काठमाडौं । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक सुरु भएको छ। सरकारको कार्यशैली, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथि भइरहेको प्रहारलगायत विषयमा छलफल गर्न कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको हो।
बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे, राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त र प्रमुख सचेतक बासना थापाको सहभागिता रहेको छ।
त्यस्तै, नेकपा एमालेका तर्फबाट संसदीय दलका उपनेता पद्मा अर्याल सहभागी छन्। नेपाली कम्युनिस्ट पार्टीबाट परम हमाल, वर्षमान पुन र युवराज दुलाल सहभागी भएका छन्।
यसैगरी, जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की खुश्बु ओलीलगायत नेताहरू पनि बैठकमा सहभागी छन्।
सरकारको स्वेच्छाचारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था र संविधानको कार्यान्वयनसँग सम्बन्धित विषयमा विपक्षी दलहरूले साझा धारणा बनाउने उद्देश्यले बैठक आयोजना गरिएको बताइएको छ।




.gif)





