images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढी प्रभावित नुवाकोटमा कोरियाली स्वयंसेवी...

भोटेकोशी बाढी प्रभावित नुवाकोटमा कोरियाली स्वयंसेवी टोलीको पुनरुत्थान अभियान

भोटेकोशी बाढी प्रभावित नुवाकोटमा कोरियाली स्वयंसेवी टोलीको पुनरुत्थान अभियान

images
images
आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • नुवाकोट । विपद्का समयमा एउटा समुदायले अर्को समुदायलाई साथ दिनुपर्छ । सायद, मानवीय सहयोगमा भूगोल वा अन्य कुनै छेकबार हुँदैन, केवल मन भए पुग्छ । विपद्का बेला भौगोलिक सीमाभन्दा माथि उठेर मानवीय सहयोग गर्नुपर्छ भन्ने सन्देशसहित दक्षिण कोरियाबाट आएको स्वयंसेवी टोलीले भोटेकोशी बाढी प्रभावित नुवाकोटमा घर सरसफाइ तथा पुनरुत्थानमा गरेको काम स्थानीय समुदायका लागि प्रेरणाको स्रोत बनेको छ ।गत साता नेपाल आइपुगेको आठ सदस्यीय कोरियाली टोलीले नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेस्थित बजारका घरहरूमा १० दिनसम्म सरसफाइको अनुमति लिएर मजदुरझैँ काम गरिरहेको छ । विदुर–१ का वडाध्यक्ष लेनिन रञ्जितद्वारा प्रदान गरिएको अनुमतिपत्रको प्रतिलिपि सरसफाइ भइरहेको घर अगाडि टाँसेर टोलीले चर्को घामको वास्ता नगरी घरमा पुरिएको माटो खन्ने, ढुङ्गा फाल्ने, भाँचिएका बिम र काठहरू हटाउनेलगायत काम गरिरहेको छ ।

    images
    images

    टोलीले हाल नुवाकोटको ढुङ्गे बजार क्षेत्रमा पुगेर बाढीबाट प्रभावित घर तथा आसपासको क्षेत्रको सरसफाइ गरिरहेको छ । लिडर लि खाङ उको नेतृत्वमा रहेको टोलीमा लि चाइ जुङ्ग, नम हा जिन, सिन जेउङ हुन, किम हो योङ्ग, योन हु योङ, किम साङ्ग कि र लि योङ्ग चोयल सहभागी छन् । यस समूहमा ८४ वर्षीय किम साङ्ग कि पनि छन् । बुढ्यौली उमेरमा अर्काको मुलुकमा आएर यस्तो काममा लागेको देख्दा स्थानीय समुदायले आफूहरूलाई पनि काम गर्न उत्प्रेरणा मिलेको अनुभव गरेका छन् ।‘लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइ नेपाल’ र ‘लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३५४ डि कोरिया’को संयुक्त आयोजनामा आएको ‘९११ सर्च एण्ड रेस्क्यु’ टिमले बाढीबाट क्षतिग्रस्त घर तथा बस्ती सफा गरी पुनः बस्नयोग्य बनाउने कामलाई तीव्रता दिएको हो । ‘एक समुदाय विपद्मा पर्दा अर्को समुदायले मानवीय सहयोग गर्नुपर्छ’ भन्ने भावनाका साथ आफूहरू नेपाल आएको टोली नेता लि खाङ उले बताए । विपद्को समयमा प्रभावित समुदायलाई प्रत्यक्ष सहयोग पुर्‍याउनुका साथै सामूहिक प्रयासबाट पुनरुत्थान सम्भव छ भन्ने सन्देश दिन टोली नेपाल आएको उनको भनाइ छ ।

    उनले यसअघि नेपालमा गएको विनाशकारी भूकम्पको समयमा पनि आफ्नो टोली उद्धार तथा राहत कार्यमा सहभागी भएको स्मरण गरे । उनका अनुसार ‘९११ सर्च एण्ड रेस्क्यु टिम’ले हालसम्म विश्वका ५४ भन्दा बढी मुलुकमा पुगेर विभिन्न विपद्मा उद्धार तथा विपद् व्यवस्थापनसम्बन्धी काम गरिसकेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइ नेपाल र डिष्ट्रिक्ट ३५४ डि कोरियाबीच कायम भएको भगिनी सम्बन्धका आधारमा संयुक्त उद्धार तथा सरसफाइ अभियान सञ्चालन गरिएको हो ।लायन्स डिष्ट्रिक्ट ३२५ आइ नेपालका क्याविनेट सेक्रेटरी अनुजकुमार श्रेष्ठले दुई देशका लायन्सबीचको सम्बन्धलाई मानवीय सेवामा रूपान्तरण गर्न यस अभियानले महत्वपूर्ण भूमिका खेलेको बताए । विपद्का बेला एक देश वा समुदायलाई अर्को देश तथा समुदायले सहयोग गर्ने संस्कारले मानवीय सम्बन्ध र आपसी भाइचारालाई थप बलियो बनाउने उनको भनाइ छ ।

    images
    images

    विपद् व्यवस्थापन केवल राज्य वा कुनै एक संस्थाको दायित्व नभई समुदाय, देश र अन्तर्राष्ट्रियस्तरमा समेत साझा जिम्मेवारी हो भन्ने उदाहरणका रूपमा कोरियाली टोलीको सेवा कार्यलाई हेरिएको छ । बाढीले घरबार तथा जनजीवन प्रभावित भएका बेला टाढाको देशबाट आएर प्रभावित बस्तीको सरसफाइमा स्वयंसेवा गर्नुले विपद्मा मानवीय एकता र सहकार्यको महत्त्वलाई उजागर गरेको छ । दशदिने सेवा कार्यक्रमका लागि नेपाल आएको उक्त कोरियाली लायन्स सर्च एण्ड रेस्क्यु टिम आगामी अक्टोबर ७ मा स्वदेश फर्किने टोलीका भाषा अनुवादक अनुपजङ्ग बस्नेतले जानकारी दिए ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीबाट एक हजार ४५१ जनाको मृत्यु र पाँच हजार ७४५ जना बेपत्ता छन् भने हजारौँ घर बगेका छन् । भग्नावशेष व्यवस्थापनका लागि विभिन्न निकायबाट नुवाकोटको देवीघाट, ढुङ्गे, त्रिशूलीलगायत क्षेत्रमा एक्स्काभेटर, ब्याकहो लोडर, टिप्पर आदि उपकरण र जनशक्ति परिचालन गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend