images

२०८३ मंसिर १३ गते

images
images
images
  • विश्व
  • एमसीसी परियोजनाको म्याद एक वर्ष थपिँदै,...

एमसीसी परियोजनाको म्याद एक वर्ष थपिँदै, निर्माण कार्यलाई गति दिने तयारी

एमसीसी परियोजनाको म्याद एक वर्ष थपिँदै, निर्माण कार्यलाई गति दिने तयारी

images
images
आइतवार, मंसिर १३ २०८३
आइतवार, मंसिर १३ २०८३
  • काठमाडौँ । अमेरिकी अनुदानमा सञ्चालित मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए–नेपाल) अन्तर्गतका आयोजनाको कार्यान्वयन अवधि म्याद एक वर्ष थप गरिएको छ । केही साताअघि बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को संयुक्त लगानीमा सञ्चालित आयोजनासहित विभिन्न परियोजनाको म्याद थप्ने विषयमा निर्णय गर्ने जिम्मेवारी अर्थ मन्त्रालयलाई दिएको थियो । अमेरिकी अनुदानमा सञ्चालित आयोजनाको म्याद थप्न एमसीए–नेपालले पहल गरेको थियो । उसले गत मे महिनाको मध्यतिर अर्थ मन्त्रालयमा प्रस्ताव पेस गर्दै ७४ करोड ७० लाख अमेरिकी डलरको कम्प्याक्ट सम्झौताको अवधि थप्न नेपाल सरकारका तर्फबाट एमसीसीलाई औपचारिक पत्राचार गर्न आग्रह गरेको थियो । 

    images
    images

    मन्त्रिपरिषद्को बैठकले परियोजनाको कुल लागत नबढ्ने सर्तसहित म्याद थपका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने अख्तियारी अर्थ मन्त्रालयलाई दिएसँगै एक वर्ष म्याद थप गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।स्रोतका अनुसार अब नेपाल सरकारले म्याद थपको औपचारिक अनुरोध एमसीसी बोर्डमा पठाउनेछ । आगामी डिसेम्बरमा बस्ने एमसीसी बोर्डको बैठकले म्याद थपसम्बन्धी प्रस्तावमा सहमति हुन सक्ने अवस्था रहेको छ । यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अमेरिका भ्रमणका क्रममा एमसीसीका निमित्त उपाध्यक्ष ज्यासन स्मलसँग भएको भेटमा पनि समय थप गरेरै भए पनि परियोजना सफल रूपमा कार्यान्वयन गर्ने विषयमा सकारात्मक छलफल भएको थियो ।एमसीसीको प्रावधानअनुसार परियोजना कार्यान्वयनमा गएको (इन्ट्री इन्टु फोर्स) मितिले पाँच वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था छ । अन्यथा अनुदान रकम फिर्ता जाने उल्लेख छ । 

    नेपालमा १३ भदौ २०८० बाट कार्यान्वयन सुरु भएको यो परियोजनामा विभिन्न आन्तरिक तथा बाह्य कारणले ढिलाइ भएपछि दुवै पक्ष एक वर्ष म्याद थप्न सहमत भएको स्रोतको दाबी छ ।म्याद थप गर्नुपर्ने प्रमुख कारणहरूमध्ये अमेरिकी वैदेशिक सहायताको समीक्षा र प्राकृतिक विपद् मुख्य रहेका छन् । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएलगत्तै २० जनवरी २०२५ देखि वैदेशिक सहायताको पुनरावलोकन सुरु गरिँदा नेपालस्थित एमसीसी परियोजनाको काम करिब सात महिना स्थगित भएको थियो ।यद्यपि, पुनः मूल्यांकनकै क्रममा गत मार्चमा एमसीसीले पत्र पठाई अत्यावश्यक खरिद र कार्यालय सञ्चालनका काम गर्न अनुमति दिएको थियो भने २०२५ जुलाईको अन्तिम साता अमेरिकी सरकारले परियोजनालाई निरन्तरता दिन सिफारिस गरेको थियो ।त्यस्तै, गत वर्ष र यस वर्ष त्रिशूली नदीमा आएको भीषण बाढीले समेत आयोजनाको काममा अवरोध पुर्‍याएको मन्त्रालय स्रोतको भनाइ छ । पहिलो पटकको टेन्डर रद्द भएर दोस्रो पटक आह्वान गरी लगाइएका ठेक्काहरूको निर्माण अवधि नै एमसीसी कम्प्याक्टको मूल म्यादभन्दा पछाडिसम्म रहेकाले पनि परियोजना पूरा गर्न समय थप्नु अपरिहार्य बनेको मन्त्रालयले जनाएको छ ।

    images
    images

    परियोजनाको प्रगति र वित्तीय अवस्था

    नेपालमा हाल प्रसारण लाइन, सबस्टेसन र सडक सुधारका परियोजनाहरू कुल ७४ करोड ७० लाख अमेरिकी डलरको लागतमा कार्यान्वयन भइरहेका छन् । जसमा अमेरिकी सरकारको ५५ करोड डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख डलर लगानी छ । सुरुमा ५० करोड डलर अनुदान र नेपालको १३ करोड डलर योगदान रहने सम्झौता भए पनि लागत बढ्ने भएपछि नेपालले मे २०२३ मा थप ६ करोड ७० लाख डलर लगानी बढाउने प्रतिबद्धता जनाएको थियो । उता, अमेरिकी संसद्ले पनि थप ५ करोड डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान थपेको थियो ।प्रसारण लाइन निर्माणतर्फ १८ किलोमिटर खण्डको काम हालै सम्पन्न भइसकेको छ । एमसीए–नेपालले न्यु बुटवल सबस्टेसनदेखि भारतीय सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन शिलान्यास भएको ९ महिनामै अर्थात् २८ भदौमा निर्माण सम्पन्न गरेको हो । बाँकी २ सय ९७ किलोमिटर प्रसारण लाइन तीनवटा प्याकेजमा ठेक्का लागेर कार्यान्वयनमा गइसकेको छ ।

    यसअघि कुल ३ सय १५ किलोमिटर प्रसारण लाइनका लागि तीन वर्षअघि आह्वान गरिएको बोलपत्रमा लागत अनुमानभन्दा ६० प्रतिशत महँगो प्रस्ताव परेपछि २६ असोज २०८० मा सम्पूर्ण प्रक्रिया रद्द गरिएको थियो । पछि पुनः मूल्यांकन र थप अनुदान सुनिश्चित गरी १८ किलोमिटरको छुट्टै र बाँकी २ सय ९७ किलोमिटरको तीन प्याकेजमा ठेक्का लगाइएको हो ।यस्तै, तनहुँको दमौली, नुवाकोटको रातमाटे र नवलपरासीमा निर्माण हुने ४०० केभी क्षमताका तीनवटा सबस्टेसन तथा पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको धानखेतदेखि लमहीसम्मको सडक स्तरोन्नतिको ठेक्कासमेत लागिसकेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend