको पनि यही भावना रहेको उल्लेख गर्दै उनले सोहीअनुसार वडा कमिटीका कार्यक्रम अघि बढाउन आग्रह गरे।

    images
    images

    ललितपुर महानगरपालिका–१३ स्थित पञ्चेश्वर महादेव परिसरमा आयोजित रक्तदान कार्यक्रममा दुई घण्टाको अवधिमा २५ जनाले रक्तदान गरेका थिए। रेडक्रसले रगत अभावका कारण दिउँसो १२ बजेसम्म मात्रै रक्तदानको समय निर्धारण गरेकाले अपेक्षाभन्दा कम व्यक्तिले रक्तदान गर्न पाएको आयोजकले जनाएको छ।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पछिल्लो निर्वाचनले आफ्नो लोकप्रियता थप पुष्टि गरेको बताए। सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित महर्जनले आगामी स्थानीय तहको निर्वाचनमा युवाहरूको वर्चस्व हुनुपर्ने धारणा राखे।

    उनले वडा सभापति गजुरेलको नेतृत्वमा आयोजित रक्तदान कार्यक्रमको प्रशंसा गर्दै रक्तदानले धेरै मानिसको जीवन बचाउन सहयोग पुग्ने बताए।

    वडा कार्यसमितिका सभापति सुमन गजुरेलले रक्तदान केवल रगत दिनु मात्र नभई कसैको जीवन बचाउने महान् मानवीय सेवा भएको बताए। आफूले दिएको एक पोका रगतले दुर्घटनामा परेका व्यक्ति, शल्यक्रिया गराइरहेका बिरामी, सुत्केरी महिला तथा गम्भीर रोगसँग संघर्ष गरिरहेका व्यक्तिको जीवन बचाउन सक्ने उनको भनाइ थियो।

    उनले नेपाली कांग्रेसले लोकतन्त्र, समाजवाद र सामाजिक न्यायसँगै जनताको सुखदुःखमा साथ दिने राजनीतिक संस्कारलाई आत्मसात् गर्दै आएको उल्लेख गरे। राजनीति भाषण र नारामा मात्र सीमित नभई जनताको जीवनसँग जोडिनुपर्ने बताउँदै उनले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व र मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

    कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति जितेन्द्र श्रेष्ठ, जिल्ला उपसभापति तथा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, महानगर कमिटीका अध्यक्ष राजु महर्जन लगायतको उपस्थिति रहेको थियो।

    सोही अवसरमा महामन्त्री राणाले नेपाली कांग्रेस ललितपुर महानगरपालिका–१३ वडा इकाइ कार्यालयको उद्घाटन समेत गरेका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend