काठमाडौं । स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्षे सहकार्य गर्ने सम्झौता गरेको छ।
क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले कम्पनीले क्यानसँग सहकार्य गरेको जनाएको छ।
आफ्नो ३० वर्षे यात्रालाई सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य प्रवर्द्धनसँग जोड्दै आर्य फार्माल्याबले एनपीएलमार्फत सर्वसाधारणलाई आधारभूत स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा स्वस्थ जीवनशैली सम्बन्धी जानकारी प्रदान गर्ने लक्ष्य लिएको छ।
यस सहकार्य अन्तर्गत एनपीएलका खेल सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कम्पनीले स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण कक्ष, जनचेतनामूलक कार्यक्रम तथा मनोरञ्जन र खेलकुदसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको छ। यस्ता कार्यक्रमले खेल हेर्न आउने दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै आफ्नो स्वास्थ्यप्रति सचेत रहन प्रेरित गर्ने अपेक्षा गरिएको छ।
खेलाडी र दर्शकलाई पुरस्कार
आर्य फार्माल्याबले खेलाडीको उत्कृष्ट प्रदर्शन र खेलभावनालाई प्रोत्साहन गर्न ‘हेल्दी पार्टनरसिप अवार्ड’ प्रदान गर्ने भएको छ। यसअन्तर्गत प्रत्येक खेलमा दुई खेलाडीलाई जनही २५ हजार रुपैयाँका दरले सम्मान गरिनेछ।
त्यस्तै, प्रत्येक खेलमा एक जना दर्शकलाई २० हजार रुपैयाँको ‘हाटविट मुमेन्ट अफ द म्याच’ पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ। यी कार्यक्रमले खेलाडीको योगदानको कदर गर्नुका साथै दर्शकको सहभागिता र उत्साह बढाउन सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।
स्थापनाको ३० वर्ष पूरा गरेको अवसरमा सुरु गरिएको यस सहकार्यलाई कम्पनीले आफ्नो यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। लोकप्रिय खेल क्रिकेटसँग स्वास्थ्य सचेतनालाई जोडेर धेरैभन्दा धेरै नागरिकसम्म स्वास्थ्यसम्बन्धी सन्देश पुर्याउने लक्ष्य कम्पनीले राखेको छ।




.gif)





