images

२०८३ आश्विन १५ गते

images
images
images

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

images
images
शनिवार, आश्विन १० २०८३
शनिवार, आश्विन १० २०८३
  • भद्रपुर (झापा), १० असोज । बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा जोखिम क्षेत्रको निगरानीका लागि पहिलोपटक ड्रोन प्रयोगमा ल्याइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बाढी तथा डुबानको जोखिम निगरानी र उद्धार कार्यका लागि शुक्रबार ड्रोन प्रयोगमा ल्याएको हो । 

    images
    images

    डिभिजन वन कार्यालयसँग समन्वय गरी प्रयोगमा ल्याइएको ड्रोनबाट जोखिमयुक्त नदी तथा खोलाका पुल, तटबन्ध, कमजोर नदी किनारा, बस्ती तथा डुबान हुनसक्ने क्षेत्रको निगरानी गरिने भएको छ ।
    प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले विपद् प्रतिकार्यका लागि उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी आवश्यक सूचना सङ्कलन र उद्धारलाई प्रभावकारी बनाउन ड्रोन प्रयोग गरिएको बताएका छन् । “जोखिम नक्साङ्कनका आधारमा नदी तथा खोलाका संवेदनशील क्षेत्रको निगरानी गरी प्राप्त सूचनाका आधारमा आवश्यक उद्धार र प्रतिकार्य अघि बढाइनेछ,” उनले भने ।

    उनका अनुसार गौरिगञ्ज गाउँपालिकाका वडा नं १ र २ का ४७४ तथा झापा गाउँपालिकाका वडा नं १ र २ का ६९५ गरी एक हजार १६९ घरपरिवार डुबानको जोखिममा छन् । सम्भावित विपद्को प्रतिकार्यका लागि जिल्लामा नौवटा विपद् प्रतिकार्य डुङ्गा, नेपाली सेनाका चारवटा ‘क्विक रेस्पोन्स टिम’ तथा सशस्त्र प्रहरीका उद्धार टोली तयारी अवस्थामा राखिएको छ । 

    images
    images

    प्रजिअ पोखरेलका अनुसार जोखिमयुक्त नदी तथा खोलाका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट नियमित अनुगमन तथा निरीक्षण भइरहेको छ । शुक्रबार कनकाई, बिरिङ र मेची नदीको जलसतह खतराको तहमा पुगेपछि दिउँसो साइरन बजाइएको थियो । ती नदी क्षेत्रमा तीन साइरन जडान गरिएको र शुक्रबार साँझतिर जलसतह घटेको उनले जानकारी दिएका छन् । “इलाम क्षेत्रमा भारी वर्षा भएपछि त्यहाँबाट बगेर आउने नदीमा करिब तीन घण्टामा झापामा बाढी आइपुग्ने भएकाले त्यसलाई आधार बनाएर साइरन बजाउने र ‘अर्ली वार्निङ सिस्टममार्फ’त जोखिममा रहेका क्षेत्रमा सूचना दिने व्यवस्था मिलाइएको छ,” उनले भने।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend