काठमाडौँ ।अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल खेल्दैछन्। बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै मेस्सीको दुई दशकभन्दा लामो अर्जेन्टिना यात्रा औपचारिक रूपमा टुंगिँदैछ।ब्युनस आयर्सस्थित एस्टाडियो मोनुमेन्टलमा हुने खेल मेस्सीको राष्ट्रिय टोलीबाट अन्तिम उपस्थिति हुनेछ। खेल हेर्न करिब ८५ हजार दर्शक मैदानमा उपस्थित हुने अपेक्षा गरिएको छ। सन् २०२२ को कतार विश्वकप जिताएका उनका केही पुराना सहयात्रीसँगै अर्जेन्टिनाको नयाँ पुस्ताका खेलाडी पनि मैदानमा हुनेछन्।३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेल खेल्दै १२५ गोल गरेका छन्। उनी राष्ट्रिय टोलीका सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनको नाममा ६८ असिस्ट पनि छन्।मेस्सीको अन्तर्राष्ट्रिय करियरमा विश्वकप, दुई कोपा अमेरिका तथा फाइनलिसिमाको उपाधि छन्। विशेषगरी कतारमा अर्जेन्टिनालाई विश्वकप जिताउँदै उनले आफ्नो अन्तर्राष्ट्रिय करियरलाई ऐतिहासिक उचाइ दिएका थिए।
‘मसँग अब दिनका लागि केही बाँकी छैन’
मेस्सीको राष्ट्रिय टोलीबाट बिदाइ त्यस्तो समयमा हुँदैछ, जब अर्जेन्टिना पछिल्लो विश्वकपको फाइनलमा स्पेनसँग पराजित भएको दुई महिनाभन्दा केही बढी समय मात्रै बितेको छ। उक्त खेलमा मेस्सीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि भावुक हुँदै मैदान छाडेका थिए।अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुने घोषणा गर्दा मेस्सीले आफूले देशका लागि सक्दो सबै दिएको बताएका थिए।“मैले आफ्नो सबै दिएँ। अब दिनका लागि मसँग केही बाँकी छैन। साथै, नयाँ पुस्ताका उत्कृष्ट खेलाडीहरू आइरहेका छन्, जसले आफ्नो अवसर पाउनुपर्छ,” मेस्सीले अगस्टमा लेखेका थिए।मेस्सी क्लब फुटबलमा भने अझै सक्रिय छन्। उनी इन्टर मियामीसँग सन् २०२८ सम्म सम्झौतामा छन्। तर उनका पिता जर्ज मेस्सीको दुई महिनाअघि निधन भएपछि उनले अपेक्षा गरिएभन्दा चाँडै खेलाडी जीवनबाट पनि बिदा लिन सक्ने संकेत गरेका थिए।
बेनिनविरुद्धको खेल मेस्सीका लागि बिदाइ मात्र नभई सन् २०२२ को विश्वकप विजेता टोलीका सदस्यसँग पुनर्मिलनको अवसरसमेत बन्नेछ। कतारमा अर्जेन्टिनालाई तेस्रो विश्वकप उपाधि दिलाउने टोलीका सदस्य र उनीहरूका परिवार पनि कार्यक्रममा सहभागी हुनेछन्।अर्जेन्टिनाका पूर्व उपकप्तान एन्जेल डि मारियालगायत विश्वकप विजेता टोलीका सदस्यहरू मेस्सीको अन्तिम खेलका साक्षी बन्नेछन्। डि मारियाले सन् २०२४ मै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइसकेका छन्।यसैबीच, अर्जेन्टिनाको नयाँ पुस्ताले मेस्सीपछिको युगका लागि आफ्नो दाबी प्रस्तुत गर्न थालिसकेको छ। फ्रान्को मास्टान्टुओनो र लियोनेल फ्लोरेसलगायतका केही नयाँ खेलाडी त मेस्सीले सन् २००५ मा अर्जेन्टिनाका लागि डेब्यु गर्दा जन्मिएका समेत थिएनन्।अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सीको बिदाइको दिन सबैका लागि विशेष हुने बताएका छन्।
“यो सबैका लागि कहिल्यै नबिर्सने दिन हुनेछ। सबै जना यो खेलमा उपस्थित हुन चाहन्छन्। अब यो क्षणको आनन्द लिने समय हो,” स्कालोनीले भने।मेस्सीपछि अर्जेन्टिनाको नेतृत्व कसले गर्ने भन्ने प्रश्न पनि उठेको छ। प्रशिक्षक स्कालोनीका अनुसार टोलीले सामूहिक रूपमा मेस्सीले छाड्ने खाली ठाउँ पूरा गर्ने प्रयास गर्नेछ।“सामूहिक रूपमा हामी लियोले छाडेको खाली ठाउँ पूरा गर्ने प्रयास गर्नेछौँ,” स्कालोनीले भने।मेस्सीपछि अर्जेन्टिनाको कप्तानी क्रिस्टियन रोमेरोले सम्हाल्ने सम्भावना छ। २०२२ को विश्वकप टोलीका सदस्य रोमेरोले मेस्सीबाट कप्तानीको जिम्मेवारी पाउने अपेक्षा गरिएको छ। गोलरक्षक एमिलियानो मार्टिनेज र लाउतारो मार्टिनेज कप्तानीको क्रममा त्यसपछि रहेका छन्।स्कालोनीका लागि पनि बेनिनविरुद्धको खेल विशेष हुनेछ। उनले ३८ वर्षीय उपकप्तान निकोलस ओटामेन्डीलाई समेत राष्ट्रिय टोलीमा अन्तिमपटक देख्न सक्नेछन्। मिडफिल्डर रोड्रिगो डे पाउल र जियोभानी लो सेल्सोलाई पनि बेनिनविरुद्धको खेलका लागि मात्रै टोलीमा बोलाइएको छ।
मेस्सीपछिको अर्जेन्टिनाले उनको अनुपस्थितिमा पनि प्रभावशाली प्रदर्शन गर्न थालिसकेको छ। विश्वकप फाइनलपछि खेलेको पहिलो खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–० ले पराजित गरेको थियो। उक्त खेलमा निको पाज र जोसे म्यानुएल लोपेजले गोल गरेका थिए।त्यसपछि शनिबार मोनुमेन्टलमै अर्जेन्टिनाले बुर्किना फासोलाई ७–० ले हरायो। मास्टान्टुओनो र जियानलुका प्रेस्टियानीले उक्त खेलमा राष्ट्रिय टोलीका लागि पहिलो गोल गरे।ब मेस्सीको बिदाइपछि अर्जेन्टिनाको नयाँ पुस्ताले टोलीलाई अगाडि बढाउने जिम्मेवारी पाउनेछ। क्रिस्टियन रोमेरो, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज, जुलियन अल्भारेज र लाउतारो मार्टिनेजजस्ता खेलाडी नयाँ पुस्ताका प्रमुख आधार मानिएका छन्।तर मेस्सीको १० नम्बर जर्सी कसले लगाउने भन्ने प्रश्नको जवाफ भने तत्काल दिइएको छैन।“लियोको खेल नभएसम्म हामी १० नम्बर कसैलाई दिने छैनौँ। त्यसपछि के हुन्छ, हेर्नेछौँ,” स्कालोनीले भने।




.gif)





