काठमाडौं । बडादसैँ नजिकिएसँगै राजधानी काठमाडौं छाडेर आफ्नो गाउँघर फर्किने यात्रुको सङ्ख्या बढेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका नागरिक दसैँ मनाउन घर फर्किन थालेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै गएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि असोज ३० गतेसम्म ४ लाख २३ हजार ६६४ जना यात्रुले उपत्यका छाडेका छन् । विशेषगरी असोज २५ गतेदेखि ३० गतेसम्म उपत्यका छाड्ने यात्रुको सङ्ख्या उल्लेख्य रहेको छ ।
ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९, असोज २९ गते ८५ हजार ५६१ र असोज ३० गते ७५ हजार ३५० जना यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।
दसैँ मनाउन बाहिरिने यात्रुको चाप बढेसँगै उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा यात्रुको सङ्ख्या घट्न थालेको छ । यसले राजधानीका मुख्य सडक तथा व्यस्त चोकहरूमा सवारी चाप कम हुँदै गएको छ ।
मध्यम तथा लामो दूरीका सवारीसाधनलाई रुट परमिट खुला गरिएपछि स्थानीय रुटमा सञ्चालन हुने कतिपय सवारीसाधनसमेत रिजर्भमा यात्रु लिएर उपत्यकाबाहिर जान थालेका छन् ।
दसैँका लागि ठूलो सङ्ख्यामा नागरिक उपत्यकाबाहिर गएसँगै राजधानीको दैनिक जनजीवन र यातायात व्यवस्थापनमा समेत परिवर्तन देखिन थालेको छ ।




.gif)





