अन्ताल्या (टर्किए), २६ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सङ्कट विश्वको तयारी तथा प्रतिकार्य क्षमताभन्दा तीव्र गतिमा बढिरहेको भन्दै हरितगृह ग्यास उत्सर्जन कटौती र जलवायु कार्यलाई तत्काल तीव्रता दिन विश्व नेताहरूलाई आग्रह गरेका छन्।
टर्किएको अन्ताल्यामा आयोजित कोप–३१ नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै गुटेरेसले सन् २०२५ मा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन अहिलेसम्मकै उच्च विन्दुमा पुगेको र पछिल्ला चार वर्ष विश्वकै सबैभन्दा ताता वर्ष बनेको बताएका हुन्।
उनले जीवाश्म इन्धनबाट केही कम्पनी तथा स्वार्थ समूहले ठूलो नाफा कमाइरहेको तर त्यसको मूल्य विश्वले जलवायु सङ्कट, वातावरणीय विनाश र आर्थिक क्षतिका रूपमा चुकाउनुपरेको उल्लेख गरे।
गुटेरेसका अनुसार हालका राष्ट्रिय जलवायु योजनाले आवश्यक उत्सर्जन कटौतीको बढीमा एक तिहाइ मात्र सुनिश्चित गर्ने देखिएको छ। ती योजना पूर्ण रूपमा कार्यान्वयन भए पनि यस शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि २।५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिम छ।
उनले सन् २०१५ को पेरिस जलवायु सम्झौताले निर्धारण गरेको १.५ डिग्री सेल्सियसको लक्ष्य अस्थायी रूपमा नाघ्ने अवस्था देखिए पनि त्यसलाई स्थायी बन्न नदिन अझै प्रयास गर्न सकिने बताए।
स्वच्छ ऊर्जाको विस्तारलाई अवसरका रूपमा व्याख्या गर्दै उनले सौर्य ऊर्जाले गत वर्ष विश्वव्यापी विद्युत् मागमा भएको वृद्धिको झण्डै तीन चौथाइ हिस्सा पूरा गरेको र विद्युतीय सवारीसाधनको प्रयोग पनि तीव्र रूपमा बढिरहेको उल्लेख गरे।
उनले सन् २०३५ सम्म नवीकरणीय ऊर्जा उत्पादन क्षमता सन् २०२५ को तुलनामा कम्तीमा तीन गुणाले बढाउन तथा कार्बन उत्सर्जन नियन्त्रण नगरिएको कोइलामा आधारित विद्युत् उत्पादन ७५ प्रतिशतले घटाउन आह्वान गरे। साथै, नयाँ कोइला परियोजना तथा जलवायु लक्ष्यमा बाधक बन्ने तेल र ग्यास पूर्वाधार निर्माण रोक्नुपर्नेमा जोड दिए।
विकासशील देशलाई जलवायु वित्तको आवश्यकता
महासचिव गुटेरेसले जलवायु सङ्कटको सबैभन्दा ठूलो चुनौतीमध्ये एक जलवायु न्याय रहेको उल्लेख गर्दै विकासशील देशलाई पर्याप्त वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने बताए।
उनका अनुसार चीनबाहेकका उदीयमान तथा विकासशील अर्थतन्त्रमा विश्वको झण्डै दुई तिहाइ जनसङ्ख्या बसोबास गरे पनि ती देशले विश्वव्यापी स्वच्छ ऊर्जा लगानीको पाँच भागको एक भागभन्दा कम मात्र प्राप्त गरिरहेका छन्।
उनले विकसित देशलाई सन् २०३५ सम्म वार्षिक कम्तीमा ३०० अर्ब अमेरिकी डलर जलवायु वित्त उपलब्ध गराउन नेतृत्व गर्न आग्रह गरे। साथै, सोही अवधिसम्म अनुकूलन वित्त कम्तीमा तीन गुणाले वृद्धि गर्नुपर्ने बताए।
गुटेरेसले जलवायु न्यायका लागि जीवाश्म इन्धनबाट न्यायपूर्ण सङ्क्रमण, जलवायु प्रभावबाट समुदायको संरक्षण, पर्याप्त तथा सुलभ जलवायु वित्त र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिनुपर्ने चार प्रमुख आधार प्रस्तुत गरे।
उनले जीवाश्म इन्धन कम्पनीले कमाएको अप्रत्याशित नाफामा कर लगाएर जलवायु सङ्कटबाट प्रभावित देशको पुनरुत्थानमा खर्च गर्नुपर्ने धारणा राखे।
जलवायु कार्यलाई सम्झौतामा सीमित नराखी वास्तविक कार्यान्वयनमा लैजानुपर्ने उल्लेख गर्दै उनले नवीकरणीय ऊर्जा, विद्युत् प्रसारण सञ्जाल, ऊर्जा भण्डारण, मिथेन उत्सर्जन नियन्त्रण तथा पूर्वचेतावनी प्रणालीमा लगानी बढाउन विश्व समुदायलाई आग्रह गरे।
गुटेरेसले जलवायु सङ्कटविरुद्धको लडाइँ दिगो विकास, शान्ति, सुरक्षा र मानव मर्यादासँग जोडिएको विषय भएको बताउँदै स्वच्छ अर्थतन्त्र र न्यायपूर्ण समाज निर्माणका लागि सबै देशबीच सहकार्य आवश्यक रहेको स्पष्ट पारे।




.gif)





