काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई इरानसँग कुनै पनि सम्झौता गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् ।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत धारणा सार्वजनिक गर्दै ट्रम्पले अमेरिकासँग इरानको पैसा र हर्मुज जलमार्गसमेत रहेको दाबी गरेका छन् ।
‘हामीलाई इरानसँग कुनै सम्झौताको आवश्यकता छैन । त्यस्ता दिन धेरै पहिले नै बितिसकेका छन्,’ ट्रम्पले लेखेका छन् ।
यसैबीच, ट्रम्पले उपराष्ट्रपति जेडी भेन्सलाई डेमोक्रेटिक पार्टीको नेतृत्व रहेका राज्यहरूमा कथित भ्रष्टाचारमाथि निगरानी बढाउन निर्देशन दिएको बताएका छन्।
उनले मिनेसोटा, क्यालिफोर्निया र इलिनोइस राज्यका प्रशासनमाथि भ्रष्टाचार र कमजोर व्यवस्थापनको आरोप लगाउँदै ती राज्यबाट हरेक महिना अर्बौँ डलर चोरी भइरहेको दाबी गरेका छन् ।
ट्रम्पले डेमोक्रेटिक नेताहरूलाई लक्षित गर्दै भ्रष्टाचार अन्त्य गर्न चाहने हो भने आफ्नै राज्यबाट छानबिन सुरु गर्नुपर्ने बताएका छन् ।
उनका अनुसार राज्यहरूमा हुने भनिएका आर्थिक अनियमितता नियन्त्रण गर्न सके अमेरिकी बजेट सन्तुलनमा ल्याउन सहज हुनेछ ।
ट्रम्पका यी अभिव्यक्ति अमेरिका–इरान सम्बन्ध, हर्मुज जलमार्गको रणनीतिक महत्त्व र अमेरिकी आन्तरिक राजनीतिक विवादसँग जोडिएका छन् । यद्यपि, राज्यहरूबाट अर्बौँ डलर चोरी भइरहेको भन्ने आरोपलाई स्वतन्त्र रूपमा पुष्टि गर्ने प्रमाण प्रस्तुत गरिएको छैन ।




.gif)





