काठमाडौं । नबिल बैंक दक्षिण एसियाली स्तरको प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ बाट सम्मानित भएको छ । दक्षिण एसियाका निजी क्षेत्रका बैंकमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत बैंकले उक्त अवार्ड प्राप्त गरेको हो ।बंगलादेशमा शनिबार आयोजित विशेष समारोहमा नबिल बैंकका सञ्चालक सइद मन्सुर मुस्तफाले अवार्ड ग्रहण गरेका थिए । बैंकले सन् २०२४/२५ को वार्षिक प्रतिवेदनका लागि साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा प्रदान गरिने उक्त अवार्ड प्राप्त गरेको हो ।प्रत्येक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय तथा व्यावसायिक संस्थाका वार्षिक प्रतिवेदन मूल्याङ्कन गरी उत्कृष्ट प्रतिवेदन प्रस्तुत गर्ने संस्थालाई सम्मान गर्दै आएको साफाले वित्तीय विवरणको गुणस्तर, पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनका मापदण्ड पालना गरेको भन्दै नबिल बैंकलाई सम्मान गरेको हो ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कुमार ज्ञवालीले साफा मेरिट अवार्ड प्राप्त गर्नु बैंकका लागि मात्र नभई नेपालको बैंकिङ क्षेत्रकै लागि गर्वको विषय भएको बताए ।उनले यो सम्मान कुनै एक वर्षको उपलब्धि मात्र नभई वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनलाई निरन्तर अभ्यासका रूपमा आत्मसात् गर्दै आएको प्रतिबद्धताको क्षेत्रीयस्तरमा भएको मूल्याङ्कन भएको बताए ।नबिल बैंक यसअघि पनि सन् २०२२/२३ को वित्तीय प्रतिवेदनका आधारमा निजी क्षेत्र बैंकिङतर्फ साफा मेरिट अवार्डबाट सम्मानित भएको थियो । दोस्रो पटक प्राप्त यस सम्मानले वित्तीय पारदर्शिता, जवाफदेहिता तथा उत्कृष्ट प्रतिवेदन अभ्यासमा बैंकले कायम राखेको निरन्तरतालाई प्रतिबिम्बित गरेको छ ।
नबिल बैंकले वार्षिक प्रतिवेदनमार्फत आफ्नो वित्तीय अवस्था र कार्यसम्पादनका साथै व्यावसायिक रणनीति, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, दिगोपना तथा सामाजिक उत्तरदायित्वका गतिविधि पारदर्शी रूपमा प्रस्तुत गर्दै आएको जनाएको छ ।सरोकारवालालाई बैंकका गतिविधि, उपलब्धि र भावी प्राथमिकताबारे विश्वसनीय जानकारी उपलब्ध गराउने उद्देश्यले प्रतिवेदनको गुणस्तर, विश्वसनीयता र प्रस्तुतिमा निरन्तर सुधार गर्दै आएको बैंकको भनाइ छ ।यसअघि नबिल बैंकले सोही आर्थिक वर्षको वार्षिक प्रतिवेदनका आधारमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बाट वाणिज्य बैंकतर्फ उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड (गोल्ड अवार्ड) प्राप्त गरेको थियो । राष्ट्रियस्तरमा प्राप्त उक्त सम्मानपछि दक्षिण एसियालीस्तरमा पनि सम्मानित हुनुले बैंकको प्रतिवेदनको गुणस्तर र पारदर्शितामा अपनाउँदै आएको अभ्यासलाई थप मान्यता दिएको छ ।
चार दशकभन्दा लामो बैंकिङ इतिहास बोकेको नबिल बैंकले नवीन प्रविधि, आधुनिक सेवा र ग्राहककेन्द्रित अभ्यासमार्फत नेपाली बैंकिङ क्षेत्रको विकासमा योगदान पुर्याउँदै आएको छ । दिगो बैंकिङ र डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै बैंकले आफ्नो डिजिटल बैंकिङ सेवा ‘एनबैंक’ मार्फत बैंकिङ सेवालाई सहज, सरल र पहुँचयोग्य बनाउँदै आएको जनाएको छ ।हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले वित्तीय समावेशिता, आर्थिक अवसरको विस्तार र दिगो आर्थिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ ।




.gif)





.gif)
