images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • दसैँमा काठमाडौँबाट १५ लाख यात्रु बाहिरिने...

दसैँमा काठमाडौँबाट १५ लाख यात्रु बाहिरिने अनुमान, फूलपातीमा सबैभन्दा बढी चाप

दसैँमा काठमाडौँबाट १५ लाख यात्रु बाहिरिने अनुमान, फूलपातीमा सबैभन्दा बढी चाप

images
images
बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ । नेपालीहरूको महान् पर्व दसैँको अवसरमा यस वर्ष काठमाडौँ उपत्यकाबाट करिब १५ लाख यात्रु बाहिरिने प्रक्षेपण गरिएको छ । जसमध्ये सार्वजनिक यातायातको प्रयोग गरेर मात्रै झन्डै १० लाख यात्रुले उपत्यका छाड्ने अनुमान गरिएको छ ।यति ठुलो सङ्ख्यामा बाहिरिने यात्रु र सवारीसाधनको चापलाई व्यवस्थित गर्न यस पटक ठुलै चुनौती रहेको सरोकारवालाहरूले औँल्याएका छन् । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले ‘सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल’ (सोटेन) को प्राविधिक सहयोगमा तयार पारेको ‘२०८३ दसैँ पर्वको लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन’ ले दसैँको यात्रा व्यवस्थापनका विविध आयाम र चुनौतीहरूलाई विस्तृत रूपमा बाहिर ल्याएको छ । समितिका सभापति आशिष गजुरेलको अध्यक्षतामा गठित अध्ययन समितिले ट्राफिक तथ्याङ्क, सडकको वर्तमान अवस्था र यात्रुहरूको अनलाइन सर्वेक्षणलाई आधार मानेर यो प्रतिवेदन तयार पारेको हो ।

    images
    images

    फूलपातीदेखि अष्टमीसम्म सर्वाधिक चाप, ६५ हजार ट्रिप आवश्यक

    प्रतिवेदनअनुसार दसैँको मुख्य चाप असोज ३१ (फूलपाती) देखि कात्तिक २ (अष्टमी) सम्म पर्नेछ । यी तीन दिनको अवधिमा मात्रै २ देखि ३ लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिनेछन् ।दसैँ अवधिभर यात्रुलाई गन्तव्यमा पुर्‍याउन न्यूनतम ४३ हजार ५ सय ७४ देखि अधिकतम ६५ हजार ३ सय ६१ सार्वजनिक सवारीसाधनका ट्रिपहरू आवश्यक पर्ने अध्ययनले देखाएको छ । सबैभन्दा बढी भिड फूलपातीका दिन हुनेछ । उक्त दिन एकै पटक १ लाख १३ हजार २ सय ८३ यात्रु बाहिरिने र त्यसका लागि करिब ७ हजार ३६७ सार्वजनिक सवारीसाधन एकै दिन परिचालन गर्नुपर्ने अनुमान छ । यस्तै, घटस्थापना अघि नै करिब डेढदेखि साढे दुई लाख यात्रु बाहिरिइसक्ने प्रक्षेपण छ । बाहिरिने सार्वजनिक सवारीसाधनहरूमध्ये ठुला बसको हिस्सा ४८ प्रतिशत, माइक्रो बसको ४३ प्रतिशत र मिनी बसको ९ प्रतिशत रहनेछ ।

    images
    images

    नागढुंगा नाकामा ५५ प्रतिशत भार, पूर्व जाने सवारीलाई बीपी राजमार्ग पठाइने

    उपत्यका भित्रिने र बाहिरिने ८५ देखि ९० प्रतिशत सवारीको भार मुख्य तीन नाका— नागढुङ्गा, साँगा र फर्पिङले बेहोर्ने गरेका छन् । त्यसमध्ये पनि नागढुङ्गा नाकाबाट बाहिरिने सवारीको करिब ५५ प्रतिशत हिस्सा नारायणगढतर्फ जाने भएकाले यो खण्डको ट्राफिक व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण हुने औँल्याइएको छ ।सोटेनको विवरण अनुसार नागढुङ्गाबाट बाहिरिने यात्रुमध्ये पोखरा करिडोरतर्फ २७ प्रतिशत, बुटवल हुँदै पश्चिमतर्फ २१ प्रतिशत, नारायणगढ हुँदै पूर्वतर्फ १९ प्रतिशत, मुग्लिन/धादिङतर्फ १८ प्रतिशत र लुम्बिनी/चितवनतर्फ १५ प्रतिशत सवारीसाधन जाने गरेका छन् ।

    यसको व्यवस्थापनका लागि प्रतिवेदनले नागढुङ्गामा हुने ट्राफिक चाप १५ देखि २० प्रतिशतले घटाउन पूर्वतर्फ जाने सवारीलाई बीपी राजमार्ग (धुलिखेल–सिन्धुली) र कान्ति लोकपथतर्फ ‘डाइभर्ट’ गर्न सिफारिस गरेको छ । साथै, यात्रुवाहक बस र माइक्रो बसलाई निर्माणाधीन नागढुङ्गा सुरुङमार्गबाट पठाएर प्राथमिकता दिन र अन्य मालवाहक तथा ढिलो चल्ने सवारीलाई सतहको पुरानै सडकबाट पठाउन सुझाइएको छ ।

    ५२ प्रतिशतलाई अनलाइन टिकटको चाहना

    समितिले यात्रा व्यवस्थापनका सन्दर्भमा गरेको अनलाइन सर्वेक्षणले दसैँको टिकट काट्दा यात्रुहरूले ठुलो सास्ती खेप्ने गरेको र कालोबजारीको सिकार हुने गरेको यथार्थ उजागर गरेको छ । सर्वेक्षणमा सहभागी यात्रुमध्ये ४३ प्रतिशतले विगतमा टिकट पाउनै मुस्किल भएको बताएका छन् भने ३० प्रतिशतले तोकिएभन्दा बढी (महँगो) भाडा तिरेर यात्रा गर्नुपरेको गुनासो गरेका छन् । केवल २४ प्रतिशतले मात्र सहजै टिकट पाएको बताएका छन् ।त्यस्तै, प्रविधिको विकाससँगै यात्रुको रोजाइमा परिवर्तन आएको छ । ५२ प्रतिशत यात्रुले मोबाइल एप वा वेबसाइटमार्फत अनलाइन टिकट काट्न चाहेको बताएका छन् भने बस काउन्टरमै गएर लाइन लागी टिकट काट्ने पक्षमा १७ प्रतिशत मात्रै देखिएका छन् । 

    २८ प्रतिशतले फोनमार्फत टिकट बुक गर्न रुचाउने बताएका छन् । यसले सार्वजनिक यातायातमा डिजिटल टिकेटिङको आवश्यकतालाई थप पुष्टि गरेको छ । ६९ प्रतिशत यात्रुले बिहान ९ बजे अगावै आफ्नो यात्रा सुरु गर्न रुचाउने गरेको पनि सर्वेक्षणले देखाएको छ ।

    सडक मर्मत र ५३ हेभी उपकरण तैनाथ गर्दै सडक विभाग

    हालैको भारी वर्षा, बाढी र पहिरोका कारण (विशेषगरी भोटेकोशी, बीपी राजमार्ग र पृथ्वी राजमार्गमा) पुगेको क्षतिका कारण यस वर्षको यात्रा थप जोखिमपूर्ण र चुनौतीपूर्ण बन्न सक्ने प्रतिवेदनले औँल्याएको छ । सडक सञ्जालमा परेको क्षतिको कारण यातायात उपलब्धतामा अन्योल सिर्जना भएको छ ।यसलाई मध्यनजर गर्दै सडक विभागले दसैँ लक्षित सडक मर्मत कार्यलाई तीव्रता दिएको छ । सम्भावित विपद् र दुर्घटनालाई ध्यानमा राखेर सडक विभागले राजमार्गका विभिन्न संवेदनशील स्थानहरूमा ५३ वटा ठुला उपकरण (डोजर, एक्स्काभेटर, लोडर आदि) तयारी अवस्थामा राख्ने योजना बनाएको छ । अरनिको राजमार्ग, बीपी राजमार्ग, साँखु–मेलम्ची, बल्खु–दक्षिणकाली, त्रिभुवन राजपथलगायतका स्थानमा तत्काल बाटो खुलाउन यी उपकरणहरू तैनाथ गरिनेछन् ।

    ट्राफिक व्यवस्थापन र सुरक्षाका लागि यस्तो छ सिफारिस

    दसैँको यात्रालाई सुरक्षित, झन्झटमुक्त र सहज बनाउन संसदीय समितिले अल्पकालीन र दीर्घकालीन सुझावहरू सरकार र सम्बन्धित निकायलाई दिएको छ  । जुन यसप्रकार छन्–

    लामो दूरीको यात्रा (२५० किलोमिटरभन्दा बढी वा ८ घण्टाभन्दा बढी) मा अनिवार्य दुई जना चालकको व्यवस्था कडाइका साथ लागू गर्ने । सवारीसाधनलाई यात्रामा निकाल्नु अगावै मेकानिकल (फिटनेस) जाँच अनिवार्य गर्ने र चालकको स्वास्थ्य तथा मापसे/लापसे परीक्षणलाई तीव्रता दिने ।

     ट्राफिक जाम घटाउन कलंकी–सीतापाइला–नागढुङ्गा र कोटेश्वर–कलंकी खण्डमा सडक छेउबाट जथाभावी यात्रु चढाउन पूर्ण रोक लगाउने । तोकिएको बसपार्क र टर्मिनलबाट मात्रै यात्रु चढाउनुपर्ने व्यवस्था कडाइका साथ लागू गर्ने ।

    हाल ट्राफिक प्रहरीले १५–१६ घण्टासम्म लगातार ड्युटी गर्दा थकान हुने र कार्यक्षमतामा ह्रास आउने भएकाले दैनिक ३ चरणको सिफ्ट प्रणाली (बिहान, दिउँसो र राती) लागू गर्ने ।

    यात्रुको गुनासो तत्काल सम्बोधन गर्न १०३, १०० र हेल्लो सरकारको हटलाइनलाई थप प्रभावकारी बनाउने । उपत्यकाका १४ वटा मुख्य स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने ।

    दीर्घकालीन समाधानका लागि ‘सार्वजनिक यातायात प्राधिकरण’ को माग गरेको छ । हरेक वर्ष दसैँमा मात्रै तदर्थ समिति बनाएर काम चलाउने प्रवृत्तिको अन्त्य गर्न प्रतिवेदनले दीर्घकालीन समाधान पनि सुझाएको छ । 

    संघीय राजधानी काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न ऐन संशोधन गरी ‘सार्वजनिक यातायात प्राधिकरण’ गठन गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ । 

    प्रविधिको प्रयोग बढाउँदै ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन’ क्यामेरा, जीपीएस जडान र डिजिटल टिकेटिङलाई अनिवार्य गर्दै लैजानुपर्ने निष्कर्ष समितिले निकालेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend