सुनसरी । जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर नेपालले गम्भीर रूपमा भोगिरहेको भन्दै जलवायु न्याय र न्यायोचित क्षतिपूर्तिको मागसहित सुनसरीको रामधुनीमा शनिबार प्रदर्शन गरिएको छ ।रामधुनी नगरपालिकाका नागरिक समाज तथा स्थानीय सामाजिक अगुवाको अगुवाइमा आयोजित र्यालीमा विभिन्न सङ्घसंस्था, सामाजिक अभियन्ता तथा विद्यार्थी सहभागी भएका थिए । र्याली रामधुनीको झुम्का बजार क्षेत्र परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।प्रदर्शनमा सहभागीले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको बाढी, डुबान, पहिरो, अनियमित वर्षा तथा तापक्रम वृद्धिलगायतका असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए ।
पछिल्लो समय नेपाल–चीन सीमा क्षेत्रको भोटेकोशी नदीमा आएको भीषण हिमबाढीबाट भएको जनधनको क्षतिलाई समेत जलवायु परिवर्तन तथा वातावरणीय जोखिमसँग जोड्दै प्रभावित समुदायप्रति न्याय हुनुपर्नेमा उनीहरूले जोड दिएका थिए । उनीहरूले ‘हामी जलवायु न्याय चाहन्छौँ’, ‘वातावरण संरक्षण गरौँ’ लगायतका नारा लगाएका थिए ।कार्यक्रमबारे जानकारी दिँदै स्थानीय सुमन पौडेलले जलवायु परिवर्तनको असर स्थानीय समुदायले प्रत्यक्ष रूपमा भोगिरहेको बताए । ‘भोटेकोशीमा आएको भीषण हिमबाढीले पनि जलवायुजन्य विपद्को जोखिम र त्यसबाट हुने क्षतितर्फ गम्भीर हुनुपर्ने सन्देश दिएको छ,’ उनले भने, ‘जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि स्थानीय तहदेखि अन्तर्राष्ट्रिय तहसम्म प्रभावकारी पहल आवश्यक छ र हामीले उचित क्षतिपूर्ति पनि पाउनुपर्छ ।’नेपालजस्ता जलवायु परिवर्तनमा कम योगदान गर्ने मुलुकले बढी क्षति बेहोर्नुपरेको उल्लेख गर्दै पौडेलले प्रभावित समुदायका लागि जलवायु न्याय र न्यायोचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने बताए ।




.gif)



