कञ्चनपुर । श्रीमान् गुमाएपछि आत्मनिर्भर बन्ने अठोटका साथ च्याउ खेती सुरु गरेकी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँकी पार्वती थापा अहिले व्यावसायिक कृषकका रूपमा स्थापित भएकी छन्। सामान्य जानकारीका आधारमा सुरु गरेको च्याउ खेतीलाई विस्तार गर्दै उनले हाल पाँचवटा फार्म सञ्चालन गरिरहेकी छन्।
विसं २०६९ मा श्रीमान् गुमाएपछि आर्थिक रूपमा आत्मनिर्भर बन्नुपर्ने बाध्यताले उनलाई उद्यमशीलतातर्फ डोर्याएको थियो। सात वर्षअघि च्याउ खेती सुरु गरेकी उनले अहिले वर्षभरि च्याउ उत्पादन गर्दै आएकी छन्।
“श्रीमान् बितेपछि केही गर्न पनि अरूसँग पैसा माग्नुपर्ने अवस्था आयो। अरूले पैसा छैन भन्दा नराम्रो लाग्थ्यो,” विगत सम्झँदै उनले भनिन्, “अरूलाई पैसा माग्नुभन्दा आफैँ केही गरेर आत्मनिर्भर बन्ने सोच आयो।”
आत्मनिर्भर बन्न केही न केही व्यवसाय गर्नुपर्छ भन्ने सोचिरहेका बेला आफन्तबाट च्याउ प्राप्त भएपछि उनले च्याउ खेती गर्ने विचार गरिन्। तर सुरुआतमा च्याउको बीउ कहाँ पाइन्छ र खेती कसरी गर्ने भन्ने सामान्य जानकारीसमेत उनीसँग थिएन।
पछि कृषि विज्ञान अध्ययन गरिरहेका छोराले च्याउ खेतीसम्बन्धी पुस्तक उपलब्ध गराएपछि उनले पुस्तक पढेरै खेती गर्ने प्रयास गरिन्। तर व्यावहारिक ज्ञानको अभावमा सुरुमा राखेका पाँचवटा च्याउका पोका नै नष्ट भए।
“आफैँले गरेजस्तो किताब पढेर मात्र नहुँदो रहेछ,” उनले भनिन्, “सुरुआतमा पाँचवटा पोका च्याउ राखेकी थिएँ, कसरी राख्ने भन्ने ज्ञान नहुँदा सबै खेर गए।”
त्यसपछि उनले कृषि ज्ञान केन्द्र र च्याउ खेती गरिरहेका अन्य किसानसँग प्रत्यक्ष रूपमा सीप सिकिन्। किसानका फार्ममा पुगेर पराल काट्ने, उमाल्ने, च्याउको बीउ राख्ने तथा उत्पादन गर्ने विधिबारे जानकारी लिएपछि खेतीबाट राम्रो उत्पादन हुन थालेको उनले बताइन्।
च्याउ खेतीबाट आम्दानी हुन थालेपछि उनले हरेक वर्षको नाफा पुनः व्यवसाय विस्तारमा लगानी गर्दै आएकी छन्। हाल खेतीमा भएको लगानी कटाएर करिब ५० प्रतिशतसम्म नाफा हुने गरेको उनको भनाइ छ।
उनका अनुसार वार्षिक करिब एक हजार ५०० केजी च्याउ बिक्रीबाट दुई लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। यही आम्दानीबाट घरखर्च तथा दुई छोराको पढाइ खर्च व्यवस्थापन हुँदै आएको छ।
“अहिलेसम्म च्याउ खेतीमा छुट्टै पैसा लगानी गरेकी छैन। बिक्रीबाट आएको नाफाबाटै थप खेती विस्तार गर्दै आएकी छु,” उनले भनिन्।
सुरुआती दिनमा बाँसको टहरा बनाएर च्याउ खेती गर्दा हरेक वर्ष हावाहुरीका कारण छाना उड्ने समस्या भोग्नुपरेको उनले सुनाइन्। कृषि ज्ञान केन्द्रबाट च्याउ खेतीसम्बन्धी कार्यक्रम सञ्चालन हुने जानकारी पाएपछि निवेदन दिएकी उनलाई आवश्यक सहयोगसमेत प्राप्त भयो। त्यसपछि व्यवसायलाई व्यवस्थित रूपमा अगाडि बढाउन सहज भएको उनको भनाइ छ।
हाल उनले मौसमअनुसार कन्ने र मिल्की च्याउ उत्पादन गर्दै आएकी छन्। यसै वर्षदेखि डल्ले च्याउ उत्पादन गर्ने तयारीसमेत गरेकी छन्। कृषि विज्ञान अध्ययन गरिरहेका छोराले पनि खेतीमा सहयोग गर्दै आएका छन्।
तर उत्पादन बढाउने सम्भावना हुँदाहुँदै पनि बजार व्यवस्थापन र उचित मूल्यको अभावले व्यवसाय विस्तारमा चुनौती थपिएको थापा बताउँछिन्। बाहिरी जिल्लाबाट सस्तो मूल्यमा च्याउ आउने हुँदा स्थानीय स्तरमा उत्पादन गरिएको च्याउ बिक्री गर्न समस्या हुने गरेको उनको भनाइ छ।
“धेरै उत्पादन बढाउने सोच थियो। यहाँ बाहिरी जिल्लाबाट आउने च्याउ सस्तो हुन्छ, हामीले मेहनत गरेर उत्पादन गरेको च्याउले उचित मूल्य पाउँदैन,” उनले भनिन्, “स्थानीय सरकारले स्थानीय उत्पादनलाई प्रवर्द्धन गरेर सहयोग गर्नुपर्छ।”
आफ्नै मेहनत र निरन्तर प्रयासबाट पाँचवटा फार्मसम्म विस्तार गर्न सफल पार्वती अहिले स्थानीय स्तरमा महिला उद्यमशीलताको उदाहरण बनेकी छन्। तर उनको अनुभवले कृषि उद्यमको सफलताका लागि उत्पादनसँगै बजार सुनिश्चितता र स्थानीय उत्पादनको प्रवर्द्धन पनि उत्तिकै आवश्यक रहेको देखाएको छ।




.gif)





