म्याड्रिड । स्पेनमा आवास सङ्कट चर्किएपछि हजारौँ मानिस सडकमा उत्रिएका छन् । घरभाडा अत्यधिक बढेको, सर्वसाधारणले सस्तो आवास पाउन नसकेको र भाडामा बस्नेहरूलाई पर्याप्त कानुनी सुरक्षा नभएको भन्दै शनिबार देशभर प्रदर्शन भएका हुन् ।बीबीसीका अनुसार म्याड्रिड, बार्सिलोना, भ्यालेन्सिया लगायतका सहरमा करिब ५० वटा प्रदर्शन तथा र्याली आयोजना गरिएका थिए । आयोजकहरूका अनुसार, राजधानी म्याड्रिडमा मात्रै ५ लाखभन्दा बढीले प्रदर्शन गरेका थिए । तर, सरकारी पक्षले भने ७० हजारको हाराहारीमा सहभागी भएको जनाएको छ ।प्रदर्शनकारीले घरभाडा घटाउनुपर्ने, कमजोर आर्थिक अवस्थाका मानिसलाई घरबाट निकाल्ने क्रम रोक्नुपर्ने र लगानी कोष तथा ठूला संस्थाले आवासीय सम्पत्ति किनेर मूल्य तथा भाडा बढाउने प्रवृत्तिमा रोक लगाउनुपर्ने माग अघि सारेका छन् ।
‘भाडाबाट हुने नाफाका विषयमा अब चुप लागिन्न’, ‘म भविष्य बनाउन पढ्दैछु, सानो अपार्टमेन्टका लागि होइन’ जस्ता नारासहित प्रदर्शनकारी सडकमा उत्रिएका थिए । उनीहरूले हातमा घरका चाबी हल्लाउँदै ‘हामीसँग पूरा सहरको चाबी छ’ भन्ने नारा पनि लगाएका थिए ।म्याड्रिडको प्रमुख क्षेत्र पुएर्ता देल सोलमा केही प्रदर्शनकारीले केही दिनदेखि टेन्ट राखेर धर्ना समेत दिइरहेका छन् । प्रदर्शनमा सहभागी २६ वर्षीय पुस्तकालयकर्मी मार्कोस सान्जले केही समयअघि साथीहरूसँग दुई बेडरुमको फ्ल्याटमा बस्दा मासिक ९०० युरो भाडा तिर्ने गरेको बताए ।
उनका अनुसार अहिले म्याड्रिडमा एउटा बेडरुम भएको सामान्य फ्ल्याटको भाडा नै करिब १ हजार युरो पुगेको छ । ‘कसैले भाडा नियमन गर्ने साहस नगरेसम्म हामी आन्दोलन गरिरहन्छौँ,’ उनले भने, ‘नत्र हामी सबैले म्याड्रिड छाड्नुपर्ने हुन्छ ।’भ्यालेन्सियामा भने प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । केही प्रदर्शनकारीले अवरोध हटाएर प्रहरीतर्फ प्रहार गरेपछि प्रहरीले रबरका गोली प्रयोग गरेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् । सार्वजनिक प्रसारक आरटीभीईका अनुसार घटनामा ९ जना प्रहरी घाइते भएका छन् भने ५ जना पक्राउ परेका छन् ।म्याड्रिडमा पनि प्रहरीले दक्षिणपन्थी समूहका तीन सदस्यलाई पक्राउ गरेको जनाएको छ । उनीहरूले प्रदर्शनकारीतर्फ जाने क्रममा नाजी अभिवादन गरेको आरोप छ ।स्पेनमा पछिल्लो आवास आन्दोलन एक ८७ वर्षीया वृद्ध महिलालाई घरबाट निकालिएको घटनापछि थप चर्किएको हो । मारिकर्मेन अबास्काल नामकी ती महिलालाई गत सेप्टेम्बरमा भाडा तिर्न नसकेको भन्दै घरबाट निकालिएको घटनाले देशभर आक्रोश पैदा गरेको थियो ।
घटनापछि सरकारमाथि दबाब बढेपछि प्रधानमन्त्री पेद्रो सान्चेज नेतृत्वको वामपन्थी गठबन्धन सरकारले आवास सङ्कट समाधान गर्न आपत्कालीन कानुन ल्याउने प्रयास गरेको थियो । तर शुक्रबार संसदमा ती प्रस्ताव असफल भए ।सरकारले दुई वटा छुट्टाछुट्टै आदेशमार्फत आवाससम्बन्धी उपाय अघि सारेको थियो । पहिलोमा कमजोर आर्थिक अवस्थाका भाडावाललाई सन् २०३० सम्म घरबाट निकाल्न रोक लगाउने, सन् २०२८ अघि सकिने भाडा सम्झौताको अवधि दुई वर्ष थप्ने, पर्यटकका लागि प्रयोग हुने अपार्टमेन्टमा कर बढाउने र तथाकथित ‘भल्चर फन्ड’ अर्थात् ठूला लगानी कोषलाई आवासीय सम्पत्ति खरिद गर्न रोक लगाउने व्यवस्था थियो ।दोस्रो प्रस्तावमा भाडा सम्झौता स्वतः नवीकरण गर्ने व्यवस्था समेटिएको थियो । यो माग वामपन्थी दल तथा भाडावालको सङ्गठनले लामो समयदेखि गर्दै आएका थिए ।तर संसदमा पहिलो प्रस्ताव १७८ विरुद्ध १७२ मतले र दोस्रो प्रस्ताव १८४ विरुद्ध १६६ मतले अस्वीकृत भयो ।
प्रधानमन्त्री सान्चेजको समाजवादी पार्टी र जुनियर साझेदार सुमार गठबन्धन मिलेर सरकार चलाइरहेका छन् । तर उनीहरूसँग संसदमा बहुमत छैन । विपक्षी कन्जरभेटिभ पिपुल्स पार्टी र दक्षिणपन्थी भोक्सले प्रस्तावको विपक्षमा मतदान गर्ने घोषणा गरेका थिए । क्याटालोनिया र बास्क क्षेत्रका साना दलहरूको समर्थनमा सरकार निर्भर थियो ।तर केन्द्र–दक्षिणपन्थी तथा स्वतन्त्रतावादी पार्टी ‘टुगेदर फर क्याटालोनिया’ले पनि प्रस्तावको विरोध गरेपछि सरकारको प्रयास असफल भयो । संसदमा आवाससम्बन्धी प्रस्ताव असफल भएपछि सान्चेजले समय अगावै आमनिर्वाचन घोषणा गर्न सक्ने अनुमानसमेत बढेको छ । स्पेनमा अर्को आमनिर्वाचन आगामी गर्मीयाममा हुनुपर्ने थियो ।आवास सङ्कटका कारण सरकारमाथि दबाब भने लगातार बढिरहेको छ । बैंक अफ स्पेनका अनुसार माग र नयाँ घर निर्माणबिचको अन्तरका आधारमा देशमा करिब ७ लाख घरको अभाव छ । स्पेनको राष्ट्रिय तथ्याङ्क संस्था आईएनईका अनुसार सन् २०२६ को दोस्रो त्रैमासिकमा घरको मूल्य एक वर्षअघिको तुलनामा १२.२ प्रतिशत बढेको छ । घरभाडा समेत तीव्र गतिमा बढिरहेको छ ।
रियल इस्टेट कम्पनी आइडियलिस्टाका अनुसार सन् २०२५ मा स्पेनमा घरभाडा औसत ८.५ प्रतिशत बढेको थियो । राजधानी म्याड्रिडमा मात्रै भाडा ९.७ प्रतिशतले बढेको थियो ।बार्सिलोना र म्याड्रिड स्पेनका सबैभन्दा महँगा भाडाका सहर बनेका छन् । बार्सिलोनामा घरभाडा प्रतिवर्गमिटर २३.८० युरो र म्याड्रिडमा २२.७० युरोसम्म पुगेको छ ।




.gif)





