चितवन । चितवनमा प्रहरीले दुई दिनको अवधिमा जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ११ हजार ९८५ रुपैयाँ र १२ बुक तास बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार खैरहनी नगरपालिका–८ स्थित पानीट्यांकी चोकमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नगद ७७ हजार ९९५ रुपैयाँ र १० बुक ताससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
त्यस्तै, गएराति करिब १ बजे भरतपुर महानगरपालिका–१६ स्थित नवीन चोकबाट थप पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद ३३ हजार ९९० रुपैयाँ र दुई बुक ताससहित पक्राउ गरेको हो।
दुवै घटनामा पक्राउ परेका १३ जनामाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।




.gif)





