images

२०८३ कार्तिक २९ गते

images
images
images

हुलाकीको झोलादेखि मोबाइलसम्म

हुलाकीको झोलादेखि मोबाइलसम्म

images
images
शनिवार, कार्तिक २१ २०८३
शनिवार, कार्तिक २१ २०८३
  • लमजुङ, २१  कात्तिक । कुनै बेला गाउँमा हुलाकी देखिनासाथ मानिस घरबाट बाहिर निस्कन्थे । कसैका लागि त्यो परदेशमा रहेका श्रमान्को खबर हुन्थ्यो त कसैका लागि सन्तान र आफन्तको सुखदुःख बुझ्ने माध्यम । 

    images
    images

    हुलाकीको झोलाबाट निस्कने एउटा चिठीले महिनौँदेखिको प्रतीक्षा अन्त्य गथ्र्यो । अहिले भने हातले लेखिएका चिठीको ठाउँ मोबाइल फोन, म्यासेन्जर र सामाजिक सञ्जालले लिएका छन् । 

    बेँसीसहर नगरपालिका–१० का ९३ वर्षीय लालबहादुर गुरुङले चिठीको प्रतीक्षा र त्यसले दिने खुसी अनुभव गरेका छन् । भारतीय सेनामा करिब ३५ वर्ष सेवा गरेका उनका लागि घरबाट आउने चिठी परिवारसँग जोडिने महत्वपूर्ण माध्यम थियो । 

    images
    images

    “घरबाट चिठी आउन पाँच–छ महिना लाग्थ्यो, कहिलेकाहीँ एक वर्ष पनि कुर्नुपथ्र्यो,” उनले विगत सम्झँदै भनिन । श्रीमतीले चिठी लेख्दा कतिपय कुरा सङ्केत र विशेष शैलीमा व्यक्त गर्ने गरेको उनको सम्झना छ । 

    अहिले भने मोबाइलबाटै परिवारसँग तत्काल कुरा गर्न र तस्बिर हेर्न पाउँदा खुसी लाग्ने उनी बताईन । मध्यनेपाल नगरपालिका–३, सूर्यपालकी ७० वर्षीया आशकुमारी गौतमको अनुभव पनि चिठीसँगै जोडिएको छ । 

    श्रीमान् परदेशमा रहँदा घरपरिवारको खबर आदानप्रदान गर्ने मुख्य माध्यम चिठी थियो । उनका अनुसार सामान्य चिठीभन्दा रजिस्ट्ररी चिठी छिटो आइपुग्थ्यो । 
     
    त्यतिबेला पढ्नलेख्न सहज नहुँदा विद्यालय जाने बालबालिकाको सहयोग लिएर चिठी लेख्ने र पढ्ने गरिन्थ्यो ।  श्रीमानको जागिर स्थायी भएको खबर चिठीबाटै पाउँदा ठूलो खुसी लागेको उनी सम्झन्छिन । “बेस्सरी भोक लागेको बेलामा भात खाएजस्तो आनन्द हुन्थ्यो,” उनले चिठी पढ्दाको खुसी सम्झँदै भनिन। 

    मस्र्याङ्दी गाउँपालिका–३, ढंगैका पूर्णबहादुर गुरुङ भने हातले चिठी लेखेर पठाउने अनुभव खासै नभए पनि अहिले मोबाइल, म्यासेन्जर र सामाजिक सञ्जालमार्फत आफन्तसँग सम्पर्क गरे । 

    उनका विचारमा प्रविधिले दूरी घटाए पनि हातले लेखिएको चिठीमा व्यक्त हुने माया र भावनाको छुट्टै महत्व हुन्छ । नयाँ पुस्ताले पुरानो चिठी लेख्ने परम्परासँग जोडिएका आत्मीयता र संस्कार बिर्सन नहुने उनी बताउछन् । 

    व्यक्तिगत चिठीको चलन घट्दै गए पनि हुलाक सेवाको आवश्यकता भने पूर्ण रूपमा समाप्त भएको छैन । जिल्ला हुलाक कार्यालय लमजुङका हुलाक अधिकृत श्यामविक्रम न्यौपानेका अनुसार अहिले व्यक्तिले व्यक्तिलाई पठाउने व्यक्तिगत तथा पारिवारिक चिठीको प्रयोग लगभग शून्यमा झरेको छ । 

    यद्यपि सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका पत्राचार र विदेशबाट आउने पार्सलको ओसारपसार जारी छ । पहिले व्यक्तिगत चिठी, शोकपत्र, पोस्टकार्ड, पुस्तक, पत्रपत्रिका तथा सरकारी कागजात हुलाकका प्रमुख सामग्री थिए । अहिले राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, सिमकार्ड, एटिएम कार्ड, पार्सल तथा अदालतका मिसिलजस्ता सामग्रीको प्राप्ति र वितरण हुँदै आएको उनले बताएका छन् ।

    लमजुङमा जिल्ला हुलाक कार्यालयसहित सात स्थानीय तहमा हुलाक कार्यालय र बेँसीसहरमा एउटा हुलाक काउन्टर सञ्चालनमा छन् । जिल्लाका ३६ वडामा ३६ वटा अतिरिक्त हुलाक कार्यालय छन् । 

    जिल्लाभर हुलाकी तथा हल्काराका ३४ दरबन्दी कायम रहे पनि अवकाश भएका कर्मचारीको ठाउँमा नयाँ पदपूर्ति नहुँदा जनशक्ति व्यवस्थापनमा चुनौती थपिएको न्यौपानेले बताएका छन् ।

    आर्थिक वर्ष २०८२।८३ मा लमजुङमा औसत प्रतिमहिना छवटा पार्सल वितरण भएका थिए । त्यस्तै, प्रतिमहिना आठदेखि नौवटा रजिस्ट्ररी पुलिन्दा तथा ईएमएससम्बन्धी सामग्रीको दर्ता र बाहिर पठाउने काम भएको थियो । 

    सोही आर्थिक वर्षमा जिल्ला हुलाक कार्यालयले रु आठ लाख २५ हजार ८४७ राजस्व सङ्कलन गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ११ प्रतिशत कम हो ।  न्यौपानेका अनुसार मोबाइल र इन्टरनेटको विस्तारले परम्परागत चिठीपत्रको काम घटाए पनि सुरक्षित पार्सल वितरण तथा सरकारी र संस्थागत कागजात ओसारपसारमा हुलाकको भूमिका कायमै छ । 

    आगामी दिनमा हुलाकलाई डिजिटल सरकारी सेवा, पार्सल वितरण, विद्युतीय व्यापार तथा नागरिक सेवा उपलब्ध गराउने आधुनिक सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्न सकिने उनको भनाइ छ । 

    कुनै बेला हुलाकीको झोलामा बोकेर गाउँगाउँ पु¥याइने चिठीले मानिसका भावना र खबर जोड्थ्यो । अहिले मोबाइलको पर्दाबाटै ती खबर क्षणभरमै आदानप्रदान हुन्छन् ।  सञ्चारको माध्यम फेरिए पनि आफ्ना मान्छेको खबर पाउने चाहना भने उस्तै छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend