images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • जेनजी आन्दोलनका सहिद : ज्याला–मजदुरीदेखि देशका...

जेनजी आन्दोलनका सहिद : ज्याला–मजदुरीदेखि देशका लागि बलिदान

जेनजी आन्दोलनका सहिद : ज्याला–मजदुरीदेखि देशका लागि बलिदान

images
images
शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलास निवासी ९० वर्षीया मानकुमारी राईको अन्तिम आशा यही छ, ‘देशका लागि छोराले गरेको बलिदानीले सबैको राम्रो होस् ।’  कठेरीस्थित आफ्नै सन्तानका आठ–दश घरले भरिएको बस्तीको बिचमा भूकम्प पछिको सरकारी अनुदानमा निर्माण भएको सानो एककोठे घरमा उनको बसोबास छ । १५ सन्तान र ४१ नाति–नातिनाको अभिभावक भए पनि मानकुमारीको जीवन बाँच्ने सहारा भने कान्छा छोरा लच्छुमान नै थिए ।सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, राजनीति र अर्थतन्त्रमा देखिएको असमानता, अन्याय र अपारदर्शिताका विरुद्ध जेनेरेसन–जेड (जेनजी) युवाको आह्वानमा काठमाडौँमा भएको शान्तिपूर्ण प्रदर्शनमा ३९ वर्षीय लच्छुमान राई सहिद भए ।

    images
    images

    आठ छोरा र सात छोरीमध्येका कान्छा लच्छुमानले राष्ट्रका लागि दिएको बलिदानलाई पत्याउन नसकेकी आमाको मनमा अझै पनि छोरा घर फर्कने आशा मरेको छैन । घरमा पुग्ने जो कोहीलाई ‘लच्छु आयो कि !’ भन्ने आशामा मन तानिन्छ । अनि टक्क रोकिएर सम्हाल्न पुग्छिन्, ‘बाबु त देशका लागि बोल्दाबोल्दै कहिल्यै नबोल्ने भइसक्यो ।’गत भदौ २३ मा काठमाडौँमा भएको शान्तिपूर्ण प्रदर्शनमा राज्यबाट गरिएको बर्बर दमनको भोलिपल्ट भदौ २४ गतेको विरोधमा लच्छुमान गम्भीर घाइते भए । टाउकोमा गोली लागेर ढलेका उनलाई कसले ट्रमा सेन्टर पुर्यायो थाहा छैन । अस्पताल पुग्दा उनको होस नै थिएन । अन्तिम बोली कति बेला अवरुद्ध भयो थाहै भएन । त्यही कारण घरपरिवारमा खबर आउन चार दिन लाग्यो ।उनी घाइते भएको अपुष्ट खबर घरमा २७ गते साँझ आयो । भोलिपल्टै अस्पताल पुगेकी आमाले छेदविच्छेद बनेको छोराको अनुहार हेर्न सक्ने अवस्था नै थिएन । च्याप्प खुट्टा समातेर भनिन्, ‘यो त लच्छु हो ।’ सुम्सुमाउँदै छोरालाई अँगाल्न खोजेकी मानकुमारीलाई रोक्दै चिकित्सकले आश्वस्त पार्दै भने, “आमा, तपाईंको छोरालाई केही दिनमा ठीक हुन्छ ।”

    यही आश्वासनका कारण उनले आजसम्म छोराको मृत्युलाई पत्याउन सकेकी छैनन् । छोरा ठीक हुने त्यो ‘केही दिन’ कहिल्यै आएन । अन्ततः असोज १३ गते फूलपातीका दिन लच्छुमानले यो संसार सधैँका लागि छाडे ।साधारण लेखपढ मात्रै गरेका लच्छुमान सानै उमेरदेखि अन्याय र अत्याचारविरुद्ध असाधारण साहसका साथ उभिन्थे । न्याय, समानता र परिवर्तनप्रतिको उनको चेतना गहिरो थियो । घरको कमजोर आर्थिक अवस्था, आम्दानीको स्थायी स्रोतको अभावपछि उनी आठ वर्षअघि राजधानी काठमाडौँ गएका थिए ।उमेरले ९० वर्ष पार तर, नागरिकतामा ८२ वर्ष उल्लेख गरिएको आमा मानकुमारीलाई छोराले काठमाडौँ किन गएको भन्ने प्रश्नको उत्तर कहिल्यै दिएनन् ।सात–सात जना छोराछोरी पछि अर्थात् पन्ध्रौँ सन्तानका रूपमा जन्मिएका लच्छुमान परिवारको सबैभन्दा कान्छा सदस्य थिए । मेलापर्म र ज्याला मजदुरी गरेर घर चलाउँदै आएका लच्छुमान २०७२ सालको भूकम्पको पुनर्निर्माण कार्य सम्पन्नपछि गाउँघरमा गुम्दै गएको रोजगारी र विवाहपश्चात् थपिएको आर्थिक जिम्मेवारीले विदेशको यात्राको तयारीमा थिए ।

    images
    images

    बाध्यताले विदेशको बाटो देखाए पनि मनले पनि मानिरहेको थिएन । दाजुभाइसँगको सल्लाहमा उनले परिवारको उज्ज्वल भविष्य र रोजगारीको खोजीमा श्रीमती र छोरीसहित काठमाडौँ पसेर ज्याला–मजदुरी गर्न थाले ।निर्माण क्षेत्रमा ज्याला मजदुरी गरेर पाउने आम्दानीले घर खर्च चलाउनु उनको बाध्यता थियो । बुबाआमाको दुःखमा हुर्किएका उनले जति गर्नुपर्ने दुःख आफू गरेर हुर्कंदै गरेको आफ्नो छोरी र अनि यो देशका सन्ततिले भने त्यस्तो दुःख कहिल्यै पाउन नपरोस् भन्ने चाहन्थे ।यही सपना पूरा गर्न पारिवारिक जिम्मेवारीको आर्थिक भारले थिचिए पनि अन्यायको विरुद्ध आवाज उठाउन समय मिल्नासाथ उनी यस्तै अवसरको खोजीमा लाग्थे । जेनजी आन्दोलन उनको ती लक्ष्य र सपनाका लागि योगदान गर्ने अवसर बन्यो । परिवर्तनका लागि उनको बलिदानीमा राष्ट्रले गर्व गरेको छ ।दैनिक ज्यालादारीबाट भएको सामान्य आम्दानीले लच्छुमानको दैनिकी त चल्थ्यो तर उनको मनको पीडा भने कहिल्यै स्थिर हुन सकेन । उनका आँखामा सपनाहरू धेरै थिए । त्यसमध्ये ती सपनाको मूल केन्द्रमा श्रीमतीको साथ र छोरीको उज्ज्वल भविष्य थियो ।

    दुर्भाग्यवश, काठमाडौँ पसेको दुई वर्ष नपुग्दै श्रीमती छोरीसहित अर्कैसँग विवाह गरेर गइन् । त्यसपछिका दिनमा पनि लच्छुमानमा छोरीप्रतिको माया भने कहिल्यै कम भएन । वृद्ध आमाको सेवा र पालन पोषणको जिम्मेवारी पूरा गर्दै जीवनलाई नयाँ आशा र परिकल्पनामा अघि बढाउँदै उनले आफ्ना सम्पूर्ण दुःखहरू मौन रूपमा दैनिक ज्याला मजदुरीमा पोख्दै आएका थिए । पीडामाथि संयम र सपनामाथि विश्वास राख्दै जीवन बाँचेका लच्छुमानको जीवन आज परिवर्तनको आन्दोलनमा समर्पित एउटा बलिदान बनेको छ ।वृद्ध आमाले लच्छुमानलाई अर्को विवाहका लागि बारम्बार आग्रह गर्दै आएकी थिइन् । साथीभाइले पनि दबाब दिइरहेका थिए तर उनले ती सबै प्रस्ताव अस्वीकार गर्दै आफू, परिवार र देशमा न्याय र परिवर्तनको पक्षमा अडिग रहने निर्णय लिए । “श्रीमती त गइन्, तर छोरी त मेरो रगत हो,” भन्ने भावनाले भरिएको उनको मनमा छोरीलाई आफैँ हुर्काएर असल मान्छे बनाउने दृढ चाहना थियो । उनको त्यही अधुरो सपना पूरा गर्नुपर्ने जिम्मेवारी आएको छ ।उनको बलिदानीले आम युवाको भावना र देशप्रतिको जिम्मेवारीलाई एक मूर्तरूप दिएको छ । परिवर्तनको पक्षमा उभिएका हजारौँ युवाको आवाजसँगै आन्दोलनबाट गठन भएको वर्तमान सरकार र सचेत युवा पुस्ताको काँधमा अहिले त्यो अधुरो सपना पूरा गर्ने ऐतिहासिक जिम्मेवारी आएको छ ।

    जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नेलाई सरकारले गत कात्तिक १७ मा सहिद घोषणा गर्दै परिवारलाई रु १५ लाख क्षतिपूर्ति दिने निर्णय भएको दुई महिना बित्यो । उनको नाममा परिवारले पाउने क्षतिपूर्ति रकम जिल्ला प्रशासन कार्यालय नुवाकोटको बैङ्क खातामा छ । उक्त रकम निकाल्न श्रीमती र छोरी पहिलो हकदार हुने कानुन छ ।श्रीमती अरूसँग गए पनि क्षतिपूर्ति रकमसहित पाउने अन्य सेवासुविधामा छोरीको हक हुने कानुनी व्यवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइँले जानकारी दिए । उक्त सुविधाका लागि परिवारले छोरीको खोजी गर्न प्रहरीको सहयोगमा पुग्दा लच्छुमानको श्रीमती अर्कैसँग गएको र छोरीलाई पनि अर्कै व्यक्तिलाई बुबा बनाएर जन्मदर्तासहितका कागजात बनाएको बताइएको छ ।सहादत प्राप्त गर्नुअघि झण्डै १९ दिनसम्म लच्छुमान राईको ट्रमा सेन्टरको सघन उपचार कक्ष (आइसियू)मा उपचार भएको थियो, जसको मुख्य खर्च सरकारले व्यहोरेको थियो । तर, अस्पताल बाहिरबाट खरिद गरिएका औषधि, परीक्षणलगायत अन्य व्यवस्थापनको खर्च जुटाउने क्रममा ऋणमाथि ऋण थपिँदै गयो । लच्छुमानका दाजु राजु राईले दुःख पोख्दै भने, “सरकारी उपचार बाहेकका खर्च आफैँ जुटाउनुपर्यो, भाइको उपचारका क्रममा लागेको ऋण अझै तिर्न बाँकी छ ।”

    सामाजिक अभियन्ता आशिका तामाङले अन्त्येष्टिका लागि अभाव भएको खर्च टार्न थप दिएको रु एक लाख नगदले उनीहरुलाई ठूलो राहत मिलेको छ । “सहिद परिवारको एकजना सदस्यले रोजगारी पाउने भन्ने सुनेका छौँ,” लच्छुमानका अर्का दाजु चन्द्रबहादुर भन्छन्, “परिवारका केहीले गाडी चलाएर खर्च पुर्याउँदै आएका छौँ । बाँकी खेती किसानी र ज्यालामजदुरी गर्छौं । जानेको सीप केही छैन । पढाइ कसैको छैन । राज्यले जे गरिदिए पनि हाम्रो लागि त्यो नै राम्रो हुनेछ ।”देशमा जेनजी युवाहरुको बलिदानीबाट सुरु भएको परिवर्तनका थुप्रै आयाममध्ये आगामी फागुन २१ गतेको आमनिर्वाचन पनि एक महत्वपूर्ण हो । तर चुनावी माहोलले सहिद लच्छुमानको परिवारलाई भने छोएको छैन । उनको वृद्ध आमा, दाजुभाइहरु अहिले पनि कमजोर आर्थिक अवस्थाबिच जीवन गुजारिरहेका छन् । साहुबाट लिएको ऋण र त्यसको ब्याजको भारी बोकेर बस्नुपरेको छ ।

    खानेपानीको चरम अभाव छ । सडक सुविधा छैन । बालबच्चालाई विद्यालय पठाउनु त परै जाओस्, जीविकोपार्जनका लागि उनीहरूलाई समेत ज्यालामजदुरीमा लगाउनुपर्ने बाध्यता रहेको लच्छुमानका दाजु चन्द्रबहादुर राईले गुनासो गरे । उनले भने, “आफ्नो जग्गाको खेतीको आम्दानीले तीन महिना पनि पुग्दैन । बाँकी समय ज्यालामजदुरी गरेर बाँच्नुपरेको छ ।” अबको निर्वाचनका उम्मेदवारले आफ्ना कुरा बुझ्छन् कि भन्ने आशा उनीहरुको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend