गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–५, काप्रेस्वाँराकी हृदय रोगबाट पीडित ११ वर्षीया बालिकाको उपचारका लागि संकलित ५० हजार ५० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ।
बालिकाको उपचारमा आर्थिक सहयोग पुर्याउने उद्देश्यले ‘सहयोग समूह छोप्राक’ले ४० जना सहयोगी दाताबाट उक्त रकम संकलन गरेको हो। संकलित रकम बालिकाका बुबा शेरबहादुर बरामलाई काठमाडौँमा हस्तान्तरण गरिएको समूहले जनाएको छ।
विगत चार महिनादेखि बिरामी रहेकी बालिकाको उपचार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा प्रत्यारोपण केन्द्रलगायतका स्वास्थ्य संस्थामा भइरहेको छ। रोगको पहिचान र उपचारका क्रममा पाँचभन्दा बढी अस्पताल धाइसकेको बराम परिवारले हालसम्म डेढ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको जनाएको छ।
सहयोग रकम हेल्प टिमका कोर टिम सदस्य वासुदेव घिमिरेले हस्तान्तरण गरेका हुन्। रकम हस्तान्तरण कार्यक्रममा छोप्राक सरोकार समाजका अध्यक्ष भेषबहादुर खड्का, मण्डली पूर्वविद्यार्थी संघका अध्यक्ष डा.बासुदेव पोखरेल तथा हेल्प टिमका अन्य कोर टिम सदस्यहरूको उपस्थिति रहेको थियो।
हस्तान्तरण गरिएको रकम बालिकाको निरन्तर उपचार, औषधोपचार तथा स्वास्थ्य व्यवस्थापनमा खर्च गरिने बताइएको छ। हेल्प टिमका डा.विष्णु प्रसाद गोतामेका अनुसार चिकित्सकहरूको सल्लाह अनुसार करिब आठ महिनापछि बालिकाको प्रमुख शल्यक्रिया गर्नुपर्ने सम्भावना रहेको छ। त्यसअघि आवश्यक उपचार तथा स्वास्थ्य व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले रकम संकलन गरिएको उनले बताए।
‘हाम्रो एक मात्र उद्देश्य भविष्यका कर्णधार बालबालिकाको जीवन जोगाउनु हो,’ डा.गोतामेले भने, ‘सामूहिक प्रयासबाट सानो सहयोगले पनि ठूलो राहत पुग्न सक्छ भन्ने विश्वासका साथ अभियान सञ्चालन गरिएको हो।’
सहयोग समूह छोप्राकले यसअघि पनि ११ भन्दा बढी सामाजिक तथा मानवीय अभियान सञ्चालन गरिसकेको जनाएको छ। केही समयअघि चट्याङका कारण गोरु गुमाएर समस्यामा परेका एक दलित किसानलाई नयाँ गोरु उपलब्ध गराउनसमेत समूहले सहयोग अभियान सञ्चालन गरेको थियो।
समूहका सदस्य रमेश ढकालले शिक्षा, स्वास्थ्य तथा अन्य अत्यावश्यक आवश्यकता आर्थिक अभावका कारण रोकिन नहुने मान्यताका साथ समूहले सहभागितामूलक, पारदर्शी र उत्तरदायी ढंगले सामाजिक कार्य गर्दै आएको बताए।
अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण दाताप्रति सदस्य सुमन पोखरेलले आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय अभियानमा समुदायको निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गरे।
‘हामी सबै सधैं र सँगै’ भन्ने मूल नाराका साथ सहयोग समूह छोप्राकले आर्थिक तथा अन्य समस्यामा परेका व्यक्ति र परिवारलाई लक्षित गरी विभिन्न सामाजिक तथा मानवीय अभियान सञ्चालन गर्दै आएको छ।




.gif)





.gif)
