images

२०८३ कार्तिक २९ गते

images
images
images

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

images
images
शुक्रवार, कार्तिक १३ २०८३
शुक्रवार, कार्तिक १३ २०८३
  • सुनसरी, १३ कात्तिकः तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन् ।

    images
    images

    विगत पाँच वर्षदेखि तिहारलाई लक्षित गरेर फूलखेती गर्दै आएका विष्टले यस वर्ष ‘टेबल टेनिस’ जातको सयपत्री फूल लगाएका छन् ।

    गत वर्ष काठमाडौँबाट ल्याइएको बिरुवा अग्लो हुने र फूल कम फुल्ने समस्या देखिएकाले यसपटक बुटवलस्थित एग्रो कम्पनीबाट बिरुवा ल्याएर खेती गरिएको उनले बताएका छन्। बिरुवाको जात र खेती गर्ने तरिका परिवर्तन गरेकाले यस वर्ष उत्पादन राम्रो भएको उनको भनाइ छ ।

    images
    images

    गत वर्ष १० कट्ठाभन्दा बढी जग्गामा फूलखेती गरेको तर वर्षाका कारण ठूलो नोक्सानी व्यहोर्नुपरेको उनले बताएका छन् । थोरै फूलमात्रै जोगिए पनि बजारमा मूल्य राम्रो पाएकाले तिहारमा करिब रु दुई लाखभन्दा बढीको फूल बिक्री गरेको उनले जानकारी दिएका छन् । 

    “यस वर्ष गत वर्षको तुलनामा फूलको उत्पादन राम्रो भएको छ । तर तिहार नजिकिँदै गर्दा मौसममा परिवर्तन भइरहेकाले वर्षा र तीव्र हुरीबतासले पुनः खेतीमा क्षति पुर्याउने हो कि भन्ने चिन्ता छ”, विष्टले भने । 

    यसपटक तिहार केही ढिला भएकाले फूलको माग तथा बिक्रीमा असर पर्न सक्ने उनको अनुमान छ । यस वर्ष फूल प्रतिकिलो रु ४०० देखि रु ५०० सम्ममा बिक्री भइरहेको उनले जानकारी दिएका छन् ।

    विष्टले खेतबाटै स्थानीय उपभोक्तालाई फूल बिक्री गर्दै आएका छन् । बराहक्षेत्र नगरपालिका–६, ७ र ८ का स्थानीय बासिन्दा फूल किन्न खेतमै आउने गरेका छन् । खेतबाटै फूल खरिद गर्ने ग्राहकलाई बजारको तुलनामा प्रतिकिलो रु २० सम्म सस्तो मूल्यमा बिक्री गर्ने गरेको उनले बताएका छन् । धरान र इटहरीबाट समेत ग्राहक फूल खरिद गर्न खेतमा आउने गरेको उनको भनाइ छ ।

    भारतबाट आयात हुने फूलको समयमै क्वारेन्टाइन जाँच गरी गुणस्तर परीक्षणमा कडाइ गर्नुपर्ने विष्टको भनाइ छ । भारतमा उत्पादन भएका फूल नेपालका दमक, धरान र विराटनगरलगायतका स्थानमा रहेका शीतभण्डारमा करिब १५ दिन अगाडिदेखि नै ल्याएर भण्डारण गरी राख्ने र पछि नेपाली बजारमा पठाउने गरिएकाले आयातित फूल बजारमा आउँदा स्वदेशी किसानले उत्पादनको उचित मूल्य पाउन समस्या हुने गरेको उनको भनाइ छ ।

    आयातित फूलको नियमन प्रभावकारी भए स्वदेशी किसानले उचित बजार पाउने विष्टको विश्वास छ । स्वदेशी फूलको प्रयोग बढेमा नेपाली किसानलाई प्रोत्साहन मिल्नुका साथै देशभित्रै रोजगारी र आयआर्जनका अवसर सृजना हुने साथै बेरोजगार युवालाई व्यावसायिक फूलखेतीतर्फ आकर्षित गर्न सकिने उनले बताएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend