काठमाडौँ । नेपालमा चिकित्सा शिक्षाको स्नातक तहमा विद्यार्थीको आकर्षण समग्रमा बढ्दै गए पनि विषय छनोटमा भने असमानता देखिएको छ। पछिल्लो पाँच वर्षको भर्ना तथ्याङ्कले एमबीबीएस, बीएससी नर्सिङ र बीडीएसमा विद्यार्थीको चाप बढेको देखाउँदा जनस्वास्थ्य, बीएएमएस र बीएमएसजस्ता विषयमा भने विद्यार्थीको रुचि घट्दै गएको देखाएको हो।शैक्षिक सत्र २०७८/७९ मा चिकित्सा शिक्षाको स्नातक तहमा ८ हजार ५६० सिट उपलब्ध रहेकामा ६ हजार १२ जना विद्यार्थी भर्ना भएका थिए। २०८२/८३ मा आइपुग्दा सिट संख्या बढेर ९ हजार २७३ पुगेको छ भने भर्ना हुने विद्यार्थीको संख्या ८ हजार ५३६ पुगेको छ। यस अवधिमा विद्यार्थी भर्ना २ हजार ५२४ ले वृद्धि भएको छ।
विषयगत तथ्याङ्क विश्लेषण गर्दा एमबीबीएस कार्यक्रम विद्यार्थीको पहिलो रोजाइमा रहेको देखिन्छ। २०७८/७९ मा १ हजार ८९५ सिट रहेको एमबीबीएसमा सबै सिट भरिएका थिए। पछिल्लो शैक्षिक सत्रमा सिट संख्या बढेर २ हजार ६३५ पुग्दा पनि सबै सिटमा विद्यार्थी भर्ना भएका छन्।त्यस्तै, बीएससी नर्सिङमा पनि विद्यार्थीको आकर्षण उल्लेख्य रूपमा बढेको छ। पाँच वर्षअघि १ हजार ४६० सिटमध्ये ८६४ जना मात्र भर्ना भएकामा २०८२/८३ मा २ हजार ४३० सिटमध्ये २ हजार ४२९ जना भर्ना भएका छन्। यसले नर्सिङ शिक्षाप्रति विद्यार्थीको बढ्दो आकर्षणलाई देखाउँछ।बीडीएस र बी अप्टोमेट्रीमा समेत उपलब्ध सिट पूर्ण रूपमा भरिएका छन्। बीडीएसमा पछिल्लो शैक्षिक सत्रमा ६२५ सिटमध्ये सबैमा विद्यार्थी भर्ना भएका छन्। त्यस्तै, बी अप्टोमेट्रीका १०० वटै सिट भरिएका छन्।
जनस्वास्थ्य र आयुर्वेदका विषयमा घट्दो आकर्षण
एमबीबीएस र नर्सिङमा विद्यार्थीको चाप बढिरहँदा जनस्वास्थ्य विषयमा भने भर्ना संख्या घटेको छ। बीपीएचमा २०७८/७९ मा १ हजार ३५० सिटमध्ये ४२४ जना भर्ना भएका थिए। तर २०८२/८३ मा सिट संख्या घटेर ७१२ कायम हुँदा भर्ना हुने विद्यार्थीको संख्या पनि २९९ मा सीमित भएको छ।बीएएमएसमा पनि उपलब्ध सिटको तुलनामा भर्ना संख्या घटेको देखिन्छ। २०७८/७९ मा ८० सिटमध्ये ७७ जना भर्ना भएकामा पछिल्लो शैक्षिक सत्रमा ११० सिट हुँदा पनि ६८ जना मात्र भर्ना भएका छन्।बीएमएसको अवस्था अझ कमजोर देखिएको छ। सुरुमा १०० सिटमध्ये ८३ जना विद्यार्थी भर्ना भएकामा २०८२/८३ मा सिट संख्या घटेर ६५ पुग्दा भर्ना हुने विद्यार्थीको संख्या २२ मा झरेको छ।
केही प्राविधिक विषयमा शतप्रतिशत भर्ना
चिकित्सा शिक्षाका केही नयाँ तथा प्राविधिक विषयमा भने विद्यार्थीको आकर्षण बढेको छ। बीएएसएलपीमा सुरुमा ६ सिटमध्ये दुई जना मात्र भर्ना भएकामा पछिल्लो वर्ष १६ वटै सिट भरिएका छन्।बीएससी मिडवाइफ्री कार्यक्रम सुरु भएको केही वर्षमै सबै सिटमा विद्यार्थी भर्ना हुन थालेका छन्। २०८०/८१ मा २० सिटबाट सुरु भएको उक्त कार्यक्रममा २०८२/८३ मा सिट संख्या ३० पुग्दा सबै भरिएका छन्। त्यस्तै, नयाँ सुरु गरिएको बीएससी रेडियो थेरापी टेक्नोलोजीका पाँचवटै सिटमा विद्यार्थी भर्ना भएका छन्।बीएससी एमएलटीमा पनि भर्ना संख्या बढेको छ। २०७८/७९ मा ४३१ सिटमध्ये ३०३ जना भर्ना भएकामा पछिल्लो शैक्षिक सत्रमा ३८७ सिटमध्ये ३६६ जना भर्ना भएका छन्।
फार्मेसी र फिजियोथेरापीमा उतारचढाव
बी फार्मेसी, बीपीटी र बीएससी एमआईटीमा भने विद्यार्थी भर्ना संख्यामा वर्षैपिच्छे उतारचढाव देखिएको छ। बी फार्मेसीमा पाँच वर्षअघि ८७० सिटमध्ये ७१३ जना भर्ना भएका थिए। पछिल्लो वर्ष ८३५ सिटमध्ये ७८५ जना विद्यार्थी भर्ना भएका छन्।बीपीटीमा सुरुमा १७० सिटमध्ये १२८ जना भर्ना भएकामा २०७९/८० मा यो संख्या घटेर ७८ पुगेको थियो। पछिल्लो वर्ष १५० सिटमध्ये १२७ जना मात्र भर्ना भएका छन्।बीएससी एमआईटीमा भने सुधार देखिएको छ। २०७८/७९ मा ७१ सिटमध्ये ६५ जना भर्ना भएकामा २०८२/८३ मा १०८ सिटमध्ये ९९ जना विद्यार्थी भर्ना भएका छन्।बीएनएस कार्यक्रममा पनि पछिल्लो वर्ष भर्ना संख्या बढेको छ। २०७८/७९ मा १ हजार ४५० सिटमध्ये ८७६ जना भर्ना भएकामा २०८०/८१ मा यो संख्या घटेर ६१३ पुगेको थियो। तर २०८२/८३ मा १ हजार ६२ सिटमध्ये ९२९ जना विद्यार्थी भर्ना भएका छन्।
यसको विपरीत बी पफ्र्युजन टेक्नोलोजीमा भने विद्यार्थी भर्ना निकै न्यून छ। पछिल्लो शैक्षिक सत्रमा तीन सिट उपलब्ध रहेकामा एक जना विद्यार्थी मात्र भर्ना भएका छन्।समग्रमा चिकित्सा शिक्षाको स्नातक तहमा विद्यार्थी भर्ना र सिटसंख्या दुवै बढ्दै गएको देखिए पनि विषयगत आकर्षणमा ठूलो अन्तर रहेको छ। एमबीबीएस, नर्सिङ, बीडीएस तथा केही प्राविधिक विषयमा विद्यार्थीको चाप बढिरहेको छ भने जनस्वास्थ्य, बीएएमएस र बीएमएसमा भर्ना घटिरहेको छ। यसले चिकित्सा शिक्षाका विभिन्न विधामा विद्यार्थीको रुचि समान नरहेको तथ्यलाई उजागर गरेको छ।





.gif)





.gif)
