काठमाडौं, १९ कात्तिक । हिरासतमा रहेका इनाम सापकोटाले दिएको भनिएको बयानसँग सम्बन्धित अडियो सार्वजनिक भएपछि नेपाली कांग्रेसले त्यसमा जोडिएका आरोपहरूको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गर्न माग गरेको छ।
अडियो प्रकरणपछि सभापति गगन थापालाई पक्राउ गर्नेसम्मका चर्चा हुन थालेपछि कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आकस्मिक पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टी पदाधिकारी बैठकले आरोपहरूको निष्पक्ष छानबिनका लागि माग गर्ने निर्णय गरेको जानकारी दिए। छानबिन प्रक्रियालाई अघि बढाउन र निष्कर्षमा पुर्याउन उपसभापति एवं वरिष्ठ अधिवक्ता पुष्पा भुसाल र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई निरन्तर पहल गर्ने जिम्मेवारी दिइएको उनले बताए।
कांग्रेसले पार्टीलाई बदनाम गराउने उद्देश्यले सरकारनिकट व्यक्तिहरूबाट नियोजित रूपमा भ्रम फैलाउने र अडियो नाटक उत्पादन गर्ने काम भइरहेको आरोप लगाएको छ।
वरिष्ठ उपसभापति शर्माले कांग्रेसको आधिकारिकतामा आर्थिक लेनदेन भएको भन्ने आरोप ७ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको अपमान भएको बताए। यस्तो आरोपले निर्वाचन आयोगको प्रतिष्ठामा समेत आँच पुर्याउने र अदालतको अवहेलना गर्ने काम भएको उनको भनाइ थियो।
यस्ता भ्रम फैलाउने र अडियो प्रकरणमा षड्यन्त्र गर्नेहरू कुनै न कुनै दिन कानुनी प्रक्रियाबाट उजागर हुने विश्वास व्यक्त गर्दै शर्माले अहिले बहस जनताका आधारभूत समस्या र राष्ट्रिय मुद्दामा केन्द्रित हुनुपर्ने बताए।
सरकारले गर्नुपर्ने जनपक्षीय (कोप) सुरु हुन पाँच दिन मात्रै बाँकी रहँदा पनि सरकारले त्यसको तयारी र छलफलमा चासो नदेखाएको उनले टिप्पणी गरे।
शर्माले सरकारको प्राथमिकता जलवायु संकटको सामना गर्नुपर्नेमा नेपाल प्रहरीका महानिरीक्षक हटाउने विषयमा केन्द्रित हुनु गलत र दुर्भाग्यपूर्ण भएको बताए। अहिले सिंहदरबार र बालुवाटारमा विधिको शासनभन्दा पनि रमिता चलिरहेको उनको टिप्पणी थियो।
उनले जनमतअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको जिम्मेवारी र नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका पाएको स्पष्ट पार्दै सरकारलाई विधिको शासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न आग्रह गरे।
सत्तामा रहेकै आधारमा आफूखुसी निर्णय गर्न नपाइने भन्दै कांग्रेसले प्रहरी महानिरीक्षकलाई बिनाकारण हटाइएको तथा सरकारी उच्च अधिकारीहरूलाई नियन्त्रणमा लिएर आफूअनुकूल निर्णय गर्न बाध्य पारिएको घटनाप्रति समेत आपत्ति जनाएको छ।
यसैबीच, कांग्रेस सभापति थापामाथि निगरानी बढाइएको भन्दै उनीनिकट स्रोतले विरोध जनाउँदै आएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न थापा गुण्डु पुगेको घटनालगायतका गतिविधिले सरकार उनीमाथि दबाब सिर्जना गर्ने मनस्थितिमा रहेको सन्देश दिएको कांग्रेसनिकट स्रोतको दाबी छ। यद्यपि, प्रहरीले भने सभापति थापालाई पक्राउ गर्ने विषयमा कुनै तयारी नरहेको प्रतिक्रिया दिँदै आएको छ।




.gif)





