मेलबर्न। अष्ट्रेलियामा बसोबास गर्दै आएका प्रख्यात नेपाली लेखक शिव न्यौपानेले नेपालको पहिलो विश्वव्यापी खाना सम्बन्धी शब्दकोश ‘फलाङ खाद्य शब्दकोश’ वरिष्ठ कलाकार तथा साहित्यकार मदनकृष्ण श्रेष्ठलाई उपहार स्वरूप प्रदान गरेका छन्।
मनोरञ्जन उद्योगका सम्मानित व्यक्तित्व मदनकृष्ण श्रेष्ठलाई आफ्नो कृति हस्तान्तरण गर्नु लेखक न्यौपानेका लागि अविस्मरणीय क्षण रहेको उनले बताए। पार्किन्सन रोगसँग संघर्ष गरिरहे पनि मदनकृष्ण श्रेष्ठले केही वर्षअघि अष्ट्रेलिया भ्रमणका क्रममा कलाप्रतिको आफ्नो दृढ संकल्प र प्रतिबद्धता प्रस्तुत गरेको न्यौपानेले उल्लेख गरे। मनोरञ्जन क्षेत्रप्रतिको उहाँको अटल समर्पण प्रशंसनीय रहेको र उहाँ सफलता प्राप्तिको प्रेरणादायी उदाहरण भएको न्यौपानेको भनाइ छ।
मेलबर्नमा भएको भेटका क्रममा उनीहरूबीच मदनकृष्ण श्रेष्ठको पुस्तक तथा ‘फलाङ खाद्य शब्दकोश’को अवधारणाबारे विस्तृत छलफल भएको थियो। न्यौपानेले शब्दकोश लेखनको पृष्ठभूमि र यसका चुनौतीहरू साझा गर्दा दुवै लेखकबीच साहित्य सिर्जनामा आउने कठिनाइ र अनुभवबारे विचार आदान–प्रदान भएको जनाइएको छ।
लेखक शिव न्यौपानेले कडा परिश्रम र दीर्घ यात्राबाट मात्र साहित्यिक कृति सम्भव हुने धारणा व्यक्त गर्दै ‘फलाङ खाद्य शब्दकोश’ नेपाली ग्यास्ट्रोनोमिक साहित्यमा एक महत्वपूर्ण र अद्वितीय योगदान भएको बताए। मदनकृष्ण श्रेष्ठको जीवन संघर्ष, सफलता र उहाँका विचारहरूले आफूलाई गहिरो प्रेरणा दिएको पनि उनले उल्लेख गरे।
अनुभवी कलाकार मदनकृष्ण श्रेष्ठसँग बिताएको समय सधैं स्मरणीय रहने न्यौपानेले बताएका छन्।




.gif)





