काठमाडौं, २१ साउन । लुम्बिनी विकास बैंक लिमिटेड (एलबीबीएल)ले आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा, प्रतिशेयर आम्दानी ९ईपीएस० तथा वितरणयोग्य मुनाफामा उल्लेख्य सुधार भएको जनाएको छ।
बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको २४ करोड ११ लाख रुपैयाँबाट २५२.९६ प्रतिशतले बढेर ८५ करोड १० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ७.५३ प्रतिशतले वृद्धि भई १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १०८.५० प्रतिशतले बढेर १ अर्ब २१ करोड ७८ लाख रुपैयाँ कायम भएको छ।
कर्जा असुलीमा सुधार आएपछि बैंकको इम्पेरमेन्ट चार्ज ७७ करोड ८७ लाख रुपैयाँबाट घटेर १३ करोड ५० लाख रुपैयाँमा झरेको छ। यसले नाफामा उल्लेख्य वृद्धि गर्न सहयोग पुगेको बैंकले जनाएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ६५ पैसाबाट बढेर २३ रुपैयाँ ४८ पैसा पुगेको छ।
बैंकको लाभांश क्षमता पनि सुदृढ बनेको छ। नियमनकारी समायोजनपछि बैंकको खुद वितरणयोग्य नाफा ४३ करोड १२ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्षको सञ्चित नाफासहित कुल वितरणयोग्य नाफा ६१ करोड ५५ लाख रुपैयाँ पुगेको छ। यसअनुसार प्रतिशेयर वितरणयोग्य नाफा १६ रुपैयाँ ९९ पैसा कायम भएको छ, जुन अघिल्लो वर्ष ५ रुपैयाँ ९ पैसा मात्र थियो।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ, कुल इक्विटी ७ अर्ब ७४ करोड ४७ लाख रुपैयाँ, निक्षेप ५७ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ र कर्जा प्रवाह ४७ अर्ब ५ करोड ६२ लाख रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्ति ६७ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ कायम भएको वित्तीय विवरणमा उल्लेख छ।




.gif)





