काठमाडौं, २३ वैशाख । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न भइसकेपछि अब सर्वसाधारणका लागि निष्काशन गरिएको हो।
कम्पनीले कुल जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो। यसमध्ये १२ लाख कित्ता स्थानीय बासिन्दा र ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि वितरण गरिसकिएको छ। साथै, १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोष र ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीहरूलाई छुट्याइएको छ।
अब सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले निष्काशन गरिएको छ, जसको कुल मूल्य २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँ हुन्छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा वैशाख २८ गते र ढिलोमा जेठ ६ गते बन्द हुनेछ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ रहेको यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै २५ वर्ष ४ महिना बाँकी छ।
आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.१७ वर्ष रहेको छ भने डिस्काउन्ट आधारमा लगानी फिर्ता अवधि १८.३७ वर्ष रहेको कम्पनीले जनाएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थामार्फत ‘सी(आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।




.gif)





