शिव न्यौपाने,मेलबर्न।अष्ट्रेलिया पछिल्लो समय विदेशमा बसाइँ सर्ने वा अध्ययन गर्न चाहने व्यक्तिहरूका लागि विश्वका अन्य विकसित देशहरू—युरोप, जापान तथा अमेरिकालाई समेत उछिन्दै—मनपर्ने गन्तव्यको रूपमा उदाउँदै गएको छ। यसको प्रमुख कारण देशको शान्तिमय वातावरण र उच्च स्तरको जीवनस्तर हो।
अष्ट्रेलियामा बन्दुक हिंसा तथा घातक अपराधका घटनाहरू अत्यन्तै न्यून छन्, जसले यहाँ बसोबास गर्नेहरूमा बलियो सुरक्षाको भावना सिर्जना गरेको छ। यही कारणले परिवार सहित बसाइँ सर्न चाहनेहरूका लागि अष्ट्रेलिया सुरक्षित र भरपर्दो विकल्प बन्दै गएको देखिन्छ।
आर्थिक दृष्टिले पनि अष्ट्रेलिया विश्वका उच्च आय हुने देशहरू मध्ये पर्दछ। स्थायी बासिन्दाहरूले मेडिकेयरमार्फत उच्चस्तरीय स्वास्थ्य सेवा पाउने व्यवस्था रहेको छ, जुन आप्रवासीहरूका लागि ठूलो आकर्षण हो।
त्यसैगरी, अंग्रेजी भाषाको व्यापक प्रयोगले विशेषगरी बालबालिकालाई विद्यालयमा सहज रूपमा घुलमिल हुन मद्दत पुर्याउँछ। भाषा अवरोध नहुँदा शिक्षा र सामाजिक एकीकरण छिटो हुने गरेको छ।
एक दशक भन्दा बढी समय देखि मेलबर्नमा बसोबास गर्दै आएका स्थायी बासिन्दा शिव न्यौपानेका अनुसार मेलबर्न साँचिकै विश्वव्यापी सहर हो। “यहाँ बहुसांस्कृतिक समाज छ, जसले आप्रवासीहरूलाई एक्लोपन महसुस हुन दिँदैन र विश्वव्यापी अवसरहरूको ढोका खोलिदिन्छ,” उनी भन्छन्।
विश्वका सबैभन्दा बस्न योग्य सहरहरूमध्ये बारम्बार सूचीकृत हुँदै आएको मेलबर्नले विकास, अवसर, शान्ति र जीवनस्तरका हिसाबले आफ्नो स्थान सही सावित गर्दै आएको छ।




.gif)





