शिव न्यौपाने, मेलबर्न, अस्ट्रेलिया । लिखित सामग्री तयार पार्नु केवल सीप मात्र होइन, यो दशकौँको समर्पण, निरन्तर अभ्यास र असफलतासँग जुध्ने साहसको परिणाम हो। मेरो लेखन यात्रा सन् २००१ बाट औपचारिक रूपमा सुरु भयो, जब मैले द काठमाडौँ पोस्ट र कान्तिपुर दैनिकमा अंग्रेजी र नेपाली भाषामा कविताहरू प्रकाशित गर्न थालेँ।
सन् २००५ देखि नेपालको अंग्रेजी दैनिक द हिमालयन टाइम्स मा नियमित लेखन गर्न थालेँ, जहाँ विभिन्न समसामयिक, सामाजिक र भाषिक विषयमा मेरा लेखहरू प्रकाशित हुँदै आएका छन्। सन् २००७ मा म अष्ट्रेलिया आएपछि यहाँका विभिन्न पत्रपत्रिकामा लेख प्रकाशनका लागि प्रयास गरेँ, तर मुख्यधाराको मिडियामा प्रवेश गर्नु सजिलो रहेन।
अष्ट्रेलिया जस्तो अंग्रेजी भाषी देशमा, विशेष गरी गैर–स्थानीय अंग्रेजी भाषी लेखकका लागि, प्रतिष्ठित पत्रिकामा लेख प्रकाशित गर्नु ठूलो चुनौती हो। स्थानीय लेखकहरू सँगको तीव्र प्रतिस्पर्धाबीच मैले अष्ट्रेलियाको एक प्रमुख पत्रिकामा लेख छाप्न पाँच सयभन्दा बढी पटक प्रयास गर्नुपर्यो। अन्ततः ती निरन्तर प्रयासहरू सफल भए र मेरो लेख उक्त प्रतिष्ठित पत्रिकामा प्रकाशित हुन सक्यो–यो मेरो लेखन यात्राको सबैभन्दा संघर्षपूर्ण तर गर्विलो उपलब्धि हो।
अष्ट्रेलियाको अग्रणी पत्रिका द एज मेरा लागि निरन्तर प्रेरणाको स्रोत रहँदै आएको छ। यहाँ प्रधानमन्त्रीदेखि वैज्ञानिक, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लेखक, प्राध्यापक तथा फेसबुकका संस्थापक मार्क जुकरबर्गजस्ता व्यक्तिहरूका विचार पढ्न पाइन्छ। द एज ले अष्ट्रेलियाली लेखक मात्र होइन, विश्वभरका प्रतिभाशाली मस्तिष्कका दृष्टिकोण प्रस्तुत गर्ने भएकाले म जस्ता उदीयमान लेखकका लागि यो एक महत्वाकांक्षी मञ्च बनेको छ।
सन् २०१५ मा, विद्यार्थी जीवनमै अंग्रेजी शब्दकोश प्रकाशित गर्ने पहिलो अन्तर्राष्ट्रिय विद्यार्थी भएकोमा मलाई प्रशंसा प्रमाणपत्र प्रदान गरिएको थियो। भिक्टोरियामा आयोजित नेपाली समुदायको कार्यक्रममा उक्त प्रमाणपत्र तत्कालीन छायाँ अध्यागमन तथा सीमा सुरक्षा मन्त्री तथा हालका अष्ट्रेलियाका उपप्रधानमन्त्री माननीय रिचर्ड मार्ल्सले प्रदान गर्नुभएको थियो, जुन मेरो भाषिक यात्राको महत्वपूर्ण मान्यता हो।
त्यसैगरी, सन् २०२१ मा अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री स्कट मोरिसनबाट मेरो फलाङ फूड डिक्शनरी सम्बन्धी सिफारिस पत्र प्राप्त भयो। यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदाय र मिडियामा मेरो पहिचानलाई अझ व्यापक बनायो।
साहित्यिक योगदानका लागि प्राप्त पुरस्कारहरू तथा सरकारी अधिकारी र सामुदायिक नेताहरूबाट पाएको मान्यताले मलाई अष्ट्रेलिया र संयुक्त राज्य अमेरिकाका प्रमुख मिडिया आउटलेटहरूमा लेख योगदान गर्न थप प्रेरित गरेको छ। आगामी वर्षहरूमा पनि म यही समर्पणका साथ मेरो लेखन यात्रालाई निरन्तर अघि बढाउने दृढ संकल्पमा छु।




.gif)





