images

२०८३ आश्विन १५ गते

images
images
images
  • कृषि
  • अलैँची टिप्न र सुकाउन व्यस्त छन्...

अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान

अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • भोजपुर, ९ असोज । भोजपुरका ग्रामीण क्षेत्रका किसानलाई यतिबेला कालो सुनका नामले चिनिने अलैँची टिप्न, केलाउन र भट्टीमा सुकाउन भ्याइनभ्याइ छ । भदौ, असोज र कात्तिक महिना अलैँची टिप्ने तथा प्रशोधन गर्ने मुख्य सिजन भएकाले किसानको दैनिकी यतिबेला अलैँची बगान र भट्टीमै बित्ने गरेको छ । 

    images
    images

    परिपक्व भइसकेको अलैँची समयमै नटिपे वन्यजन्तुले नोक्सान पुर्याउने र झरेर गुणस्तर घट्ने जोखिम हुने भएकाले किसान बिहानैदेखि समूह बनाएर बगानतिर जाने गर्छन् । पौवादुङमा गाउँपालिका–५ का स्थानीय किसान टेकेन्द्र राईका अनुसार अहिले गाउँका किसान अलैँची टिप्न, सुकाउन तथा भण्डारण गर्न व्यस्त छन् । दिनभर अलैँची टिप्ने, केलाउने र भट्टीमा सुकाउने काममै बित्ने गरेको उनी बताएका छन्

    बेँसी क्षेत्रका किसानहरू यो समयमा प्रायः अलैँची बारीमै भेटिने गर्छन् । आफूले करिब आठ रोपनीमा विस्तार गरेको बगानबाट यो वर्ष झन्डै तीन मन अलैँची उत्पादन भएको उनले जानकारी दिएका छन्। अहिले गाउँघरमै प्रतिमन (४० किलो) रु ८० हजारका दरले अलैँची बिक्री भइरहेको किसान राईले बताएका छन्। “यतिबेला अलैँची टिप्ने र सुकाउने सिजन छ”, उनले भने ।

    images
    images

    तल्लो र बेँसी भेगमा अलैँची केलाएर सुकाउने काम अन्तिम चरणमा पुग्न लागे पनि चोलन्ती, खावा, तिम्मालगायत माथिल्लो तथा कछाड क्षेत्रमा भने बल्ल टिप्ने सिजन सुरु हुन लागेको टेम्केमैयुङ गाउँपालिका–५ का किसान लालबहादुर विष्टले जानकारी दिएका छन्। 

    विष्टका अनुसार यहाँका किसानले भदौदेखि कात्तिकसम्म अलैँची टिप्ने र सुकाउने गर्छन् । उनले आफूले नयाँ र पुरानो बगान गरी करिब ४० रोपनीमा खेती गर्दै आएको बताएका छन्।

    राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ (सङ्खुवासभा), जोन प्राविधिक एकाइ (भोजपुर)मार्फत जिल्लामा अलैँची सुपर जोन सञ्चालन भइरहेको छ । जोन प्राविधिक एकाइ भोजपुरकी प्रमुख कौशिला विष्टका अनुसार भोजपुरका नौमध्ये सात स्थानीय तहका ३५ वटा वडा सुपर जोन कार्यक्रममा समेटिएका छन् । पछिल्लो समय अलैँचीमा किसानको आकर्षण बढेकाले प्रोत्साहनका लागि अनुदान कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिएका छन्।

    सरकारी तथ्याङ्कअनुसार भोजपुरमा हाल करिब ५९७ हेक्टरमा अलैँचीको व्यावसायिक खेती भइरहेको छ । जिल्लाको षडानन्द नगरपालिका, टेम्केमैयुङ, पौवादुङमा, आमचोक, अरुण र साल्पासिलिछो गाउँपालिकालगायतका क्षेत्र अलैँचीका प्रमुख पकेट क्षेत्र हुन् । 

    अलैँची ओसिलो, खोलाखोल्सी तथा भिरालो जमिनमासमेत सजिलै सप्रिने भएकाले किसानले पाखा र खोलाका किनारमा अलैँची विस्तार गरेका छन् । यहाँ रामशाही, गोलशाही, डम्बरशाही र जिर्मले जातका अलैँची बढी उत्पादन हुन्छ । वैदेशिक रोजगारी र अन्य खेतीको तुलनामा अलैँचीखेतीबाट राम्रो आम्दानी हुने भएकाले अलैँची ग्रामीण भेगका बासिन्दाको मुख्य आयस्रोत बनेको छ । विगतका वर्षको तुलनामा बजार मूल्यमा आएको सुधारले भोजपुरका किसानमा थप उत्साह थपिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend