काठमाडौं । नेपाल टेलिकमको डाटा प्याक सकिएपछि मुख्य ब्यालेन्सबाट इन्टरनेट शुल्क कटौती हुने समस्याबारे हेलो सरकारमा परेको गुनासो सम्बोधन भएको छ ।
नेपाल टेलिकमको डाटा प्याक प्रयोग गर्ने क्रममा प्याकेजको डाटा समाप्त भएपछि पूर्वजानकारीबिना मुख्य ब्यालेन्सबाट रकम कटौती हुने समस्या भोगेपछि एक सेवाग्राहीले हेलो सरकारमा गुनासो दर्ता गराएका थिए ।
हेलो सरकारको समन्वयमा नेपाल दूरसञ्चार प्राधिकरणले उक्त समस्याबारे स्पष्ट पार्दै Pay-As-You-Go (PAYG) सेवा सक्रिय रहेको अवस्थामा डाटा प्याक सकिएपछि मुख्य ब्यालेन्सबाट इन्टरनेट शुल्क कटौती हुने जानकारी दिएको छ । उक्त सेवा बन्द गरेमा भने डाटा प्याक सकिएपछि मुख्य ब्यालेन्सबाट रकम नकाटिने प्राधिकरणले जनाएको छ ।
यसका लागि सेवाग्राहीले आफ्नो मोबाइलबाट *444# डायल गरी प्राप्त निर्देशनअनुसार PAYG सेवा सुचारु वा बन्द गर्न सक्नेछन् ।
हेलो सरकारले सेवाग्राहीको गुनासो सम्बोधन गर्दै ग्राहकप्रति जिम्मेवार भूमिका निर्वाह गरेकोमा नेपाल दूरसञ्चार प्राधिकरणप्रति धन्यवाद व्यक्त गरेको छ ।
डाटा प्याक प्रयोग गर्ने नेपाल टेलिकमका ग्राहकले अनावश्यक रूपमा मुख्य ब्यालेन्सबाट रकम कटौती हुन नदिन PAYG सेवाको अवस्था जाँच गरी आवश्यकताअनुसार बन्द गर्न सक्नेछन् ।





.gif)





