काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज (फागुन २७ गते) देखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १२ करोड रुपैयाँ बराबरका प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। उक्त शेयरका लागि भोजपुर जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
यसैगरी सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशतले हुन आउने ३ करोड ३ लाख ६ हजार ७०० रुपैयाँ बराबरका ३ लाख ३ हजार ६७ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको छ। साथै सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कम्पनीका कर्मचारीका लागि ६० हजार ६१३ कित्ता शेयर छुट्याइएको छ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको दायित्व वहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत् आयोजनाको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ रहेको उक्त आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ४ महिना बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.१७ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १८.३७ वर्ष रहेको कम्पनीले जनाएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनाको कार्यालय भोजपुर, प्रभु बैंकका भोजपुर, प्याउली र हटुवागढी शाखा तथा सिटिजन्स बैंक इन्टरनेसनलको भोजपुर शाखाबाट आवेदन दिन सक्नेछन्।
स्थानीय बासिन्दाले शेयर खरिद दरखास्त फाराम लिनका लागि २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत ‘सि–आस्बा’ प्रणालीबाट आवेदन दिन सक्नेछन्।




.gif)





