काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो सात महिनामा सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी मूल्यको अवैध सामग्री बरामद गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता २०८२ चैत १३ देखि २०८३ कात्तिक १२ गतेसम्म १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सरकारको सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने नीतिअनुसार अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार उक्त अवधिमा १७ नाल अवैध हातहतियार बरामद गरिएको छ भने हातहतियारसम्बन्धी घटनामा आठ जना पक्राउ परेका छन्। त्यस्तै, लागूऔषध कारोबारमा संलग्न ४२१ जना पक्राउ परेका छन्। उनीहरूबाट गाँजा, चरेस, अफिम, खैरो हेरोइन तथा विभिन्न ट्याब्लेट र इन्जेक्सनलगायत लागूऔषध बरामद गरिएको छ।
१६७ जनाको उद्धार, ९१ जना पक्राउ
मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ११८ जना बालबालिका रहेका छन्। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा ९१ जना पक्राउ परेका छन्।
त्यस्तै, सीमा अतिक्रमण नियन्त्रणका क्रममा दशगजाका ३५ स्थानमा रहेका २३७ वटा संरचना हटाइएको सशस्त्र प्रहरीले जनाएको छ। यसैगरी, १७ स्थानमा रहेको ७.४४८ बिघा जग्गाबाट खेतीपाती हटाइएको छ।
सीमा क्षेत्रका २०४ स्थानमा ९४.५८८ किलोमिटर क्षेत्रमा सरसफाइसमेत गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
२ हजार ८०६ जनचेतनामूलक कार्यक्रम सञ्चालन
सीमावासीसँगको सम्बन्ध सुदृढ बनाउने र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सशस्त्र प्रहरीले उक्त अवधिमा २ हजार ८०६ वटा कार्यक्रम सञ्चालन गरेको छ।
त्यसैगरी, १४१ वटा सहायता कक्षमार्फत ३ लाख ४९ हजार ९०८ जना लाभान्वित भएका छन्। १३ वटा पर्यटक सहायता कक्षबाट १० हजार ६५४ जनाले सेवा प्राप्त गरेको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा सुरक्षा मजबुत बनाउने, अवैध गतिविधि नियन्त्रण गर्ने र सीमावासीसँगको सम्बन्ध थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरीले निगरानी तथा सुरक्षा गतिविधिलाई तीव्रता दिएको जनाएको छ।




.gif)





