images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • पश्चिमी प्रभावलाई सन्तुलन गर्न ब्रिक्स शिखर...

पश्चिमी प्रभावलाई सन्तुलन गर्न ब्रिक्स शिखर सम्मेलनमा पुटिनद्वारा ग्लोबल साउथका नेताहरूको मेजबानी

पश्चिमी प्रभावलाई सन्तुलन गर्न ब्रिक्स शिखर सम्मेलनमा पुटिनद्वारा ग्लोबल साउथका नेताहरूको मेजबानी

images
images
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य विश्व नेताहरू मङ्गलबार रूसको कजान शहरमा विकासशील अर्थतन्त्रहरूको ब्रिक्स गुटको शिखर सम्मेलनका लागि आइपुग्नुभएको छ । सम्मेलनलाई क्रेमलिनले पश्चिमी उदार व्यवस्थाको विरोध गर्ने केन्द्रविन्दु बनाउन खोजेको छ । 
     
    रूसी राष्ट्रपति पुटिनका लागि तीन दिने यो सम्मेलनले युक्रेनमा रूसको कारबाहीका कारण रूसलाई एक्ल्याउने अमेरिका नेतृत्वको प्रयासहरूको असफलता देखाउने शक्तिशाली माध्यम पनि प्रदान गर्नेछ ।
     
    क्रेमलिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभले ३६ देशको सहभागिता र २० भन्दा बढी देशका राष्ट्र प्रमुखहरूको प्रतिनिधित्वसहित यस शिखर सम्मेलनलाई ‘रूसद्वारा आयोजित सबैभन्दा ठूलो विदेश नीति कार्यक्रम’ भन्दै प्रशंसा गर्नुभयो ।
     
    सुरुमा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका समावेश भएको यो गठबन्धनले द्रुत गतिमा विस्तार गरी इरान, इजिप्ट, इथियोपिया, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियालाई समावेश गरेको छ । टर्की, अजरबैजान र मलेसियाले औपचारिक रूपमा सदस्यता लिन आवेदन दिएका छन् र केही अन्यले सदस्य बन्न चासो व्यक्त गरेका छन् ।
     
    पर्यवेक्षकहरूले ब्रिक्स शिखर सम्मेलनलाई पश्चिमसँगको बढ्दो तनावबीच ग्लोबल साउथको समर्थन प्रदर्शन गर्ने र आर्थिक तथा वित्तीय सम्बन्धहरू विस्तार गर्न मद्दत गर्ने क्रेमलिनको प्रयासको रूपमा हेरेका छन् ।
     
    प्रस्तावित परियोजनाहरूमा विश्वव्यापी बैंक मेसेजिङ नेटवर्क स्विफ्टको विकल्प प्रदान गर्ने र मस्कोलाई पश्चिमी प्रतिबन्धहरूबाट बच्न र साझेदारहरूसँग व्यापार गर्न अनुमति दिने नयाँ भुक्तानी प्रणालीको सिर्जना समावेश छ ।
     
    पुटिनले शिखर सम्मेलनको साइडलाइनमा करिब २० वटा द्विपक्षीय बैठक गर्नुहुने तय छ । यसमा चीनका सी, भारतका मोदी र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसासँगको मङ्गलबारको भेटवार्ता समावेश छ ।
     
    शिखर सम्मेलनले सी र पुटिनबीचको नजिकको सम्बन्धलाई रेखाङ्कित गरेको छ । उहाँहरूले रूसले २०२२ मा युक्रेनमा आक्रमण गर्नुभन्दा केही हप्ताअघि ‘सीमाहीन’ साझेदारीको घोषणा गर्नुभएको थियो । मेमा बेइजिङमा र जुलाईमा काजाकिस्तानमा साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा गरी उहाँहरूबीच यस वर्ष कम्तीमा दुई पटक भेट भइसकेको छ । 
     
    भारतको मुख्य प्रतिद्वन्द्वी चीनसँग रूसको नजिकको सम्बन्ध हुँदाहुँदै पनि शीत युद्धको समयदेखि नै भारतले मस्कोलाई परीक्षित साझेदारका रूपमा लिएका कारण रूससँग भारतको सहकार्य पनि फस्टाएको छ ।
     
    पश्चिमी सहयोगीहरूले भारतलाई युक्रेनमा युद्ध अन्त्य गर्न मस्कोलाई मनाउन अझ सक्रिय हुन चाहेका छन् तर मोदीले रूसको निन्दा गर्नबाट बच्दै शान्तिपूर्ण समाधानमा जोड दिनुभएको छ ।
     
    जुलाईमा रूसको भ्रमण गर्नुभएका मोदीले यो भ्रमणले दुई देशबीचको घनिष्ठ मित्रतालाई प्रतिबिम्बित गर्ने बताउनुभयो । पुटिनसँगको बैठकको सुरुमा बोल्दै उहाँले युक्रेनमा शान्तिका लागि नयाँदिल्लीको प्रयासलाई पनि पुनः पुष्टि गर्नुभयो ।
     
    पुटिनले रूस र भारतबीचको ‘विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ को प्रशंसा गर्नुभयो ।
     
    बिहीबार पुटिनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेट गर्नुहुने कार्यक्रम छ । गुटेरेस दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक रूसको भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले युक्रेनमा रूसको कारबाहीको पटक–पटक आलोचना गर्नुभएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend