काठमाडौँ ।नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका १५ करोड थान नयाँ सिक्का चलनचल्तीमा ल्याउने प्रक्रिया अघि बढाएको छ। केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले यी सिक्काको डिजाइन, टकमरी, आपूर्ति तथा ढुवानीका लागि योग्य अन्तर्राष्ट्रिय कम्पनीहरूबाट शिलबन्दी बोलपत्र आह्वान गरेको छ।केन्द्रीय बैंकका अनुसार बजारमा साना दरका मुद्राको सहज आपूर्ति सुनिश्चित गर्न यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया अघि बढाइएको हो। इच्छुक कम्पनीले प्राविधिक र वित्तीय प्रस्ताव छुट्टाछुट्टै खाममा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। बोलपत्रसम्बन्धी कागजात
खरिद गर्न कम्पनीहरूले २० हजार रुपैयाँ वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा तिर्नुपर्नेछ। कागजात खरिद गर्ने अन्तिम म्याद डिसेम्बर २८ तोकिएको छ। बोलपत्र प्रक्रियाबारे जानकारी दिन राष्ट्र बैंकले डिसेम्बर ११ मा थापाथलीस्थित कार्यालयमा पूर्वबोलपत्र बैठक आयोजना गर्ने जनाएको छ। बोलपत्र पेस गर्ने अन्तिम म्याद डिसेम्बर २९ गते दिउँसो १२ बजेसम्म रहेको छ। प्राप्त प्रस्ताव सोही दिन दिउँसो १ बजे खोलिने राष्ट्र बैंकले जनाएको छ। प्रतिस्पर्धामा सहभागी हुने कम्पनीले कम्तीमा एक लाख २७ हजार अमेरिकी डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा अथवा नेपाली रुपैयाँमा बैंक धरौटी पेस गर्नुपर्नेछ। यस्तो धरौटी बोलपत्र पेस गरेको मितिबाट १५० दिनसम्म मान्य हुनुपर्ने व्यवस्था गरिएको छ।




.gif)



.gif)
