images

२०८३ आश्विन १५ गते

images
images
images
  • प्रविधि
  • मोबाइल सेवा सुधार्न सरकारको ‘रूपान्तरण वर्ष’,...

मोबाइल सेवा सुधार्न सरकारको ‘रूपान्तरण वर्ष’, २०० नयाँ टावर थपिँदै

मोबाइल सेवा सुधार्न सरकारको ‘रूपान्तरण वर्ष’, २०० नयाँ टावर थपिँदै

images
images
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सरकारले सेवा विस्तार, उपकरण थप तथा विद्युत् आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन्।प्रतिनिधि सभाको बुधबारकाे बैठकमा विभिन्न समयमा उठेका प्रश्नको जवाफ दिँदै उनले कतिपय क्षेत्रमा अझै दूरसञ्चार सेवा विस्तार हुन नसकेको र विद्युत् तथा पावर ब्याकअपको अभावका कारण मोबाइल टावर लामो समय सञ्चालन हुन नसक्ने अवस्थालाई सुधार्न सरकारले नेपाल टेलिकमलाई विस्तृत कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिइसकेको बताए।

    images
    images

    सञ्चारमन्त्री डा. तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’ का रूपमा अघि बढाउन लागिएको बताए।मोबाइल सेवाको गुणस्तर सुधार तथा पहुँच विस्तारका लागि नेपाल टेलिकमको नयाँ दुई सय वटा टावर निर्माणसम्बन्धी बोलपत्र मूल्याङ्कनको चरणमा रहेको उनले जानकारी दिए । टेलिकमले देशभर मोबाइल नेटवर्कमा देखिएका समस्या समाधान गर्न एक हजार पाँच सय ९७ स्थानमा फोरजी सेवा सञ्चालनका लागि आवश्यक उपकरणको बोलपत्र यसै साता प्रकाशित हुने क्रममा रहेको उनको भनाइ छ।विद्युत् अवरुद्ध हुँदा मोबाइल सेवा सञ्चालनमा समस्या नहोस् भन्ने उद्देश्यले देशभरका नेपाल टेलिकमका टावरमा पावर ब्याकअपको क्षमता बढाउने काम भइरहेको सञ्चारमन्त्री डा तिमिल्सिनाले बताए।

    उनका अनुसार पछिल्लो तीन महिनामा सातै प्रदेशका छ सय भन्दा बढी स्थानमा ब्याट्री ब्याकअप फेरिएको गरिएको छ । 

    images
    images

    यसबाट विद्युत् आपूर्ति अवरुद्ध हुँदा ग्रामीण क्षेत्रमा आठदेखि १० घण्टा तथा सहरी क्षेत्रमा चारदेखि छ घण्टासम्म सेवा सञ्चालन गर्न सकिने उनले बताए। 

    हाल करिब पाँच सय वटा ब्याट्री मौज्दात रहेको र आवश्यक स्थानमा आगामी तीन महिनाभित्र ब्याकअप अद्यावधिक गरिसक्ने लक्ष्य रहेको उनले जानकारी दिए। थप दुई सय थान ब्याट्री खरिदका लागि बोलपत्र प्रक्रियामा रहेको छ।

    त्यस्तै, विद्यमान ३२ वटा सोलार साइटमा पावर ब्याकअप प्रणाली तथा सोलार प्रणालीको क्षमता वृद्धि गर्ने कार्यका लागि भएको बोलपत्र सम्झौताको चरणमा रहेको सञ्चारमन्त्री तिमिल्सिनाले बताए । 

    सम्भव भएसम्म सोलार साइटलाई राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोड्न ऊर्जा मन्त्रालयसँग समन्वय भइरहेको उनले जानकारी दिए।

    राष्ट्रिय विद्युत् प्रसारण नपुगेका क्षेत्रमा रहेका नेपाल टेलिकमका सोलार साइटमा ब्याट्री, उपकरण तथा ब्याट्री जोड्ने तार चोरी हुने गरेको र कतिपय टावरमा भौतिक क्षतिसमेत हुने गरेको सञ्चारमन्त्री तिमिल्सिनाले बताए। 

    यस्ता घटनाका कारण दूरसञ्चार सेवामा पटक–पटक समस्या आउने गरेको उल्लेख गर्दै उनले दूरसञ्चार पूर्वाधारमा क्षति पुर्‍याउने तथा चोरी गर्नेहरूमाथि कडा कारबाही गरिने बताए ।

    सञ्चारमन्त्री डा. तिमिल्सिनाले भोटेकोशी बाढीका कारण नेपाल टेलिकमको मोबाइल, वायरलाइन तथा ब्याकबोन प्रसारण प्रणालीमा करिब रु आठ करोड ८५ लाख १२ हजार ६८५ बराबरको क्षति भएको जानकारी सदनलाई गराए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend