काठमाडौँ । व्यवसायी दीपक भट्टकाे सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरसम्बन्धी दुई वटा मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । भट्टको मुद्दा मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।सम्पत्ति शुद्धीकरण तथा विदेशी विनिमय (नियमित गर्ने) ऐनअन्तर्गतको कसुर र बैंकिङ कसुरसम्बन्धी मुद्दामा विशेष अदालत र उच्च अदालत पाटनले भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी सर्वोच्च पुगेका हुन् ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ मा थुनछेक वा तोकिएको धरौटी, जमानत वा बैंक जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार भट्टले विशेष र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका हुन् ।भट्टविरुद्ध दुईवटा फरक मुद्दामा ठूलो बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो । सम्पत्ति शुद्धीकरण विभागले २०८१ चैत १९ गते भट्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।बैंकिङ कसुरअन्तर्गत ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गर्दै दायर भएको मुद्दामा उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराज भण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले गत असार ५ गते भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।त्यस्तै, सम्पत्ति शुद्धीकरणअन्तर्गत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो कायम गर्दै दायर मुद्दामा विशेष अदालतले असार ३ गते भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेश विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले दिएको थियो ।




.gif)



