म्याग्दी, १८ कात्तिक । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन सुरु गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएको भूगर्भविद्सहितको टोलीले पहिरोले क्षति पुर्याएका र जोखिममा रहेका बस्तीको स्थलगत अध्ययन गरेको हो।
भूगर्भविद् सुमन पाण्डे र सन्देश रेग्मीसहितको टोलीले मंगलबार फर्से, किराखोर, खानीगाउँ र ताङवाङ क्षेत्रका पहिरोको अध्ययन गरेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिएका छन्।
उहाँका अनुसार बुधबार केराबारी, पुलचोक र भेडाबारी क्षेत्रको समेत अध्ययन गरिनेछ। विपद्बाट क्षति पुगेका बस्तीमा थप जोखिमको अवस्था पहिचान गर्न गाउँपालिकाको अनुरोध र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा प्राधिकरणले भूगर्भविद्को टोली पठाएको हो।
टोलीले प्रभावित तथा जोखिममा रहेका बस्तीको स्थलगत निरीक्षण, ढुङ्गा र माटोका नमुना सङ्कलन, ड्रोन क्यामेराबाट तस्बिर तथा श्रव्यदृश्य सामग्री सङ्कलन गर्नुका साथै स्थानीय प्रभावितसँग छलफल गरेको छ। भौगर्भिक अध्ययन प्रतिवेदनले दिएको सुझावका आधारमा पुनर्निर्माणको काम अघि बढाइने उपाध्यक्ष आचार्यले बताएका छन्।
गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण जलजला गाउँपालिकामा ३१६ घरमा क्षति पुगेको छ। गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार प्रारम्भिक विवरणमा १२६ घर पूर्ण र ५० घरमा आंशिक क्षति पुगेको छ भने १४० घर जोखिममा रहेका छन्।
बाढीपहिरोले निजी आवाससँगै कोदो, धानलगायत खाद्यबाली, सुन्तलाखेती भएको जमिन, सडक, खानेपानी, सिँचाइ तथा बस्ती संरक्षणका पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ।
सबैभन्दा बढी प्रभावित जलजला गाउँपालिका–८ को फर्सेमा ७५ घर बगाएको र थप २७ घर जोखिममा रहेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो। घरबारविहीन भएका तथा आफैँ व्यवस्थापन गर्न नसक्ने प्रभावितलाई अस्थायी शिविर निर्माण गरी राखिएको छ।
त्यस्तै, वडा नं.७ का ताङवाङ र खानीगाउँ पनि बाढीपहिरोबाट प्रभावित भएका छन्। वडा नं.४ को लामाखेतमा समेत कालीगण्डकीको बाढी पस्दा क्षति पुगेको छ। पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएका छन्।
प्रभावित क्षेत्रमा आधारभूत राहत सामग्रीको व्यवस्था गर्नुका साथै अल्पकालीन तथा दीर्घकालीन पुनःस्थापनाका लागि कार्ययोजना अघि बढाइएको गाउँपालिकाले जनाएको छ।




.gif)





