इस्लामाबाद । पाकिस्तानको बलुचिस्तान प्रान्तमा नोभेम्बर २० देखि २३ सम्म सञ्चालन गरिएका चार छुट्टाछुट्टै गुप्तचर सूचनामा आधारित सुरक्षा कारबाहीमा १२ जना मारिएको पाकिस्तानी सेनाले जनाएको छ ।सेनाको सञ्चार विभाग इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार नोभेम्बर २० मा नुश्की जिल्लामा विद्रोही लुकेको स्थानलाई लक्षित गरी कारबाही गरिएको थियो । त्यस क्रममा भएको गोली हानाहानमा ‘फितना अल हिन्दुस्तान’ समूहका आठ सदस्य मारिएको र हतियार तथा गोलीगठ्ठा बरामद गरिएको सेनाले जनाएको छ ।
नोभेम्बर २१ मा सिबी जिल्लामा विद्रोहीको आवागमन रोक्ने क्रममा थप दुई जना मारिएको आईएसपीआरले जनाएको छ । त्यस्तै, नोभेम्बर २२ र २३ मा पन्जगुर र केच जिल्लामा छुट्टाछुट्टै कारबाही तथा खानतलासीका क्रममा थप दुई जना मारिएको सेनाको दाबी छ ।पाकिस्तानी सेनाले राष्ट्रिय कार्ययोजनाअन्तर्गत स्वीकृत ‘अज्म–ए–इस्तेहकाम’ अभियानमार्फत विदेशी समर्थन प्राप्त आतंकवाद अन्त्य गर्न कारबाही जारी राख्ने जनाएको छ ।यसैबीच, राष्ट्रपति आसिफ अली जरदारीले बलुचिस्तानमा सुरक्षा बलले सञ्चालन गरेका कारबाहीको प्रशंसा गर्दै आतंकवादविरुद्धको अभियान देशको शान्ति र स्थायित्वका लागि आवश्यक रहेको बताएका छन् ।
पाकिस्तानमा पछिल्लो समय विशेषगरी खैबर पख्तुनख्वा र बलुचिस्तानमा ‘आतंकवादी’ गतिविधि बढ्दै गएको सेनाको भनाइ छ । गत साता मस्तुङ जिल्लामा दुई छुट्टाछुट्टै कारबाहीमा १५ जना मारिएको तथा नोभेम्बर १४ मा बलुचिस्तान र खैबर पख्तुनख्वामा भएका कारबाहीमा एक मेजरसहित चार सैनिक मारिँदा २४ जना मारिएको सेनाले जनाएको थियो ।पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एन्ड सेक्युरिटी स्टडिजका अनुसार नोभेम्बर ६ देखि १२ सम्म ‘आतंकवादी’ आक्रमणको संख्या घटे पनि मृत्यु र घाइते हुनेको संख्या बढेको छ । उक्त अवधिमा खैबर पख्तुनख्वामा १६ आक्रमणमा ४४ जनाको मृत्यु भएको थियो भने बलुचिस्तानमा १३ आक्रमणमा आठ जनाको मृत्यु र १९ जना घाइते भएका थिए ।




.gif)





.gif)
