काठमाडौँ । लामो समयदेखि रोकिएको सार्वजनिक निष्काशन (आईपीओ) स्वीकृति प्रक्रिया अघि बढाउँदै नेपाल धितोपत्र बोर्डले हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको छ।बोर्डको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीलाई ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता साधारण सेयर निष्काशनका लागि स्वीकृति दिएको हो। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटलले पाएको छ।हिम पर्वत हाइड्रोले आईपीओ निष्काशनको अनुमति माग्दै २०८१ मंसिर ५ गते बोर्डमा आवेदन दिएको थियो। आवेदन दिएको करिब १७० दिनपछि कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको हो।
कम्पनीले ५.५ मेगावाट क्षमताको सागु खोला–१ र २० मेगावाट क्षमताको सागु खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०८२ सालदेखि विद्युत् उत्पादन गरिरहेको छ।कम्पनीले आयोजनाबाट विद्युत् उत्पादन सुरु गरिसकेको र उसको नेटवर्थ प्रतिकित्ता १०० रुपैयाँभन्दा माथि रहेको आधारमा आईपीओ निष्काशनको अनुमति पाएको हो।अब धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा तोकिएको दर्ता दस्तुर बुझाएपछि बोर्डले कम्पनीलाई अन्तिम स्वीकृति दिनेछ। त्यसपछि कम्पनीले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउन सक्नेछ।
१७० दिनपछि अर्को आईपीओले पायो अनुमति
हिम पर्वत हाइड्रोको आईपीओ स्वीकृतिसँगै लामो समयदेखि रोकिएको आईपीओ स्वीकृति प्रक्रियामा अर्को कम्पनी थपिएको छ।यसअघि बोर्डले वैशाख २ गते एभरेष्ट कलरलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। त्यसपछि असोज १६ गते हिम पर्वत हाइड्रोले अनुमति पाएको हो। यस हिसाबले दुई कम्पनीबीच आईपीओ स्वीकृतिको अन्तर १७० दिन रहेको छ।यसबीच बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्टले सार्वजनिक कार्यक्रममा असोज १५ गतेसम्ममा एउटा मात्र नभई धेरै कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिने बताएका थिए। तर असोज १६ गते बसेको बोर्ड बैठकबाट भने हिम पर्वत हाइड्रो एक कम्पनीले मात्रै आईपीओको अनुमति पाएको छ।बोर्डको पछिल्लो स्वीकृतिले विद्युत् उत्पादन सुरु गरिसकेका र तोकिएको नेटवर्थ मापदण्ड पूरा गरेका जलविद्युत् कम्पनीको सार्वजनिक निष्काशन प्रक्रिया अघि बढ्न थालेको संकेत गरेको छ।




.gif)





