काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदले सूचनामा पहुँच दिएपनि दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो। पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन।'गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको गुरुङ उल्लेख गरेका छन् ।
उनी भन्छन्–'सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ। राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठन माथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ।'गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहाललाई सूचना चुहाएको आरोपमा निलम्बन गरेको छ । निलम्बनका लागि सशस्त्र प्रहरी हेड्क्वार्टरले नै प्रस्ताव पठाएको थियो ।




.gif)





