images

२०८३ मंसिर १२ गते

images
images
images
  • विश्व
  • युक्रेनलाई नेटोको धारा ५ सरह सुरक्षा...

युक्रेनलाई नेटोको धारा ५ सरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुन सक्ने अमेरिकी दूतको दाबी

युक्रेनलाई नेटोको धारा ५ सरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुन सक्ने अमेरिकी दूतको दाबी

images
images
शुक्रवार, मंसिर ४ २०८३
शुक्रवार, मंसिर ४ २०८३
  • बर्लिन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनरले युद्ध अन्त्यपछि युक्रेनलाई नेटोको धारा ५ सरहको सुरक्षा ग्यारेन्टी दिने प्रस्तावमा रुस सहमत हुन सक्ने विश्वास व्यक्त गरेका छन् ।बर्लिनमा बिहीबार करिब ४० युरोपेली नेताहरूसँग भएको छलफलमा कुशनरले रुसी पक्षलाई यस्तो सुरक्षा व्यवस्थाप्रति सहज बनाइएको बताए । उनीसँगै उपस्थित अर्का अमेरिकी विशेष दूत स्टिभ विटकफले पनि चीनमा राष्ट्रपति ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको छलफलका विषयमा युरोपेली नेताहरूलाई जानकारी गराए ।कुशनरका अनुसार राष्ट्रपति ट्रम्प युक्रेनलाई नेटोको धारा ५ सरहको सुरक्षा ग्यारेन्टी दिन सकारात्मक छन्। तर, यस्तो व्यवस्था अमेरिकी हितअनुकूल र व्यापक सुरक्षा प्याकेजको हिस्सा हुनुपर्ने उनको भनाइ छ । कुनै पनि सम्झौता युक्रेन र युरोपसँगको परामर्शमा मात्रै गरिने उनले स्पष्ट पारे ।

    images
    images

    युक्रेनले भविष्यमा रुसी आक्रमण हुन नदिन भरपर्दो सुरक्षा व्यवस्था माग्दै आएको छ भने रुसले नेटोको सैन्य प्रभाव आफ्नो सीमाबाट टाढा राख्न चाहेको छ । नेटोको धारा ५ अनुसार कुनै सदस्य राष्ट्रमाथि भएको आक्रमणलाई सबै सदस्य राष्ट्रमाथिको आक्रमण मानिन्छ । यद्यपि, प्रस्तावित सुरक्षा ग्यारेन्टीको स्वरूप र त्यसमा रुस तथा युक्रेनको सहमति हुने विषय अझै स्पष्ट भएको छैन ।यसैबीच, युक्रेनले क्रिमियालाई रुसी मुख्य भूमिसँग जोड्ने १९ किलोमिटर लामो केर्च पुलमा गरेको आक्रमणले युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयासलाई थप चुनौती दिएको छ । आक्रमणबाट पुलको सडक खण्डमा गम्भीर क्षति पुगेको पुटिनले बताए । उनले चीनको सेन्जेनमा पत्रकारहरूसँग कुरा गर्दै आक्रमणको जवाफ दिने चेतावनी दिए ।

    रुसले सन् २०१४ मा कब्जा गरेको क्रिमियामाथिको नियन्त्रणको प्रतीक मानिने उक्त पुल रुसी सेनाको आपूर्तिका लागि पनि महत्त्वपूर्ण मार्ग हो । आक्रमणपछि रातभर रोकिएको रेल सेवा बिहीबार दिउँसो पुनः सञ्चालन गरिएको रुसी समाचार संस्था आरआइए नोभोस्तीले जनाएको छ । युक्रेनको रक्षा मन्त्रालयले आक्रमणले रुसी सेनाको इन्धन र गोलाबारुद आपूर्तिमा अवरोध पुर्‍याउने जनाएको छ ।रुसी रक्षा मन्त्रालयका अनुसार बिहीबार राति देशका १० क्षेत्रमा ५३ युक्रेनी ड्रोन खसालिएका थिए । साराटोभ क्षेत्रमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको र दुई जना घाइते भएको स्थानीय गभर्नर रोमन बुसार्गिनले बताए । ब्रायन्स्क क्षेत्रमा आठ वर्षीय नातिसँग साइकलमा रहेकी एक महिलाको पनि ड्रोन आक्रमणमा मृत्यु भएको छ ।युक्रेनी अधिकारीहरूका अनुसार रुसले एन्टी–शिप क्षेप्यास्त्र र ९८ ड्रोन प्रहार गर्दा १८ स्थानमा आक्रमण भएको थियो । रुसी आक्रमणबाट युक्रेनका १२ क्षेत्रमा क्षति पुग्नुका साथै दुई जनाको मृत्यु र कम्तीमा २३ जना घाइते भएका छन् । किएभस्थित नेदरल्यान्ड्स र अस्ट्रियाका दूतावासमा समेत सामान्य क्षति पुगेको बताइएको छ ।

    images
    images

    रुसले सैनिक तथा सैन्य स्रोतसाधनको सङ्ख्यात्मक क्षमताका आधारमा युक्रेनलाई कमजोर पार्ने रणनीति अपनाएको छ । तर, युक्रेनले ड्रोनको प्रयोगबाट रुसी सेनाको अग्रगमन रोक्दै आएको छ । रुसले जाडोयामअघि युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र बनाएको छ भने युक्रेनले लामो दूरीका ड्रोन र क्षेप्यास्त्रबाट रुसी तेल प्रशोधन केन्द्रलगायतका लक्ष्यमा प्रहार गरिरहेको छ ।चीनमा पुटिनसँगको भेटमा ट्रम्पले उहाँलाई ‘मित्र’ सम्बोधन गर्नुभएको थियो । यसले युक्रेनका युरोपेली सहयोगीहरूमा चिन्ता बढाएको छ । ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीचको सम्बन्धसमेत पछिल्लो समय कमजोर बनेको छ । युरोपेली नेताहरूले ट्रम्प र पुटिनबीचको प्रत्यक्ष वार्ताले आफूहरूलाई निर्णय प्रक्रियाबाट बाहिर पार्न सक्ने आशङ्का गरेका छन् ।कुशनरले भने ट्रम्पले पुटिन र सी जिनपिङ दुवैलाई शान्तिका लागि स्पष्ट सन्देश दिएको बताए । पुटिनले पनि युक्रेन युद्धसम्बन्धी वार्तामा युरोपेली सहभागिताको विरोध नगरेको तर युरोपले कस्तो भूमिका निर्वाह गर्न चाहन्छ भन्ने स्पष्ट हुनुपर्ने बताए । क्रेमलिनले युरोपेली अधिकारीहरूलाई आफ्नो धारणा प्रस्तुत गर्न मस्को आउन प्रस्ताव गरेको भए पनि भ्रमणको मिति तय भएको छैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend