images

२०८३ आश्विन १६ गते

images
images
images
  • बजार
  • बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ...

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान र व्यापारी चिन्तित

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान र व्यापारी चिन्तित

images
images
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • मुस्ताङ । केही दिनअघिको भारी वर्षापछि आएको बाढी, पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान र व्यापारी चिन्तित बनेका छन् । दसैँअघिको सोह्र श्राद्ध चलिरहेको र स्याउको खपत बढ्ने समयमा सडक अवरुद्ध भएपछि उत्पादित स्याउ बजारसम्म पुर्‍याउन समस्या भएको हो ।दसैँ–तिहारलगायतका महत्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा म्याग्दी क्षेत्रमा सडक अवरुद्ध भएपछि त्यसको प्रत्यक्ष असर मुस्ताङको स्याउ ढुवानीमा परेको छ । अहिले मुस्ताङका बारी तथा बगैँचामा पाकेर लटरम्म भएका स्याउ देखिन्छन् । तर, सडक अवरुद्ध हुँदा स्याउको बजारीकरण प्रभावित भएको किसानले बताएका छन् ।म्याग्दीको राहुघाट, बैसरी, सिरुवारी, भिरकाँटे, पोखरेबगर, नौनीबगर, तातोपानी र खामभित्तालगायत दर्जनौँ स्थानमा बाढी र पहिरोले सडक संरचनामा क्षति पुर्‍याएपछि एक सातादेखि बेनी–जोमसोम सडक अवरुद्ध छ ।

    images
    images

    छिटो पाक्ने अर्ली जातका स्याउ भदौ १५ गतेदेखि र ढिलो पाक्ने जातका स्याउ भदौ २२ गतेदेखि टिप्ने जिल्लास्तरीय निर्णय भएको थियो । हरितालिका तीजअघि मुस्ताङबाट केही स्याउ बजार पठाइए पनि ८० प्रतिशतभन्दा बढी स्याउको बजारीकरण हुन बाँकी रहेको किसान तथा व्यापारीले बताएका छन् ।स्याउ टिपेर बजार पठाउने तयारी भइरहेका बेला सडक अवरुद्ध भएपछि उत्पादित स्याउ व्यवस्थापन गर्न समस्या भएको हो । मुस्ताङमा औसतमा वार्षिक सात हजार मेट्रिकटन स्याउ उत्पादन हुँदै आएको छ । यहाँ परम्परागत लोकल स्याउसँगै उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउखेतीसमेत हुँदै आएको छ ।घरपझोङ गाउँपालिका–५ ढुम्बाका किसान कर्म गुरुङले सडक अवरुद्ध भएकाले उत्पादन गरेको स्याउ बजार पठाउन नपाएको बताइन् । सडक अवरुद्ध हुँदा इन्धन र विद्युत् आपूर्तिसमेत प्रभावित भएकाले टिपिएको स्याउ चिस्यान गृहमा राख्नसमेत समस्या भएको उनको भनाइ छ ।झन्डै सात सय मेट्रिकटन स्याउ उत्पादन गर्दै आएको चिम्ले अचार्ड कृषि फार्मका सञ्चालक गुरुङले टिपिएको स्याउ कुहिने जोखिम बढेको बताइन् । “अवरुद्ध सडकले किसानको मेहनत त्यसै खेर जाने जस्तो देखिएको छ । बोटमा भएका स्याउ पनि पाकेर झर्ने बेला भइसक्यो,” उनले भनिन्, “जतिसक्दो छिटो बाटो खुलाउन सके किसानलाई सबैभन्दा बढी राहत हुने थियो ।”

    थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको आइपिएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनले बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा उत्पादित स्याउको व्यापारसमेत ठप्प भएको बताए । उनका अनुसार तीजको समयमा करिब ५० प्रतिशत स्याउ बिक्री भइसकेको थियो । दसैँअघि बाँकी स्याउ बजार पठाउने तयारी भइरहेका बेला सडक बन्द भएको हो ।यसपटक उत्पादन राम्रो भएकाले किसान र व्यापारी दुवै लाभान्वित हुने अवस्था रहे पनि ढुवानी रोकिएपछि दुवै पक्षलाई असर पर्ने तुलाचनले बताए ।धादिङका स्याउ व्यापारी ऊर्जा तामाङ पनि तीन सातादेखि स्याउ व्यापारका लागि मुस्ताङमा छन् । तीन दशकदेखि मुस्ताङको स्याउ व्यापार गर्दै आएकी तामाङले यसपटक सडक अवरुद्ध हुँदा व्यापार नै प्रभावित हुने चिन्ता व्यक्त गरिन् ।घरपझोङ र बारागुङ मुक्तिक्षेत्रका आधा दर्जनभन्दा बढी बगैँचामा एक करोड रुपैयाँभन्दा बढी मूल्यको स्याउको ठेक्का लिएकी तामाङले मुस्ताङमा सङ्कलन गरिएको स्याउ एक सातादेखि बजार पठाउन नपाएर थन्किएको बताइन् । “स्याउ कहिले बजार पठाउन पाइन्छ भन्ने पर्खाइमा छौँ,” उनले भनिन् ।मुस्ताङको स्याउ व्यापारमा जिल्ला बाहिरका ५० भन्दा बढी तथा स्थानीय २० भन्दा बढी व्यापारी संलग्न रहेको बताइएको छ । व्यापारीले भदौअघि नै बगैँचामा स्याउको मूल्याङ्कन गरी किसानलाई आंशिक पेश्की दिने र त्यसपछि स्याउ सङ्कलन, ग्रेडिङ तथा प्याकेजिङ गरी बजार पठाउने अभ्यास छ ।

    images
    images

    सडक अवरुद्ध हुँदा स्याउको आन्तरिक बजारसमेत प्रभावित भएको छ । दसैँअघि हजारौँ पर्यटक मुस्ताङ आउने भएकाले स्थानीय किसानले स्याउ खरिद गरी पर्यटकलाई बिक्री गर्दै आएका थिए । तर, सडक अवरुद्धका कारण पर्यटकको आवागमन घट्दा स्याउको आन्तरिक बजारसमेत खस्किएको स्थानीय साना व्यापारीले बताएका छन् ।कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले सडक अवरुद्ध भएकाले तत्काल स्याउ नटिप्न किसान तथा व्यापारीलाई सुझाव दिइएको बताए । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी असर मुस्ताङका किसान र व्यापारीलाई परेको उनले बताए ।बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बाढी र पहिरोबाट धेरै स्थानमा सडकमा क्षति पुगेकाले सडक पूर्णरूपमा सञ्चालनमा ल्याउन एक साताभन्दा बढी समय लाग्न सक्ने बताए । सक विभाग तथा निर्देशनालय पोखराले सडक खुलाउन आवश्यक सबै संयन्त्र परिचालन गरेको उनले जानकारी दिए ।बेनी–जोमसोम सडक अवरुद्ध हुँदा चीनसँग सडक सम्पर्क जोड्ने महत्वपूर्ण कोरला नाकाबाट हुने आयात–निर्यातसमेत प्रभावित भएको छ । सडक अवरुद्धका कारण व्यापारिक गतिविधिसँगै राज्यको राजस्व सङ्कलनमा समेत असर परेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend