काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी व्यवस्थामा संशोधन गर्दै विदेशी भुक्तानीको सीमा बढाएको छ। बैंकले विभिन्न वस्तु तथा सेवा आयात, विदेशी सेवा भुक्तानी र बैंकिङ कारोबारमा सहजीकरण गर्ने उद्देश्यसहित यस्तो सीमा बढाएको हो। संशोधित व्यवस्थाअनुसार आयातको अग्रिम भुक्तानी, हवाईजहाजका इन्जिन तथा पार्टपुर्जा खरिद, स्याटेलाइट सेवा, पर्यटन सेवा र विदेशी मुद्रासम्बन्धी कार्ड कारोबारमा लागू हुँदै आएको सीमा वृद्धि भएको छ।
नयाँ व्यवस्था लागू भएपछि विदेशस्थित अस्पतालमा गई औषधोपचार गराउने र आवश्यक औषधि तथा उपचारजन्य उपकरण खरिद गर्ने प्रयोजनका लागि नेपाली नागरिकले वार्षिक ३० हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउनेछन्। यसअघि यो सुविधा १५ हजार डलरसम्म मात्र सीमित थियो। तोकिएको प्रक्रिया पूरा गरी बैंक तथा वित्तीय संस्थाबाटै यो सुविधा लिन सकिनेछ। यसैगरी दूरसञ्चारसम्बन्धी सेवा प्रदायक नेपाली कम्पनीले विदेशी कम्पनीसँग सम्झौता गरी सेटेलाइट सेवा भाडामा लिएबापत वार्षिक ५ लाख अमेरिकी डलरसम्मको भुक्तानी बैंक तथा वित्तीय संस्था आफैँले गर्न सक्नेछन्। यसअघि यस्तो भुक्तानीको सीमा १ लाख डलर मात्र थियो।
अब नियामक निकायबाट सम्झौता स्वीकृत वा सटही सिफारिसका आधारमा आवश्यक कागजात लिएर प्रतिपटक ३० हजार अमेरिकी डलर वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म वाणिज्य बैंकबाट नै सटही सुविधा लिन सकिनेछ। यसअघि यस्तो सीमा १५ हजार डलर थियो। प्रतिपटक ३० हजार डलरभन्दा माथिको भुक्तानीका लागि भने नियामक निकायको सिफारिससहित राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागको स्वीकृति अनिवार्य लिनुपर्नेछ। नियामक निकाय नभएको र सम्झौता वा सहमति स्वीकृत हुन नसकेको अवस्थामा प्रतिपटक ८ हजार डलरभन्दा बढी रकमको भुक्तानीका लागिसमेत विभागको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। साथै, ३० हजार डलरभन्दा बढी रकमको अग्रिम भुक्तानी गर्नुपर्ने अवस्थामा विदेशी बैंकको बैंक ग्यारेन्टी आवश्यक पर्नेछ। यसअघि १५ हजार डलरभन्दा बढीको अग्रिम भुक्तानीमै यस्तो ग्यारेन्टी चाहिने व्यवस्था थियो।
नेपालमा विधिवत् दर्ता भई कारोबार गरिरहेका नेपाली तथा विदेशी संस्था वा कम्पनीले भारतस्थित संस्थासँग सेवा लिएबापत गरिने भुक्तानीको सीमा पनि बढाइएको छ। यस्ता कम्पनीले प्रतिपटक ६० लाख भारतीय रुपैयाँसम्मको भुक्तानी सम्बन्धित नियामक निकायको सिफारिसका आधारमा वाणिज्य बैंकबाटै गर्न सक्नेछन्। यसअघि यस्तो सीमा ४० लाख भारतीय रुपैयाँसम्म थियो। ६० लाख भारुभन्दा माथिको भुक्तानी तथा नियामक निकाय नभएको अवस्थामा राष्ट्र बैंकको विभागबाटै स्वीकृति लिनुपर्नेछ।राष्ट्र बैंकले कार्ड प्रयोगकर्ता र हवाई उड्डयनको क्षेत्रमा पनि महत्त्वपूर्ण सहजीकरण गरेको छ। अब कार्ड प्रयोगकर्ताले विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरेर आर्जन गरेको विदेशी मुद्रासमेत कार्डमा जम्मा गर्न मिल्नेछ। कार्डको मौज्दात १० हजार अमेरिकी डलरभन्दा बढी भएमा सो बढी रकम अनिवार्य रूपमा प्रयोगकर्ताको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नुपर्नेछ। यसअघि यस्तो सीमा ५ हजार डलर थियो। उता, नेपाली वायुसेवा कम्पनीले हवाई जहाजका इन्जिन वा पार्टपुर्जा आयात गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिसका आधारमा ५ लाख डलरसम्मको अग्रिम भुक्तानी बैंकमार्फत नै पठाउन सक्नेछन्। यस प्रयोजनका लागि ‘विदेशी बैंकको ग्यारेन्टी आवश्यक नपर्ने’ व्यवस्था राष्ट्र बैंकले गरेको छ।




.gif)





