काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएको पहिलो दिनमै ११ लाख ७० हजार रुपैयाँ टोल शुल्क संकलन भएको छ। कात्तिक १५ गतेदेखि टोल शुल्क लागू भएपछि पहिलो दिन करिब ७ हजार ५०० सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका हुन्।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीका अनुसार दैनिक करिब ५ हजार सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने प्रारम्भिक अनुमान गरिएको थियो। तर पहिलो दिनमै अनुमानभन्दा बढी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका छन्।
पन्थीका अनुसार सुरुङमार्गमा औसत दैनिक सवारी चाप करिब ८ हजार ५०० रहने अनुमान गरिएको छ। यसबाट वार्षिक ३५ देखि ४० करोड रुपैयाँसम्म टोल शुल्क संकलन हुने अपेक्षा गरिएको छ।
इन्धन बचतका आधारमा टोल शुल्क निर्धारण
आयोजनाले सुरुङमार्ग प्रयोग गर्दा वैकल्पिक सडकको तुलनामा हुने इन्धन बचतलाई आधार बनाएर टोल शुल्क निर्धारण गरेको छ। सवारीसाधनलाई चार वर्गमा विभाजन गरी काठमाडौं प्रवेश र बाहिरिने क्रममा फरक शुल्क तोकिएको छ।
कार, भ्यान, पिकअप, ट्र्याक्टर र माइक्रोबसले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र फर्कँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस तथा मिनी ट्रकका लागि प्रवेशमा ११५ रुपैयाँ र फर्कँदा ८० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
त्यस्तै, बस तथा मझौला र ठूला ट्रकले प्रवेश गर्दा २६० रुपैयाँ र फर्कँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि प्रवेशमा ६०० रुपैयाँ र फर्कँदा २५० रुपैयाँ शुल्क तोकिएको छ।
काठमाडौं प्रवेश गर्दा उकालोका कारण बढी इन्धन खपत हुने भएकाले प्रवेश र फर्कने शुल्क फरक राखिएको आयोजनाले जनाएको छ।
मोटरसाइकललाई सुरुङमार्ग प्रवेशमा रोक
सुरक्षाको कारण देखाउँदै मोटरसाइकललाई सुरुङमार्ग प्रवेशमा रोक लगाइएको छ। सुरुङभित्र ओभरटेक गर्न तथा अनावश्यक रूपमा सवारी रोक्नसमेत पाइने छैन।
सुरुङमार्गको डिजाइन गति प्रतिघण्टा ६० किलोमिटर भए पनि सञ्चालनका क्रममा प्रतिघण्टा ५० किलोमिटरको सीमामा सवारी चलाउनुपर्ने व्यवस्था गरिएको छ।
टोल संकलनका क्रममा हुने जाम कम गर्न नगद, क्यूआर तथा विद्युतीय टोल संकलन प्रणाली (आरएफआईडी) को व्यवस्था गरिएको छ। आरएफआईडी प्रणालीबाट एउटा सवारीसाधनलाई करिब ८ देखि १० सेकेन्डमै पार गराउन सकिने पन्थीले बताए। उनले नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने सवारीधनीलाई उक्त प्रणालीमा आबद्ध हुन आग्रह गरेका छन्।
स्थानीयलाई छुट दिने विषयमा छलफल
सुरुङमार्गको उकालोमा ट्रकको गति कम हुँदा पछाडि रहेका सवारीसाधन प्रभावित हुने समस्या देखिएको छ। सुरुङभित्र ओभरटेक गर्न नपाइने भएकाले यस्तो अवस्था आएको आयोजनाको भनाइ छ।
यसलाई समाधान गर्न सवारीसाधनको तौल परीक्षण गरी क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनलाई वैकल्पिक सडकतर्फ डाइभर्ट गर्ने तयारी गरिएको छ।
त्यस्तै, स्थानीय तथा नियमित प्रयोगकर्तालाई टोल शुल्कमा छुट दिने विषयमा सडक बोर्ड नेपालसँग छलफल भइरहेको छ। यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुग्न सक्ने पन्थीले बताएका छन्।
एम्बुलेन्सलाई भने सुरुदेखि नै टोल शुल्क छुट दिइएको छ। भीभीआईपी तथा सुरक्षा निकायका सवारीसाधनलाई पनि छुट दिने प्रस्ताव मन्त्रालयमा पठाइएको छ।
२४ घण्टा उद्धार टोली परिचालन
सुरुङभित्र दुर्घटना वा अन्य आपत्कालीन घटना भए तत्काल उद्धार गर्न आयोजनाले १६ जनाको टोली परिचालन गरेको छ। दुईवटा एम्बुलेन्स र दुईवटा टोइङ भेहिकलसहित उद्धार टोली सुरुङमार्गका पूर्वी र पश्चिमी दुवै प्रवेशद्वारमा २४ घण्टा तैनाथ रहने व्यवस्था मिलाइएको छ।
आयोजनाले सशस्त्र प्रहरी अस्पताल, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी आपत्कालीन उद्धार समिति गठन गरेको छ। दुर्घटनामा घाइते तथा बिरामी भएकालाई तत्काल अस्पताल पुर्याउने व्यवस्था पनि मिलाइएको पन्थीले जानकारी दिएका छन्।
नागढुंगा सुरुङमार्गले काठमाडौं प्रवेश तथा बाहिरिने यात्राको समय र इन्धन खर्च घटाउनुका साथै पृथ्वी राजमार्गमा हुने सवारी चाप व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।




.gif)





