काठमाडौं, १२ कात्तिक । अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्घ (आईएफआरसी) का महासचिव जगन चापागाईं विश्वव्यापी मानवीय सहायता सुधारसम्बन्धी पहल ‘ग्रान्ड बार्गेन’को ग्लोबल एम्बेसडरमा सर्वसम्मत चयन भएका छन्।
स्वीट्जरल्यान्डको जेनेभामा हालै सम्पन्न ‘ग्रान्ड बार्गेन–२०२६’ को वार्षिक सम्मेलनले चापागाईंलाई आगामी दुई वर्षका लागि ग्लोबल एम्बेसडर नियुक्त गरेको हो। यससँगै उनी उक्त जिम्मेवारीमा पुग्ने पहिलो नेपाली बनेका छन्।
यसअघि सन् २०२३ देखि २०२६ सम्म यो जिम्मेवारी मलेसियाकी डा। जेमिला महमुद, स्वीट्जरल्यान्डका म्यानुएल बेस्लर र युरोपेली सङ्घका माइकल कोहलरले सामूहिक रूपमा सम्हालेका थिए।
चापागाईं सन् २०२० मा पहिलो पटक आईएफआरसीको महासचिव बनेका थिए। हाल उनी दोस्रो कार्यकालमा कार्यरत छन्। ग्लोबल एम्बेसडरको नयाँ जिम्मेवारीले अन्तर्राष्ट्रिय मानवीय सहायता प्रणाली सुधार, स्थानीय नेतृत्वको प्रवर्द्धन र स्रोतको न्यायोचित वितरणका विषयमा उनको भूमिका थप विस्तार गर्ने अपेक्षा गरिएको छ।
मानवीय सहायता प्रणाली सुधारमा जोड
ग्लोबल एम्बेसडरमा चयन भएपछि चापागाईंले सरकार, दातृ निकाय, संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, रेडक्रस तथा रेडक्रिसेन्ट र स्थानीय एवं राष्ट्रिय मानवीय संस्थाबीच सहकार्य तथा साझा प्रतिबद्धता बलियो बनाउन भूमिका निर्वाह गर्ने बताएका छन्।
उनले यो जिम्मेवारी आईएफआरसीको महासचिवको भूमिकाभन्दा अलग रहेर ‘ग्रान्ड बार्गेन’ समुदायका तर्फबाट निष्पक्ष रूपमा निर्वाह गर्ने स्पष्ट पारेका छन्।
चापागाईंको प्रमुख जिम्मेवारीमा मानवीय सहायता सुधारका विषयलाई उच्च राजनीतिक तहसम्म पुर्याउने, स्थानीय तथा राष्ट्रिय संस्थाको आवाज विश्वव्यापी निर्णय प्रक्रियामा समेट्न पैरवी गर्ने र यसअघि गरिएका प्रतिबद्धताको कार्यान्वयनमा जोड दिने विषय समेटिएका छन्।
उनले नयाँ रणनीति र थप प्रतिबद्धता घोषणा गर्नुभन्दा पहिले नै गरिएका प्रतिबद्धता व्यवहारमा लागू भए–नभएको सुनिश्चित गर्नु प्राथमिकता हुने बताएका छन्।
चापागाईंका अनुसार स्थानीय समुदाय र अग्रपङ्क्तिमा काम गरिरहेका संस्थाका अनुभव तथा आवश्यकतालाई विश्वव्यापी नीति निर्माण प्रक्रियासम्म पुर्याउनु आवश्यक छ। मानवीय सहायता प्रभावकारी भए–नभएको मूल्याङ्कन बैठकमा गरिएका प्रतिबद्धताका आधारमा मात्र नभई प्रभावित मानिसको दैनिक जीवनमा आएको परिवर्तनका आधारमा गरिनुपर्ने उनको भनाइ छ।
के हो ‘ग्रान्ड बार्गेन’?
‘ग्रान्ड बार्गेन’ सन् २०१६ मा सम्पन्न विश्व मानवीय सहायता शिखर सम्मेलनपछि सुरु गरिएको विश्वव्यापी मानवीय सहायता सुधार पहल हो। यसको उद्देश्य सहायता वितरणलाई प्रभावकारी, पारदर्शी, जवाफदेही र स्थानीय आवश्यकतामा आधारित बनाउनु हो।
यस पहलले दाता तथा मानवीय सहायता प्रदान गर्ने संस्थाको प्रशासनिक खर्च घटाउँदै उपलब्ध स्रोतको ठूलो हिस्सा प्रत्यक्ष रूपमा सङ्कटबाट प्रभावित समुदायसम्म पुर्याउने लक्ष्य राखेको छ।
यसअन्तर्गत दाता, संयुक्त राष्ट्रसङ्घीय निकाय, अन्तर्राष्ट्रिय संस्था तथा स्थानीय र राष्ट्रिय मानवीय संस्थाबीचको सहकार्य सुधार गर्ने, स्थानीय संस्थाको नेतृत्व बढाउने र सहायता वितरणमा समान साझेदारी स्थापित गर्ने विषयलाई प्राथमिकता दिइएको छ।
‘ग्रान्ड बार्गेन’ अब नयाँ चरणमा प्रवेश गर्ने तयारीमा छ। सन् २०२७ जनवरीदेखि यो ‘कलेक्टिभ एक्सन प्लेटफर्म फर द ग्रान्ड बार्गेन’ (सीएपी–जीबी) का रूपमा अघि बढ्ने जनाइएको छ। नयाँ संरचनाले गुणस्तरीय वित्तीय सहयोग, स्थानीयकरण र समान साझेदारीमा जोड दिनेछ। प्रभावित समुदायप्रतिको जवाफदेहिता तथा लैङ्गिक समानतालाई पनि महत्त्वपूर्ण विषयका रूपमा समेटिएको छ।
ग्लोबल एम्बेसडरका रूपमा चापागाईंले स्थानीय समुदायका आवश्यकता र अनुभवलाई विश्वव्यापी निर्णय प्रक्रियामा स्थापित गर्न तथा मानवीय सहायता प्रणालीलाई थप प्रभावकारी बनाउन पैरवी गर्नेछन्। रासस




.gif)





