काठमाडौं । बडादसैँ हिन्दु धर्मावलम्बीको प्रमुख पर्व भए पनि समयक्रमसँगै यो हिमाल, पहाडदेखि तराई–मधेससम्मका विभिन्न समुदायले आ–आफ्नै परम्परा र संस्कृतिअनुसार मनाउने साझा पर्वका रूपमा विकसित भएको छ । दसैँ मनाउने क्रममा टीका, जमरा, पूजाविधि, नाचगान र पारिवारिक जमघटका परम्परा समुदाय अनुसार फरक–फरक देखिन्छन् ।
मधेसमा दसैँलाई मुख्यतः दशहरा वा दुर्गापूजाका रूपमा मनाइन्छ । मैथिल संस्कृतिको महत्त्वपूर्ण पक्ष मानिने झिझिया नाच दसैँको आगमनसँगै प्रदर्शन गरिन्छ । संस्कृतिविद् रामभरोस कापडी ‘भ्रमर’का अनुसार झिझिया नाच मधेसको पुरानो सांस्कृतिक पहिचान हो, जसलाई विभिन्न स्थानमा प्रतियोगिताका रूपमा समेत प्रस्तुत गरिन्छ ।
मधेसमा दुर्गापूजाका बेला महिलाको विशेष भूमिका रहने गरेको छ । गाउँगाउँमा दुर्गाको मूर्ति स्थापना गरी अष्टमी, नवमी र दशमीका दिन विशेष पूजाआजा गरिन्छ । परम्पराअनुसार दशमीपछि दुर्गाको मूर्ति खोलानदीमा विसर्जन गरिन्छ । बेलको पातबाट गरिने पूजा, उपवास, पण्डाल निर्माण तथा पूजापछि पशुबलि दिने चलन पनि कतिपय क्षेत्रमा प्रचलित छ । दशमीका दिन चामल, दही र अबिर मिसाएर अक्षता लगाउने परम्परा पनि पाइन्छ ।
थारू समुदायमा दसैँ र पितृपूजाको महत्त्व
तराई–मधेसका थारू समुदायमा दसैँलाई ‘दस्या’ वा ‘पिट्रिन’का रूपमा चिनिन्छ । यो समुदायका लागि दसैँ पारिवारिक खुसीसँगै पितृको सम्झना र पूजाआजा गर्ने अवसर पनि हो । थारू समुदायले दुर्गापूजा गर्ने, जमरा राख्ने र टीका लगाउने परम्परा पनि अपनाउँदै आएको छ ।
संस्कृतिविद् डा. जगमान गुरुङका अनुसार थारू समुदायमा अन्य मधेसी समुदायको तुलनामा पहाडी जनजातिसँग मिल्दोजुल्दो सांस्कृतिक अभ्यास पाइन्छ । घटस्थापनादेखि थारू गाउँमा महिलाले सखिया नाच र पुरुषले लाठी नाच अर्थात् धमार प्रस्तुत गर्ने परम्परा छ । शिरस्थान र बरमस्थानको पूजा पनि यस समुदायको सांस्कृतिक विशेषतामध्ये पर्छ ।
नेवार समुदायमा मोहिनी पर्व र तान्त्रिक विधि
काठमाडौं उपत्यकाका नेवार समुदायले दसैँलाई ‘मोहिनी पर्व’का रूपमा मनाउँछन् । यस समुदायको दसैँमा तान्त्रिक विधि, परम्परागत भोज र सांस्कृतिक जात्राको विशेष महत्त्व छ ।
विजयादशमीका दिन कतिपय नेवार परिवारमा कालो टीका लगाउने चलन छ । दियो बालेर माटोको भाँडोले छोप्ने र त्यसबाट बनेको ध्वाँसो अर्थात् कालो पदार्थलाई टीकाका रूपमा प्रयोग गर्ने परम्परा पनि पाइन्छ ।
महानवमी र दशमीका दिन उपत्यकाका विभिन्न स्थानमा खड्गधारी नृत्य तथा पायो जात्रा निकालिन्छ । महाअष्टमीमा परिवारका सदस्य एकै ठाउँमा बसेर केराको पातमा समयबजी, छोयला र अन्य परिकार राखी गरिने ‘कुछी भ्वय’ पनि नेवार संस्कृतिको महत्त्वपूर्ण पक्ष हो ।
मगर र गुरुङ समुदायमा सेतो टीका र सांस्कृतिक नृत्य
मगर समुदायमा दसैँलाई पितृप्रसाद ग्रहण गर्ने, परिवारका सदस्यबीच भेटघाट गर्ने र ज्येष्ठ नागरिकबाट आशीर्वाद लिने पर्वका रूपमा लिइन्छ । भौगोलिक क्षेत्र र अन्य समुदायसँगको सांस्कृतिक अन्तरघुलनका कारण मगर समुदायमा कतै रातो त कतै सेतो टीका र जमरा लगाउने परम्परा पाइन्छ । दसैँका अवसरमा कतिपय मगर बस्तीमा मारुनी र सोरठी नाच प्रस्तुत गरिन्छ ।
गुरुङ समुदायमा पनि दसैँका बेला सेतो टीका र जमरा लगाउने चलन छ । दही र चामलबाट बनाइने सेतो टीकालाई शान्ति र पवित्रताको प्रतीकका रूपमा लिइन्छ । मान्यजनबाट आशीर्वाद लिने तथा घाँटु र सोरठीजस्ता सांस्कृतिक नृत्य प्रस्तुत गर्ने परम्परा यस समुदायमा पाइन्छ ।
मगर र गुरुङ समुदायमा परम्परागत पूजाविधि तथा जमरा राख्ने चलन घट्दै गएकोप्रति संस्कृतिविद् डा। गुरुङले चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार कतिपय स्थानमा पूजाआजाभन्दा खानपिन र पारिवारिक जमघटलाई बढी प्राथमिकता दिन थालिएको छ ।
किराँत समुदायमा आफ्नै धार्मिक अभ्यास
राई, लिम्बू, याक्खा र सुनुवार समुदायमा दसैँ मनाउने अभ्यास एकरूप छैन । केहीले परम्परागत रूपमा दही र चामलको सेतो टीका तथा जमरा लगाउँछन् भने केहीले आफ्ना मौलिक धार्मिक परम्परालाई प्राथमिकता दिन्छन् ।
माङहिम र युमा पूजासँग सम्बन्धित परम्परा मान्ने समुदायले युमा साङ्मा, युमा माङलगायत कुलदेवताको पूजाआजा गर्ने तथा नयाँ अन्न पितृलाई चढाउने चलन पनि अपनाउँछन् । पछिल्लो समय केही किराँत समुदायले दसैँको सट्टा साकेला र चासोक तङ्नामजस्ता आफ्ना मौलिक पर्वलाई विशेष प्राथमिकता दिन थालेका छन् ।
तामाङ समुदायमा पारिवारिक मिलन र आशीर्वाद
तामाङ समुदायमा दसैँलाई पारिवारिक भेटघाट, ज्येष्ठ नागरिकको सम्मान र आशीर्वाद लिने अवसरका रूपमा मनाइन्छ । यस समुदायमा पनि दही र चामलबाट बनाइएको सेतो टीका लगाउने चलन छ ।
घरका गान्बा अर्थात् मान्यजन र ताम्बा अर्थात् सांस्कृतिक विज्ञबाट टीका थापेर परिवारको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । टीकापछि आफन्त तथा छिमेकी भेला भएर डम्फु बजाउँदै तामाङ सेलो गाउने र नाच्ने परम्परा पनि पाइन्छ ।
शेर्पा समुदायमा भेटघाट र सांस्कृतिक विविधता
शेर्पा समुदाय मुख्यतः बौद्ध धर्मावलम्बी भएकाले उनीहरूको दसैँ मनाउने शैली हिन्दु समुदायको भन्दा फरक छ । स्थान, पारिवारिक परम्परा र अन्य समुदायसँगको सम्बन्धअनुसार दसैँ मनाउने चलन फरक–फरक पाइन्छ ।
हिन्दु समुदायसँग नजिकको सांस्कृतिक सम्बन्ध भएका कतिपय शेर्पा परिवारले टीका लगाउने र मान्यजनबाट आशीर्वाद लिने गर्छन् । अन्यले भने दसैँको बिदालाई आफन्तसँग भेटघाट गर्ने, मिठा परिकार खाने र पारिवारिक समय बिताउने अवसरका रूपमा लिने गरेका छन् ।
विविध परम्पराले जोडिएको साझा पर्व
दसैँ मनाउने तरिका समुदाय, भूगोल, धार्मिक आस्था र सांस्कृतिक मान्यताअनुसार फरक भए पनि पारिवारिक भेटघाट, मान्यजनको सम्मान, आशीर्वाद र आपसी सद्भाव यसको साझा पक्षका रूपमा देखिन्छन् ।
संस्कृतिविद् डा. जगमान गुरुङका अनुसार दसैँलाई विभिन्न समुदायले आ–आफ्नै परम्पराअनुसार मनाउँदै आएका छन् । विविध सांस्कृतिक अभ्यासका बीच दसैँले नेपाली समाजमा पारिवारिक सम्बन्ध र सामाजिक एकताको भावनालाई जोड्ने भूमिका खेलेको छ ।




.gif)





