काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरी भारतीय मेजरिङ टुल्स उत्पादक कम्पनी एफएमआईको ब्रान्ड ‘फ्रिमांस’को नेपालका लागि ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।
नेपाली बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाउने उद्देश्यसहित कम्पनीले ऐरीसँग ब्रान्ड साझेदारी गरेको हो।
फ्रिमांसले नेपाली उपभोक्ता, खुद्रा विक्रेता तथा च्यानल पार्टनरहरूसँगको सम्बन्ध विस्तार गर्नुका साथै आफ्ना उत्पादनको बजार प्रवर्द्धन र जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। कम्पनीले मेजरिङ टेप, पावर टुल्स र ह्यान्ड टुल्स लगायतका उत्पादन बिक्री गर्दै आएको छ।
साझेदारीबारे एफएमआई लिमिटेड (फ्रिमांस) का कार्यकारी निर्देशक साहिल नायरले नेपाल कम्पनीका लागि महत्त्वपूर्ण र रणनीतिक बजार भएको बताए। उनले दीपेन्द्रसिंह ऐरीले महत्त्वाकांक्षी, मेहनती र उत्कृष्ट प्रदर्शनमा विश्वास गर्ने नेपाली नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने धारणा व्यक्त गरे।
त्यस्तै, क्रिकेटर ऐरीले गुणस्तर, सटीकता र विश्वसनीयताका लागि परिचित अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन्।
सन् १९५० मा स्थापना भएको एफएमआईका मेजरिङ टेप, स्पिरिट लेभल, मेजरिङ ह्विल, प्रेसिजन तथा डिजिटल मेजरिङ टुल्स र पावर टुल्स एक्सेसरिज लगायतका उत्पादन विश्वका ६० भन्दा बढी देशमा उपलब्ध छन्।
दीपेन्द्रसिंह ऐरीसँगको साझेदारीले नेपाली बजारमा फ्रिमांसको ब्रान्ड पहिचान र बजार विस्तारमा थप सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।




.gif)





